राजनीति


नेकपामा तनाव बढेसँगै माधव नेपाल निवासमा बढाइयो सुरक्षा व्यवस्था

नेकपामा तनाव बढेसँगै माधव नेपाल निवासमा बढाइयो सुरक्षा व्यवस्था

नेपालखबर
असार २१, २०७७ आइतबार ९:२४,

आन्तरिक विवादका कारण सत्तारुढ नेकपाको पार्टीपंक्तिमा तनाब बढिरहेका बेला बरिष्ठ नेता माधवकुमार नेपालको निवासवरपर सुरक्षाकर्मीको संख्या बढाइएको छ।

आइतबार बिहानदेखि नेपाल निवास कोटेश्वर आसपास सुरक्षाकर्मीको संख्या बृद्धि गरिएको हो।

नेपालको सचिवालय स्रोतका अनुसार उनको निवास वरपर यसअघि खटाइएको प्रहरी संख्यामा अहिले उल्लेख्य रुपमा थप गरिएको छ।

प्रहरी स्रोतले भने नेकपाका सबै शीर्ष नेताहरुको निवास आसपास सुरक्षाकर्मी थप गरिएको जनाएको छ।

नेकपा विभाजन हुनसक्ने अड्कलवाजी भइरहेका बेला त्यस्तो घट्नाक्रम भएमा कार्यकर्ताबीच तनावपूर्ण स्थिति आउनसक्ने भनी सुरक्षाकर्मीको संख्या बढाइएको हो।

पूर्वप्रधानमन्त्री, मन्त्रीदेखि बहालवाला मन्त्री र शीर्ष नेताहरुको सुरक्षालाई मध्यनजर गरी त्यस्ता स्थान वरपर सुरक्षा सतर्कता बढाइएको प्रहरी स्रोतले जनाएको हो।

‘भीआइपी, शीर्ष नेता, मन्त्रीहरुको ओहोरदोहोर हुने ठाउँमा अहिले सुरक्षाकर्मीहरुको संख्या थप गरिएको छ,’ प्रहरी उच्चस्रोतले भन्यो, ‘राजनीतिक अवस्था पनि त्यस्तै तरल छ, त्यही भएर थप सुरक्षा सतर्कता बढाइएको छ ।’

पछिल्ला दिन नेपाल निवासमा पनि अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले बैठक र वार्ता गर्ने गरेका छन्।

पार्टी विभाजन हुने खतराबीच नेकपाका कार्यकर्ता एक अर्काविरुद्ध नाराबाजीमा उत्रनसक्ने भएकोले सुरक्षा निकायले थप सजगता अपनाएको जनाएको छ।

अहिले प्रधानमन्त्री ओलीको पक्षमा उनका समर्थहरुले बिभिन्न ठाउँमा जुलुस निकाल्न सुरु गरिसकेका छन्।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नै पार्टीभित्रबाट राजीनामा माग भइरहेको छ। असार १० गतेदेखि बसेको स्थायी समिति बैठकमा बहुमत सदस्यले राजीनामा माग भएपछि उनी संकटमा छन्।

शनिबार मन्त्री, राज्यमन्त्री र आफ्ना सल्लाहकारलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले आफूले कडा कदम चाल्न लागेको भन्दै मन्त्रीहरु कता लाग्ने हो त्यसबारे पनि प्रष्ट पार्न मन्त्रीहरुलाई निर्देशन दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad