राजनीति


लोकतान्त्रिक पद्धति संरक्षणका लागि संघर्ष गर्ने कांग्रेसको निर्णय

लोकतान्त्रिक पद्धति संरक्षणका लागि संघर्ष गर्ने कांग्रेसको निर्णय

नेपालखबर
पुस ५, २०७७ आइतबार १२:२८,

नेपाली कांग्रेसले संसदमा क्रियाशील विभिन्न राजनीतिक दलहरुसँग समन्वय गरी लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि काम गर्ने निर्णय गरेको छ।

आइतबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिबाट गरिएको संसद विघटन अप्रजातान्त्रिक र संवैधानिक व्यवस्था प्रतिकुल भएको जनाएको छ।

सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डो¥याउन आफ्ना सबै प्रयत्न केन्द्रित गर्ने निर्णय पनि गरेको छ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ,
नेपाल सरकार मन्त्रिपरिषद्ले आज हठात् प्रतिनिधि सभा विघटन गरी वैशाखमा मध्यावधि निर्वाचन गर्ने गरी गरेको निर्णय, प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस र सम्माननीय राष्ट्रपतिबाट उक्त सिफारिस स्वीकृत भएको घटनामा हाम्रो ध्यान गम्भीर रुपले आकृष्ट भएको छ।

१) यो घटना नेपाल कम्युनिष्ट पार्टीको सरकारको घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनिय कार्य हो। सरकारले गरेको यो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक काम गरेको छ।

२) विगतको निर्वाचनमा स्थिरता, शान्ति र सम्वृद्धिको नारा दिएर झन्डै दुई तिहाई जनमत प्राप्त गरेको वर्तमान सरकारले जनताबाट प्राप्त जनादेशको अपमान गरेको छ। कोभिड—१९ को माहामारीले जनता सर्वाधिक पिडामा रहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीको सरकार जनताका जनजिवीका र सुविधाका विषयबाट विमुख र निरपेक्ष हुदै, आफ्नो पद र शक्तिका लागि सत्ता संघर्षमा केन्द्रित रह्यो। पछिल्ला घटना क्रमले कम्युनिष्ट पार्टी र सरकार देश र जनताका हितमा सत्ता संचालन गर्न अक्षम र जनताप्रति गैर जिम्मेवार र अनुत्तरदायी रहेको प्रष्ट छ। प्रारम्भदेखि नै असफलतातर्फ उन्मुख सरकारको यो कदम संवैधानिक मूल्य र लोकतान्त्रिक मान्यता विपरित कार्यहरुको श्रखृलाको निरन्तरता हो।

३) नेपाली कांग्रेसको यो बैठक नेपाल कम्युनिष्ट पार्टी र सरकारका कारण उत्पन्न यो असहज परिस्थितिमा नेपाली जनता सामु नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डोर्‍याउन आफ्ना सबै प्रयत्न केन्द्रित गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।

४) नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसदमा क्रियाशील अन्य राजनीतिक दलहरुसँग समन्वय र सल्लाह गरी लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि कार्य गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad