नेकपा (एमाले) की नेतृ अष्टलक्ष्मी शाक्यलाई हार्ट अट्याक भएको छ।
एमाले नेतृ उषाकिरण तिमिल्सिनाका अनुसार शाक्यलाई आज विहान हार्ट अट्याक भएपछि उपचारका लागि पाटन अस्पताल लगिएको हो।
उनको एन्जिओप्लास्टी गरिएको अस्पतालले जनाएको छ।
अस्पतालमा गरिएका आवश्यक परीक्षणका क्रममा उनलाई ‘हार्ट अट्याक’ (एक्युट मायोकोर्डियल इन्फरक्सन) भएको पुष्टि भएलगत्तै आकस्मिक शल्यक्रिया गरिएको अस्पतालका मुटुरोग विभागका प्रमुख डा अशोक अधिकारीले जानकारी दिए।
डा अधिकारीको नेतृत्वमा डा प्रबिन्द्र महर्जन र डा आनन्द जिसीसहितको विशेषज्ञ टोलीले नेत्री शाक्यको सफल ‘एन्जियोप्लाष्टी’ गरेको हो।
जटिल शल्यक्रिया सम्पन्न भएपछि हाल उनलाई अस्पतालको सघन उपचार कक्ष (सीसीयू)मा राखेर विशेष निगरानीका साथ उपचार भइरहेको छ।
‘हामीले उत्तिबेलै एन्जिओप्लास्टी गरेर हन्ड्रेड पर्सेन्ट ब्लक भएको मुटुलाई अहिले खोलेर, बिरामी पनि राम्रो हुनुहुन्छ। मुटुको अवस्था पनि राम्रो छ। स्वास्थ्य स्टेबल छ। सघन कक्ष (सीसीयू) मै हुनुहुन्छ ’ डा. अधिकारीले भने।
मुटुको रक्तधमनीमा भएको अवरोधलाई हटाएर रक्तसञ्चार सुचारु गर्न एन्जियोप्लास्टी गरिन्छ।
डा. अधिकारीका अनुसार बिहान ८ बजे आसपास अस्पताल आइपुगेकी शाक्लाई तत्काल अपरेसन कक्षमा लगिएको थियो।
उनको स्वास्थ्य अवस्थालाई स्थिर राख्न निरन्तर स्वास्थ्य परीक्षण भइरहेको डा अधिकारीले बताए।
Shares

प्रतिक्रिया