राजनीति


बयलगाडामा प्रधानमन्त्रीको पुत्ला राखेर विद्यार्थीको प्रदर्शन

बयलगाडामा प्रधानमन्त्रीको पुत्ला राखेर विद्यार्थीको प्रदर्शन

वाशुदेव मिश्र
पुस ८, २०७७ बुधबार १३:१९,

जनआन्दोलनको बेला प्रधानमन्त्रीले काठमाडौंको पुतलीसडकमा उभिएर भनेका थिए, ‘यो आन्दोलनले गणतन्त्र आउँछ भन्नु र बयलगाडा चढेर अमेरिका पुगिन्छ भन्नु एकै हो।’

जनआन्दोलनको सफललताप्रति नै अविश्वास गरेको भन्दै ओली त्यही बेला आलोचित बनेका थिए। ओलीको यो अभिव्यक्तिलाई देशमा राजतन्त्र ढल्छ भन्ने विश्वास नै नभएको रुपमा पनि अर्थ्याइएको थियो। प्रधानमन्त्री ओलीलाई गणतन्त्र विरोधी कित्तामा राख्दा बेलाबेला अन्य नेताहरुले उनकै भनाई सापट लिने गर्छन्।

प्रधानमन्त्री ओली स्वयंले पनि आफूले त्यो कुरा फरक प्रसंगमा भनेको स्वीकारेका छन्। उनले एउटा टेलिभिजन कार्यक्रममा भनेका थिए, ‘केही दुष्टमतिका मानिसले भ्रमपूर्ण तरिकाले त्यो भनाइको अपव्याख्या गरेका छन्। त्यसबेला नेपाली कांग्रेसले विधान मै संवैधानिक राजतन्त्र राखेको थियो। हामी कांग्रेससँग मिलेर आन्दोलन गरिरहेका थियौं। केही मानिसहरु गणतन्त्रका कुरा झिकिरहेका थिए। विधानमा संवैधानिक राजतन्त्र लेखेको पार्टीसँग मिलेर गरिएको आन्दोलनले गणतन्त्र प्राप्त हुन्छ?’

प्रधानमन्त्री ओलीले जसरी स्पष्टिकरण दिए पनि बिरोधीहरु उनलाई गणतन्त्र आउँछ भन्ने विश्वास नभएको नेताको रुपमा अर्थ्याउँछन्।

उनै प्रधानमन्त्री ओलीले अहिले संसद भंग गरिदिएका छन्। संसद भंग गरेपछि गणतन्त्र नै धराममा पारेको भन्दै नेपाल कम्युनिष्ट पार्टीकै एउटा समूह सडकमा आएको छ। सडकमा आउने क्रममा उनीहरुले ओलीको त्यही पुरानो भनाई सम्झिएका छन्।

बुधबार पोखरामा अनेरास्ववियूले ओलीको गणतन्त्रप्रतिको निष्ठामा प्रश्न गर्दै ‘बयलगाडा’ जुलुस निकाल्यो। अखिलले प्रधानमन्त्रीको कदमको विरोधको सिलसिलामा निकालेको बयलगाडामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला पनि राखिएको थियो।

‘अहिलेको प्रधानमन्त्री ओलीको हिजो पनि गणतन्त्रप्रति विश्वास थिएन, अहिले उनले गणतन्त्रमाथि नै प्रहार गरेका छन्’, विद्यार्थी नेता क्षितिज सापकोटाले भने,‘ राष्ट्रपति र प्रधानमन्त्रीको कारण गणतन्त्र धरापमा पारिएकोले हामीले व्यङ्ग्य गर्दै यस्तो प्रदर्शन गरेका हौं।’

अखिलको प्रदर्शन तथा पुत्लादहन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .