राजनीति


प्रचण्ड छाडेर ओलीतर्फ लागेकै हुन् त जनार्दन?

प्रचण्ड छाडेर ओलीतर्फ लागेकै हुन् त जनार्दन?

सागर न्यौपाने
साउन ७, २०७७ बुधबार १४:५०,

शनिबार बालुवाटारमा नेकपाको सचिवालयको बैठक बस्ने तय भएको थियो।

बैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट चार जना नेतासँग छलफल गरे। ती चारमध्ये एक नेता थिए जनार्दन शर्मा, जसलाई नेकपा सर्कलमा अचम्म मानियो र, त्यसलाई फैलाइयो।

शर्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका खास केही नेतामध्ये एक हुन्, जो तत्कालीन एमाले र माओवादी केन्द्र एक हुँदा ताका सक्रिय थिए। पार्टी एकता गराउन आफ्नो पनि भूमिका रहेको भन्दै उनले त्यस अनुसार आफुलाई जिम्मेवारी नदिइएको गुनासो गर्दै आएका छन्। र, पछिल्ला दिनमा ओली र उनीनिकट नेताहरुसँग शर्माको हिमचिम बढेको देखिन्छ।

नेकपामा उत्पन्न संकट समाधानका लागि बालुवाटारमा केही साताअघि भएको एउटा छलफलमा ओलीले ईश्वर पोखरेल, विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डले शर्मा र वर्षमान पुनलाई साथमा राखेका थिए। त्यसपछि दुई अध्यक्षले साथमा राखेका यी नेताहरू नै उनीहरूका सबैभन्दा निकट नेता हुन भनेर चर्चा भइरहेको छ।

संभवतः मन्त्री भएकाले पोखरेलद्वय र पुनले पार्टीका यस्ता समूहगत वार्तामा खुलेर संलग्नता देखाउन छाडे पनि भित्र उनीहरू सक्रिय नै छन्।

पौडेल र शर्मा भने दिनदिनैजसो भइरहेका भेटघाटहरुमा सक्रिय देखिन्छन्। यो सक्रियतासँगै शर्मा प्रचण्डलाई छोडेर ओलीतिर नजिकिन थालेको चर्चा सुरु भएको छ अहिले। कतिपयले यसलाई मन्त्री बन्न शर्माले गरेको दौडधुपका रुपमा अर्थ्याएका छन्।

यसरी अर्थ्याउनुको एउटा कारण के पनि देखिन्छ भने पछिल्लो समय नेकपा सचिवालय र स्थायी समितिका कतिपय नेताहरू तथा मन्त्रीहरू कुन समूह निकट छन् भन्ने खुल्न छोडेको छ। उनीहरूमध्ये कतिपयले पद पाउने आश्वासन आएपछि समूह नै परिवर्तन गरेका छन् भने केही चाहिँ मन्त्री भएकाले खुल्न चाहेका छैनन् भन्ने अनुमान छ।

साउन ५ मा शर्माले ट्विट गरे, ‘पार्टी एकताबाट मर्माहत प्रवृत्ति। पार्टी एकता बच्ला कि भन्ने आतंकबाट उद्वेलित भएर दुष्प्रचार गरिरहेको कुराप्रति भ्रममा नपरी पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन अपिल गर्दछु। कुनै पद प्राप्तिको लोभबिना पार्टी आन्दोलनको रक्षा गर्न दृढतापूर्वक लागेको कुरा प्रस्ट पार्दछु।’

सोही दिन प्रचण्ड पक्षीय नेताहरुले खुमलटारमा भेला भएर छलफल गरे। जहाँ शर्मा सहभागी भएनन् बरु आफू बिरामी रहेको सन्देश पठाए। यसपछि शर्माले गुट परिवर्तन गर्न लागेको चर्चा झन् बढ्यो।

के शर्माले प्रचण्डको साथ छाडेकै हुन् त?

‘प्रचण्डलाई छाडेर शर्मा बाहिर जाँदैनन्,’ प्रचण्डपक्षीय एक स्थायी कमिटी सदस्यले नेपालखबरसँग भने, ‘शीतल निवासमा भएको छलफलपछि प्रचण्डले दिएको अभिव्यक्तिप्रति उहाँ अलि असन्तुष्ट चाहिँ हुनुहुन्छ जस्तो छ।’

त्यसो भए शीतल निवासमा के भएको थियो र भड्किए त शर्मा?

साउन ३ गते साँझ सचिवालयको बैठक सकिएपछि ओली र प्रचण्ड सीधै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगे। महासचिव विष्णु पौडेल र शर्मा पहिले नै शीतल निवासमा गएर बसेका थिए।

शीतल निवासमा ओली र प्रचण्डबीच नयाँ सम्झौता हुने र त्यसका लागि साक्षी राख्न पौडेल र आफूलाई त्यहाँ बोलाइएको शर्माले निकटस्थहरुलाई बताएका थिए।

पटकपटक भएको एक्लाएक्लै भेटमा ओली–प्रचण्डबीच मंसिरमा विशेष महाधिवेसन गर्ने र प्रचण्डलाई एकल अध्यक्ष बनाउने सहमति भएको थियो। उच्च स्रोतहरूका अनुसार सोही सम्झौतामा राष्ट्रपति विद्यादेवी भण्डारीको रोहवरमा हस्ताक्षर हुने तय भएको थियो।

शीतल निवासमा जनताको बहुदलीय जनवाद मान्नु पर्ने र महाधिवेसनपछि ओलीलाई सर्वोच्च नेता बनाउनु पर्ने दुईटा सर्त प्रचण्डसामु तेर्स्याइयो। जसलाई प्रचण्डले अस्वीकार गरिदिएपछि सहमति हुन पाएन। खुमलटार फर्किएका प्रचण्डले सचिवालयमार्फत एक विज्ञप्ति प्रकाशित गरी कुनै सहमति नभएको बताए।

सचिवालय बैठकमा ओलीको महाधिवेसनसम्बन्धी प्रस्तावमा मौन बसेको भन्दै असन्तुष्ट बनेका वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई प्रचण्डले आइतबार बिहानै खुमलटार बोलाए।

साउन ४ गते खनाल र नेपाल सहित १४ जना स्थायी कमिटीका सदस्यहरुसँग छलफल गर्दै प्रचण्डले आफूलाई झुक्याएर बालुवाटारबाट शीतलनिवास लगिएको स्पष्टीकरण दिँदै कुनै सहमति नभएको बताए।

प्रचण्डको सोही अभिव्यक्तिप्रति शर्मा असन्तुष्ट मात्रै भएनन्, साउन ५ गते बोलाइएको प्रचण्डपक्षीय भेलामा सहभागी समेत भएनन्। 

शर्मा आफ्नो अहिलेको पोजिसनबारे पार्टीका विभिन्न समूहमा खुल्न वा सार्वजनिक प्रतिक्रिया जनाउन चाहिरहेका छैनन्।

पार्टी एकतामा भूमिका खेलेपनि एकतापछि खासै भूमिका नपाएको र ओली नेतृत्वको मन्त्रिमण्डल पुनर्गठन हुँदा पनि आफु नपरेपछि उनी असन्तुष्ट रहँदै आएका छन्। पछिल्लो समय गृहमन्त्री हुने महत्वकांक्षा राख्दै आएका शर्मा पार्टीभित्र विवाद बढेकोमा पनि असन्तुष्ट रहेको उनीनिकट एक नेता बताउँछन्।

‘बालुवाटारका ओली पक्षीय नेताहरूसँग जनार्दन शर्मा निरन्तर छलफल गरिरहेका छन्,’ ती नेताले भने, ‘एउटा छलफलमा निकास दिनेभन्दा पनि नयाँनयाँ प्रस्ताव ल्याउँदै अल्मल्याउने केटाकेटी कुरा मान्दिनँ भनिदिनुभएछ।’

नेपाल ट्रस्ट विवादमा नाम मुछिएपछि बिच्किए
नेपाल ट्रस्टको सम्पत्ति हिनामिना भएपछि सरकारले फागुनमा श्वेतपत्र नै जारी गर्‍यो। जसमा शर्माको नाम पनि जोडियो।

फागुन १५ गते संसदमा बोल्दै शर्माले रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक गरेको विवरणप्रति आपत्ति जनाए। रक्षामन्त्रीले ल्याएको श्वेतपत्रलाई उनले ‘अश्वेतपत्र’को संज्ञा पनि दिएका थिए।

यो प्रकरणमा आफ्नो नाम जोडिनुको कारण कुमार पौडेल हत्याकाण्ड भएको उनको दाबी थियो।

२०७६ को असारमा नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले इन्काउन्टर गर्‍यो। शर्माले गृहमन्त्री रामबहादुर थापा र तत्कालीन प्रहरी प्रमुख सर्वेन्द्र खनालप्रति तीव्र असन्तुष्टि जनाउँदै संसदमा आवाज उठाएका थिए।

‘पौडेललाई कानुन, संविधान हुँदाहुँदै पनि निर्मम ढंगले मारिएको बुझेँ। हात पनि धेरै ठाउँमा भाँचेर छियाछिया पारेर मारिएको सूचना पाएँ,’ केही समय गृहमन्त्री समेत रहेका शर्माले भनेका थिए, ‘यो घटना पञ्चायती कालमा भएका बर्बरताको जस्तो भयो।’

सो हत्या प्रकरणको आवाज उठाएकै कारण आफूलाई तर्साउन र आत्मसमर्पण गराउन ट्रस्टको जग्गामा आफ्नो नाम अनावश्यक रुपमा जोडेको उनको आरोप थियो।

यी घटनाहरुले शर्मा कहिले सरकारप्रति आक्रामक त कहिले पार्टीभित्रैका नेताहरुप्रति पनि आक्रामक रुपमा प्रस्तुत हुँदै आएका देखिन्छन्।

जेठमा रुकुम पश्चिमको चौरजहारीमा ६ जनाको हत्या भएको घटनामा पनि शर्मा विवादित बने। उनले घटनामा पीडकको पक्ष लिएको आरोप लागेको थियो। जेठ १३ गतेको प्रतिनिधिसभा बैठकमा शर्माले चौरजहारी घटनामा छुवाछुत कारण रहेको र त्यसमा राजनीति हुनसक्तैन भन्दै बोलेपछि एकछिन हो हल्ला भएको थियो। प्रेमिका लिन भन्दै जाजरकोटबाट चौरजहारी पुगेका नवराज विक र उनका साथीहरु टीकाराम सुनार, गणेश बुढा, सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाहीलाई चौरजहारीका स्थानीयले कुटपिट गरी हत्या गरेका थिए।

तीन पटक मन्त्री बनिसके शर्मा
तत्कालीन माओवादीबाट शर्मा तीन पटक मन्त्री बनिसकेका छन्। ०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा उनी शान्ति तथा पुनर्निर्माणमन्त्री थिए। तत्कालीन माओवादीबाट पटक पटक मन्त्री बन्ने संभवतः कृष्णबहादुर महरापछि शर्मा एक हुन्।

०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि उनी चार महिना गृहमन्त्री बनेका थिए।

०७३ मा प्रचण्ड नेतृत्वकै सरकारमा शर्माले ऊर्जामन्त्री बन्ने अवसर पाए। कुशल व्यवस्थापक भनेर चिनिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको साथ पाएपछि लोडसेडिङ अन्त्य गराउन पहल गरेको राजनीतिक जस शर्माले पाए, जसबाट उनको चर्चा र लोकप्रियता बढेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .