प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री वालेन्द्र शाहलगायत मन्त्रीहरूको सुन आर्जनको स्रोतबारे प्रश्न गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै आङदेम्बेले सरकारले सय दिने कामको सूचीमा सम्पत्ति छानबिन आयोग गठन गरेर छानबिन सुरु गरेको विषयमा उल्लेख गरेको स्मरण गराएका छन्। त्यसबारे प्रश्न गर्दै आङदेम्बेले प्रधानमन्त्री शाहलगायत मन्त्रीको सम्पत्तिको स्रोतबाट प्रश्न गरेका छन्।
‘प्रधानमन्त्रीको सम्पत्ति विवरण झण्डै दुई सय तोला सुन देखियो। मन्त्रीहरूको सम्पत्ति विवरणमा पनि सुन छ,’ आङदेम्बेले भने, ‘सुन आर्जनको स्रोत के हो हो? जनताले जान्नु पाउनुपर्छ।’
पूर्वी नेपालका जनताले सुनका विषयमा सोधिरहेको सुनाए। ‘आम्मामा, यति धेरै सुन कहाँबाट आयो? त्यसको स्रोत के हो भनेर सोधिरहेका छन्,’ उनले भने।
उनले सम्पत्तिको छानबिन आफूबाटै सुरु गर्न आग्रह गरे। ‘प्रमुख प्रतिपक्ष दलको नेता मबाटै सम्पत्तिको छानबिन गरौँ, सत्ता पक्षको नेता प्रधानमन्त्रीबाट छानबिन सुरु गरौँ,’ आङदेम्बेले भने, ‘म छानबिनका लागि तयार छु, प्रधानमन्त्री तयार हुनुहुन्छ?’
Shares

प्रतिक्रिया