राजनीति


नेपाल–भारत बैठक : भारतले भूकम्पपीडितलाई बनाउने भनिएको ५० हजार घरमध्ये ४६ हजार बने

नेपाल–भारत बैठक : भारतले भूकम्पपीडितलाई बनाउने भनिएको ५० हजार घरमध्ये ४६ हजार बने

नेपालखबर
भदौ १, २०७७ सोमबार ८:३८,

लामो समयको अन्तरालपछि नेपाल–भारतका उच्च कुटनीतिज्ञहरुबीच छलफल सम्पन्न भएको छ।

नेपालमा सञ्चालित भारतीय परियोजनाहरुको अवस्थाबारे अनुगमन गर्न गठित सचिवस्तरीय संयन्त्रको बैठक सोमबार भएको हो।

कोरोना महामारीका कारण भिडियो कन्फ्रेन्सिङमार्फत गरिएको सो बैठक नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट भारतीय राजदूत विनयमोहन क्वात्राको सहअध्यक्षतामा भएको थियो।

बैठकमा भारतीय सहयोगमा नेपालमा सञ्चालनमा रहेका परियोजनाहरुमा २०७६ असार २३ यता भएको प्रगतिबारे समीक्षा भएको भारतीय दुतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भारतले प्रतिवद्धता गरेअनुसार भूकम्प पीडितहरुका लागि अझै ३७ सय घर निर्माण गर्न बाँकी रहेको देखिएको छ।

भारतले भूकम्प प्रभावित गोर्खा र नुवाकोटमा ५० हजार घर निर्माणका लागि सहयोग घोषणा गर्ने जनाएको थियो।

हालसम्म ४६ हजार ३०१ वटा घर निर्माण भएको बैठकमा जानकारी दिइएको थियो।

India delegationभारतीय राजदूत विनयमोहन क्वात्राको नेतृत्वमा वार्तामा सहभागी भारतीय प्रतिनिधिमण्डल।

यसबीचमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइलपाइन, विराटनगरस्थित एकीकृत जाँच चौकीको सञ्चालनमा आएको विषयमा प्रगति भएको सहअध्यक्षहरुले जनाएका थिए।

त्यसैगरी बैठकमा कोभिड–१९ नियन्त्रणका लागि भारतले नेपाललाई उपलब्ध गराएको सहयोगको नेपालले प्रशंसा गरेको भारतीय दुतावासले जनाएको छ।

चार महिना लामो संवादहीनतालाई तोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको स्वतन्त्रता दिवसका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेको दुई पनि पछि यो संयुक्त संयन्त्रको बैठक बसेको हो।

दुवै नेताहरुबीच चार महिनापछि टेलिफोन संवाद भएको थियो।

भारतको सहयोगमा संचालित परियोजनाहरु समयमा सम्पन्न नहुने गुनासो बढेपछि सन् २०१६ मा यो संयन्त्रण निर्माण गरिएको थियो।

कालापानीस्थित नेपाली भूभागमा भारतले एकपक्षीयरुपमा सडक बनाएपछि दुवै देशबीच विवाद बढेको छ।

यसैबीच नेपालले अतिक्रमित आफ्नो भूभागसहितका नक्सा जारी गरेपछि भारतले असन्तुष्टि व्यक्त गरेको थियो।

सीमा विवादको विषयमा नेपाल भारतका सचिवस्तरीय संयन्त्रको बैठक गर्न नेपालले प्रस्ताव पठाएपनि भारतले कोभिड–१९ को समस्या समाधान भएपछि मात्र बैठक गर्ने बताउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad