राजनीति


प्रदेश १ को भेलामा प्रचण्डले भने : ओलीलाई निषेध होइन नियन्त्रण गरेर जान खोजेका हौँ

प्रदेश १ को भेलामा प्रचण्डले भने : ओलीलाई निषेध होइन नियन्त्रण गरेर जान खोजेका हौँ

नेपालखबर
पुस ३, २०७७ शुक्रबार १०:२५,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई निषेध नभई नियन्त्रण गरेर जान खोजेको बताएका छन्।

शुक्रबार जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडा भएको प्रचण्ड–नेपाल समूहको प्रदेश १ स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधामन्त्री ओली पार्टी निर्णयभन्दा बाहिर गएकाले नियन्त्रण गर्नुपर्ने अवस्था आएको बताए। उनले पार्टी निर्णयमा मान्न अध्यक्ष ओलीलाई आग्रह समेत गरे।

‘अध्यक्ष ओलीलाई निषेध होइन नियन्त्रण गर्न खोजेका हौँ, उहाँले पार्टीको निर्णय मान्नुभएन, निर्णय मानेर अगाडि बढ्नुहोस् भन्न खोजेका हौँ’, प्रचण्डको भनाइ उद्धृत गर्दै भेलामा सहभागी केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने।

अध्यक्ष प्रचण्डले आफूहरुले ल्याएको प्रतिवेदनमा प्रवृत्तिगत कुरा मुख्य भएको दावी गरे। उनले पार्टीभित्र देखिएका समस्या, तिनको निराकरणका बारेमा प्रतिवेदन ल्याएको भन्दै अध्यक्ष ओलीको प्रतिवेदन भने व्यक्तिगत गालीगलौज भएको बताए।

‘हामीले प्रतिवेदनमा प्रवृत्तिगत कुरा ल्याएका छौँ, पार्टीभित्रको अहिलेको समस्या के हो र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा प्रतिवेदन स्पष्ट छ’, भेलामा प्रचण्डले भने। ‘तर उहाँ (ओली) व्यक्तिगत कुरामा रुमलिनु भयो, गालीगलौजमा उत्रिनुभयो।’

उनले दुवै प्रतिवेदनहरु स्थायी समिति सदस्यसम्मलाई वितरण गरिसकिएको र बाहिर पनि सार्वजनिक गरिसकिएको हुँदा त्यसबारे अध्ययन गरेर निष्कर्षमा पुग्न भेलामा सहभागीलाई आग्रह गरे।

कार्यक्रममा वरष्ठि नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओली गोयबल्स शैलीमा कूप्रचारमा उत्रिएको बताए। उनले सबै समस्याको जड नै प्रधानमन्त्री ओली भएको आरोप लगाए।

कार्यक्रममा अर्का वरिष्ठ नेता झलनाथ खनालले सैद्धान्तिक विषयमा आफ्ना धारणा राखेका थिए।

भेलामा प्रदेश १ का १४ जिल्लाका नेकपा इन्चार्ज, अध्यक्ष, सचिव र सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसमेत सहभागी भएका थिए।

भेलामा सहभागीले आफूहरु पाँच सचिवालय सदस्यका तर्फबाट कार्यकारी अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनका पक्षमा रहेको बताएको केन्द्रीय सदस्य खतिवडाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .