भारतसँग तनाव बढ्दै गर्दा चीन सरकारका स्टेट काउन्सिलर तथा विदेश मामिला प्रमुख याङ जेइचीले नेतृत्व गरेको उच्च प्रतिनिधि मण्डल श्रीलंका भ्रमणका क्रममा कोलम्बो पुगेको छ।
याङ चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्य तथा केन्द्री कमिटीका विदेश विभागका निर्देशक छन्, जो चीन सरकारको विदेश मामिला हेर्ने अहिलेका सबैभन्दा उच्च अधिकारी हुन्।
श्रीलंकाली सञ्चार माध्यमहरूका अनुसार कोलम्बोमा याङले शुक्रबार श्रीलंकाली राष्ट्रपति गोतबाया राजापाक्ष र प्रधानमन्त्री महिन्दा राजापाक्षलाई भेट्ने कार्यक्रम रहेको छ।
भारत र चीनबीच तनाव बढेको समयमा चीनका उच्च अधिकारीको दक्षिण एशियाली देशको भ्रमणलाई निकै चासोका साथ हेरिएको छ।
गत साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली प्रधानमन्त्री राजापाक्षबीच भिडियो कन्फरेन्स भएको थियो, जसमा मोदीले राजापाक्ष समक्ष श्रीलंका इण्डो–प्यासेफिक अमेरिकी रणनीतिमा सहभागी हुनु पर्ने प्रस्ताव राखेको सार्वजनिक भएको थियो।
अघिल्लो हप्ता जापानमा भएको क्वाड समूहको बैठकमा अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले चीनलाई दबाब दिन इण्डो–प्यासोफिक रणनीतिमा यस क्षेत्रका देशहरूलाई सहभागी गराउन आग्रह गरेका थिए।
कोभिड १९ को महामारी शुरु भएपछि चीनका उच्च अधिकारी दक्षिण एशियाको भ्रमणमा आएको यो पहिलो पटक हो।
‘विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी शुरु भएयता भएको चिनियाँ अधिकारीको पहिलो भ्रमणले श्रीलंका र चीनबीच आर्थिक सम्बन्धलाई पुनर्जीवन दिने र दुई पक्षीय सम्बन्धलाई सशक्त बनाउने अपेक्षा लिएका छौ’, श्रीलंकाली विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
चार देशको भ्रमणको क्रममा याङले पहिलो गन्तव्य कोलम्बोलाई बनाएका हुन्। यो भ्रमणको क्रममा उनले श्रीलंकाका अतिरिक्त संयुक्त अरब इमिरेट्स, अल्जेरिया र सर्बियाको भ्रमण गर्ने छन्।
भारत र चीन तथा अमेरिका र चीनबीच तनाव बढेको समयमा यो भ्रणम हुन लागेको हो।
याङको भ्रमणको चार दिनअघि मात्रै कोलम्बोस्थित अमेरिकी र चिनियाँ दूतावासबीच श्रीलंकासँगको सम्बन्धको विषयमा आरोप प्रत्यारोप भएको थियो।
श्रीलंकाका लागि अमेरिकी राजदूत एलाइना टेप्लिजले श्रीलंकामा सञ्चालित चिनियाँ परियोजनाप्रति टिप्पणी गर्दै ‘चीनले खुला आधिपत्य, सर्वोच्चता र शक्तिको राजनीति देखाएको’ टिप्पणी स्थानीय पत्रिकामा गरेकी थिइन्।
लगत्तै चिनियाँ दूतावासले टेप्लिजको अन्तर्वार्ताले ‘कुटनीतिक मर्यादा भंग गरेको’ जनाएका थियो। अमेरिकाले अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने विषय नौलो नभएको चिनियाँ दूतावासले टिप्पणी गरेको थियो।

प्रतिक्रिया