राजनीति


सडकका खाल्डा पुरेको बताउँदै थिए ओली, नेपालले भनेः खाल्डा हेर्न साँखु हिंडनुस्

सडकका खाल्डा पुरेको बताउँदै थिए ओली, नेपालले भनेः खाल्डा हेर्न साँखु हिंडनुस्

नेपालखबर
असार १०, २०७७ बुधबार १७:८,

सत्तारुढ नेकपाको स्थायी समिति बैठकको पहिलो दिन नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकको पहिलो दिन अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले आफ्ना भनाइ राखेका थिए। जसमा प्रधानमन्त्री ओलीले सरकारले गरेका राम्रा कामको पनि पार्टी पंक्तिबाट प्रशंसा नभएको गुनासो पोखे भने प्रचण्ड सरकार चलाउन नसकेको र पार्टी चलाउन पनि नदिएको भन्दै ओलीमाथि खनिए।

अध्यक्षद्वयका विपरित धारणा त छँदै थियो, बैठकको सुरुमै ओली र वरिष्ठ नेता नेपालबीच भनाभन भैहाल्यो, जसले नेकपाभित्रको विवाद एकदमै तिक्त अवस्थामा पुगेको देखाएको छ।

बैठकको अग्र पंक्तिमा बसेका स्थायी समितिका एक सदस्यका अनुसार सुरुमा अध्यक्ष ओलीले सरकारले राम्रो काम गरिरहेको तर पार्टी पंक्तिबाट आलोचना मात्र भइरहेको भन्दै आफ्ना धारणा राखेका थिए।

‘सरकारले राम्रो काम गरिरहेको छ, तर पार्टी पंक्तिले उपलब्धी देखेन, सरकारलाई खुइल्याउने काम मात्रै भयो’, स्थायी समितिका ती सदस्यले ओलीको भनाइ उधृत गर्दै भने, ‘कोरोना संकटको सामना गर्न सरकार सफल भइरहेको छ, काठमाडौंका सडक हेर्नुस्– सबै खाल्डा पुरिएको छ।’

ओलीले ‘सडकका खाल्डा पुरिएको’ भनेर उपलब्धी बताउँदै गर्दा वरिष्ठ नेता नेपालले बिचमै प्रतिवाद गरे।

‘सडकका खाल्डा हेर्न जाने? साँखु हिंड्नुहोस्, कोटेश्वर मेरो घर नजिक हिंड्नुहोस्’, माधव नेपालको भनाइ उधृत गर्दै स्थायी समितिका ती सदस्यले भने, ‘काम हामीले पनि गर्यौं, चुनावमा भारी बहुमत ल्याउनेदेखि पार्टी एकतामा समेत सबैको भूमिका छ।’

बिचमै नेपालले प्रतिवाद गरेपनि ओली रोकिएनन्। उनी बोल्दै गए र नेपाललाई भने, ‘अहिले मलाई बोल्न दिनुहोस्, तपाईं आफ्नो पालामा बोल्नुहोला।’

NCP OliNepal

ओलीपछि अर्का अध्यक्ष प्रचण्डले आफ्नो भनाइ राखे। बुधबारको कार्यसूची दुई जना अध्यक्षले मात्रै बोल्ने थियो। तर बैठकका एजेण्डा तय गर्ने क्रममा स्थायी समितिका थप एक दर्जन सदस्यले पनि बोले।

वरिष्ठ नेता नेपाल भने त्यसपछि बोलेनन्। संभवतः उनी शुक्रबारको बैठकमा बोल्नेछन्। ओली र नेपालबीच यस्ता घोचपेच र भनाभन नयाँ भने होइन। यसअघि पनि बैठकमै दुई नेताबीच पटक पटक भनाभन भएका घटना छन्।

तर बल्लबल्ल बसेको स्थायी समिति बैठकको सुरुमै भएको यो ‘मुख छोडाछोड’ को घटनाले नेकपाभित्र बढिरहेको विवाद तिक्त्तताको उच्च विन्दूमा पुगेको संकेत गरेको छ।

ओलीले बैठकमै त्यस्तो संकेत दिँदे भने, ‘दुई अध्यक्षबीच असमझदारी चर्को रुपमा बढेको छ र पार्टी नै फुटको अवस्थामा पुगेको हो कि जस्तो भएको छ।’

अर्का अध्यक्ष प्रचण्डको भनाइ पनि त्यस्तै थियो।

प्रचण्डले पार्टी एकता हुँदा सरकार र पार्टीको नेतृत्व आधाआधा समय गर्ने लिखित सहमती ओलीसँग गरेको तर पछि त्यो छोडेर आफुले गल्ती गरेको महशुस भएको बताए।

‘आधा कार्यकालको कुरा छोडेपछि अहंकार बढेको देखियो, अविश्वासको वातावरण भयो’, प्रचण्डले ओलीतिर संकेत गर्दै भने, ‘त्यसरी छोड्नु, पार्टी एकता गर्नु पनि गल्ती गरियो कि क्या हो भन्ने अवस्था पनि आयो।’

दुवै पार्टीका पूर्व संरचना भत्काएर आएकाले पछाडि फर्कने ठाउँ नरहेको भन्दै प्रचण्डले ‘अब त्याग गर्नुपर्ने’ भनाइ राखे। प्रचण्ड निकट स्थायी समितिका एक जना नेताका अनुसार ‘त्याग गर्नुपर्छ’ भनेर प्रचण्डले ‘एक व्यक्ति एक पद’ को कुरा उठाएका हुन्, जसको संकेत ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छोड्नु पर्छ भन्ने हो।

‘ओलीले सरकार पनि ठिकसँग चलाउन सकेनन्, पार्टी पनि चलाउन दिएनन् भन्ने प्रचण्डको भनाइको सार हो’, ती नेताले अथ्र्याए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad