थुनामा रहेकै बेला अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्यु भएको विरोधमा अमेरिकामा विभिन्न सहरमा जारी प्रदर्शनका क्रममा भड्किएको हिंसा झन् चर्काे हुँदै गएको छ।
प्रदर्शनकारीले प्रहरीका गाडी जलाइरहेका छन्। थुप्रै सहरमा पसल तोडफोड गरिरहेका छन्।
हेरौं लाइभ भिडियो:
दंगा प्रहरीले न्युयोर्क, सिकागो, फिलाडेल्फिया र एलएमा प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रहार र रबरकाे गाेली प्रहार गरेका छन्।
देशभरका विभिन्न सहरमा प्रदर्शन भएपछि हिंसा थप भड्किन नदिन स्थानीय सरकारले करिब ४० सहरमा कफुर्यु आदेश जारी गरेका छन्।
केही दिनदेखि भइरहेको देशव्यापी प्रदर्शनका क्रममा कम्तीमा ५ जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन्।
त्यसैगरी प्रदर्शनमा उत्रिएकामध्ये हजारौंंलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ।
अफ्रिकी मूलका अमेरिकी फ्लोइडको प्रहरी नियन्त्रणमै रहेका बेला मिनियापोलिसमा निधन भएको थियो। उनलाई एक श्वेत प्रहरीले हत्या गरेको भिडियो सार्वजनिक भएपछि अमेरिकाभर विरोध प्रदर्शन चर्किएको हो।
४६ वर्षीय फ्लोइडको हत्यामा न्याय माग गर्दै राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि पनि प्रदर्शन गरेका थिए। देशभरका झण्डै १४० सहरमा चर्को विरोध प्रदर्शन भएको र यति धेरै ठूलो प्रदर्शन अमेरिकामा कम हुने गरेको एक अधिकारीले बताएका छन्। रासस/पीटीआई

प्रतिक्रिया