राजनीति


प्रचण्ड–नेपाल समूहको भेलामा किन गएनन् वामदेव र नारायणकाजी?

प्रचण्ड–नेपाल समूहको भेलामा किन गएनन् वामदेव र नारायणकाजी?

नेपालखबर
पुस ३, २०७७ शुक्रबार १२:४९,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको प्रदेशस्तरीय भेलामा पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ भने देखिएनन्।

शुक्रबार दिउँसो पार्टी जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा भएको प्रचण्ड–नेपाल समूहको प्रदेश १ अन्तर्गतका १४ जिल्लाका इन्चार्ज, अध्यक्ष, सचिव र सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यको भेलामा उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठ अनुपस्थित भएका हुन्।

भेलामा सहभागी एक नेताका अनुसार पाँच सचिवालय सदस्यको समूहका दुई जना नेता (गौतम र श्रेष्ठ)लाई डायसमा नदेखेपछि केही सहभागीहरुको बीचमा सुरुमा कानेखुसी भएको थियो।

साे विषयकाे चर्चा सुरु भएपछि गाैतमकाे सचिवालयले त्यसबारे प्रष्ट पारेकाे छ।

उपाध्यक्ष गौतम कुनै पनि भेलामा नजाने भन्दै शुक्रबारको प्रदेशस्तरीय भेलामा अनुपस्थित भएको उनका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए।

गौतमले आफू प्रचण्डसहित पाँच नेताको समूहमै रहेको बताउँदै भेलामा भने नजाने बताएका छन्। अहिले भेला गर्नेभन्दा पनि पार्टीका बैठकबाट नै पार्टीमा देखिएका समस्याको हल गर्ने समय भएको उनकाे भनाइ छ।

‘म कुनै पनि भेलामा जान्नँ, पाँच नेताको बैठकमा भने जान्छु’, उपाध्यक्ष गौतमको भनाइ उद्धृत गर्दै सुवेदीले भने, ‘अहिले भेला गर्ने बेला हैन, बैठकबाट सबै समस्याको हल खोज्ने समय हो।’

यता प्रवक्ता श्रेष्ठ भने भेलामा नआई दिनभर निवासमै कार्यकर्ता भेटघाटमा व्यस्त रहे। भेलामा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले मात्रै सम्बोधन गर्नेगरी तय गरिएका कारण उनी सहभागी नभएका हुन्।

‘भेलामा सबै ओरेन्टेसन प्रचण्ड र माधव कमरेडले गर्ने सहमति भएको थियो, त्यसैअनुरुप उहाँ नजानु भएको हो, अन्य असहमति वा विमतिका कारण होइन’, श्रेष्ठनिकट एक नेताले नेपालखबरसँग भने, ‘उहाँ अध्यक्ष र वरिष्ठ नेतासँग सल्लाह गरेरै नजानुभएको हो।’

उनले यसअघि भएको बागमती प्रदेशस्तरीय भेलामा पनि प्रचण्ड र नेपालले मात्रै सम्बोधन गरेको जानकारी दिए।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड–नेपाल समूहले प्रदेशस्तरीय भेला गर्न थालेको हो। बागमतीको भर्चुयल भेला गरेको सो समूहले प्रदेश १ को भने काठमाडौँमा प्रत्यक्ष उपस्थित गराएर भेला गरेको हो।

याे पनि : प्रदेश १ को भेलामा प्रचण्डले भने : ओलीलाई निषेध होइन नियन्त्रण गरेर जान खोजेका हौँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .