सत्तारुढ दल नेकपाभित्र दुई अध्यक्षले पेस गरेका छुट्टाछुट्टै प्रतिवेदनपछि थप जटिल बनेको विवाद समाधानका लागि नेताहरुले दौडधुप तीव्र बनाएका छन्।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिभिन्न तहमा संवाद र भेट गरी दुई अध्यक्षबीच सहमति जुटाउने प्रयास गरेका हुन्।
तर आइतबार दिउँसो १ बजे बस्ने स्थायी समिति बैठक अगावै सहमति कायम गराउने प्रयास भने सफल नभएको नेताहरुले बताएका छन्।
त्यसका लागि शनिबार र आइतबार प्रधानमन्त्री ओलीनिकट नेताहरुले कार्यकारी अध्यक्षलाई निवासमै पुगेर भेट गरेका थिए।
शनिबार स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले र आइतबार विहान स्थायी समिति सदस्य सुवास नेम्वाङले प्रचण्डसँग भेट गरी स्थायी समितिमा पेस भएका दुबै प्रतिवेदन फिर्ता गरी फेरि सचिवालयबाटै समाधान खोज्न आग्रह गरेका थिए।
‘स्थायी समितिमा पेस भएका दुबै अध्यक्षका छुट्टाछुट्टै प्रस्ताव लिऊँ, पार्टी र सरकार सञ्चालनमा भएका कमीकमजोरीप्रति अध्यक्ष ओलीले पनि आत्मालोचना गर्नुहुनेछ,’ पोखरेलले शनिबार प्रचण्डलाई गरेको आग्रह उद्धृत गर्दै प्रचण्डनिकट एक स्थायी समिति सदस्यले भने, ‘सोही प्रस्तावमाथि सचिवालय बैठकमै निकास खोजौं।’
जवाफमा प्रचण्डले स्थायी समितिमा पेस मात्र होइन छलफल नै भइसकेको प्रतिवेदन फिर्ता नहुने प्रष्ट पारेको ती नेताले जानकारी दिए।
‘स्थायी समितिका सबै कमरेडहरुको हातमा दुबै प्रतिवेदन अध्ययन गर्न वितरण भइसकेको छ, अब त्यो फिर्ता हुने संभावना त छदैँछैन, त्यसमाथि मैले लेखेको प्रतिवेदन त सचिवालयका धेरै सदस्यहरुको समर्थनमा तयार पारेको छु, त्यसलाई फिर्ता लिने कुरा झन् मिल्दैन,’ प्रचण्डको जवाफ उद्धृत गर्दै ती नेताले नेपालखबरसँग भने, ‘बरु स्थायी समिति बैठकमा प्रधानमन्त्री पनि उपस्थित हुने, त्यहाँ छलफल गर्ने र एउटा निष्कर्ष निकाल्नुपर्छ।’
प्रचण्डलाई स्थायी समितिको आइतबारका लागि तय भएको बैठक रोकेर फेरि सचिवालय बैठकबाटै पार्टीभित्रको विवाद समाधानको विकल्प खोज्न भनेपनि उनले त्यसलाई अस्वीकार गरेका छन्।
आइतबार विहान प्रचण्ड भेट्न पुगेका स्थायी समिति सदस्य सुवास नेम्वाङले पनि दुबै अध्यक्ष मिल्नको लागि स्थायी समितिको बैठक सारेर भएपनि अझै प्रयास गर्नुपर्ने सुझाव दिएको ती नेताले दाबी गरे।
‘स्थायी समितिको बैठक रोक्ने र फेरि सचिवालयमा छलफल गर्ने कुरामा अध्यक्ष प्रचण्ड सहमत हुनुभएन, उहाँले स्थायी समितिमा पेस भएका दस्तावेजहरु केन्द्रीय समितीसम्म छलफलमा लगिने बताउनुभएको छ,’ उनले भने।
मंसिर २१ गते बसेको स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन्।
उनले सो बैठकमा पत्र पठाउँदै प्रचण्डले पठाएको आरोपपत्रमाथि छलफल गर्न नसकिने बताउँदै स्थायी समितिका नेताहरुले आफ्नो विवेक देखाउने अपेक्षा राखेको बताएका थिए।
आज आइतबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बस्ने तय भएको बैठक अध्यक्ष ओलीको आग्रहमा प्रधानमन्त्री निवास बालुवाटारमा सारिएको हुँदा सो बैठकमा ओली सहभागी हुने संभावना रहेको छ।

प्रतिक्रिया