राजनीति


रास्वपाको महाधिवेशनमा ४ करोड खर्च हुने अनुमान

रास्वपाको महाधिवेशनमा ४ करोड खर्च हुने अनुमान

नेपालखबर
असार ४, २०८३ बिहिबार १५:५६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनका लागि करिब ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको जनाएको छ। 

बिहीबार पार्टीको सचिवालय बैठकको निर्णय सुनाउँदै पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त जानकारी दिएका हुन्।

उनका अनुसार महाधिवेशनको खर्च प्रतिनिधिहरूबाट उठाइने दर्ता शुल्क र पार्टीका सदस्य तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोग मुख्य स्रोत हुने बताए।

उनका अनुसार महाधिवेशन व्यवस्थापनका लागि आवश्यक सेवा तथा सामग्री उपलब्ध गराउने प्रदायक संस्थाहरूसँग आवश्यक सहुलियतका विषयमा छलफल भइरहेको छ। केही सेवा प्रदायकहरूले नाफा नलिई वा न्यूनतम शुल्कमा सेवा उपलब्ध गराउने प्रस्ताव गरेको उनको दाबी छ।

क्याटरिङ लगायत धेरै खर्च हुने व्यवसायीहरूले नाफा नलिई लागतका आधारमा मात्रै शुल्क लिने प्रस्ताव गरेको उनको भनाई छ।

महामन्त्री बुर्लाकोटीले भने, ‘हाम्रो महाधिवेशनको खर्च करिब ४ करोड जति हुने अनुमान छ। त्यो मध्ये प्रतिनिधिहरू हामीले रजिस्ट्रेसन शुल्कहरू तिर्छौँ र बाँकी रकम पार्टीकै सदस्यहरू, शुभचिन्तकहरूबाट सहयोगहरू आउँछ। हामीले सम्बन्धित प्रोभाइडर, सर्भिस प्रोभाइडर अथवा गुड्स प्रोभाइडरहरूसंग छुट दिने भन्ने विषयमा छलफल भइराखेको छ। जस्तै क्याटरिङमा हाम्रो ठूलो खर्च हुन्थ्यो, क्याटरिङवालाले नै हामी नाफा लिँदैनौँ, हामी नाफा कटाएर मात्रै तपाईंहरूलाई चार्ज गर्छौँ भन्ने यस्तो खाले प्रस्तावहरू आएको छ।’

उनले विभिन्न क्षेत्रबाट प्राप्त हुने सहयोग र कार्यकर्ताको उत्साहले पनि महाधिवेशनका लागि आवश्यक खर्च जुटाउन सकिने आधार दिएको बताए। 

रास्वपाको पहिलो महाधिवेशन चितवनको भरतपुरमा असार ७ देखि ९ गतेसम्म हुँदै छ।

महाधिवेशनको पहिलो दिन असार ७ गते भरतपुरको गेस्ट हाउस मैदानमा उद्घाटन हुनेछ। असार ८ र ९ गते मैदान नजिकै रहेको उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्र चल्नेछ। 

महाधिवेशनले नेतृत्व चयन गर्नेछ। पहिलो चरणमा एक जना सभापति र ९९ जना सदस्य चयन हुनेछन्। 

निर्वाचित सदस्यबाट दोस्रो चरणमा तीन जना उपसभापति, दुई जना महामन्त्री र चार जना सहमहामन्त्री चयन हुनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad