जनता सामाजवादी पार्टीकी सांसद सरिता गिरीको संविधान संशोधन विधेयक माथिको संशोधन प्रस्ताव अस्वीकृत भएको छ।
शनिबार संसदमा सभामुख अग्निप्रसाद सापकोटाले गिरीको दर्ता गराएको संशोधन प्रस्ताव संशोधनसम्बन्धी शर्त पुरा नभएकोले संशोधन सूचनालाई अस्वीकृत गरिएको जनाए।
‘प्रतिनिधिसभा नियमावली २०७५ को नियम ११२ मा उल्लेख भएका संशोधनसम्बन्धी शर्त पुरा नभएकोले तपाईको संशोधन सूचनालाई अस्वीकृत गरिएको छ,’ सभामुख सापकोटाले भने।
सभामुख सापकोटाले गिरीले पेश गरेको संशोधन प्रक्रिया पूरा नभएकाले अस्वीकृत भएको घोषणा गरी आफ्नो स्थानमा बस्न आग्रह गरेका थिए।
सांसद् गिरीले बोल्न समय माग गर्दा अन्य सांसद्ले समय नदिन हुटिङ गरेका थिए। सो उपदफामा कुनै विधेयकमाथि सांसद्को संशोधनलाई स्वीकृत वा अस्वीकृत गर्ने अधिकार सभामुखलाई दिइएको छ।
गिरीले नयाँ नक्शामा समावेश भएको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूगाग हो भन्ने प्रमाण नभएको जिकिर गरी संशोधन पेश गरेकी थिइन।
उक्त संशोधन पार्टीको सहमति विपरीत भएकाले फिर्ता लिन पार्टीले गिरीलाई निर्देशन दिएकामा उनले अटेर गर्दै आएकी थिइन। सो विषयमा गिरीका अभिव्यक्ति र संशोधनलाई राष्ट्रियताविरोधी भनी आलोचना भएको थियो ।
प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले पेश गरेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव सर्वसम्मतिले पारित गरेसँगै दफावार छलफल सुरु गरिएको छ।

प्रतिक्रिया