गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले तमु (गुरुङ) समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व ल्होसार, किराँत समुदायको उधौली पर्व तथा नेवार समुदायको यःमरी पुन्ही एवं ज्यापु दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।
शेरचनले बुधबार बिहान जारी गरेको शुभकामना सन्देशमा सांस्कृतिक पर्वहरूले आपसी सहिष्णुता र सद्भाव एवं राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेक छ।
‘ल्होसार/ल्होछार, उधौली तथा यःमरी पुन्हीको अवसरमा शान्ति, स्थायित्व, राष्ट्रिय एकता र समृद्धिका लागि सबैमा प्रेरणा मिलोस् भन्ने कामनासमेत व्यक्त गर्दछु,’ सन्देशमा भनिएको छ। तमु समुदायले ल्होसारलाई नयाँ वर्षको रूपमा मनाउँदै आएका छन्।
च्यू ल्हो (मुसा वर्ग)को बिदाइ र ल्वों ल्हो (गाई वर्ग)को आगमनको खुशीयालीमा आपसमा शुभकामना साटासाट गरी तमु समुदायले यो पर्व मनाउने गर्छन्।
यसैगरी किराँत समुदायले अन्नबाली भित्र्याएको खुशीयालीमा उधौली पर्व मनाउँदै आएका छन् भने नेवार समुदायले मनाउने यःमरी पुन्ही पनि यसपालि तमु ल्होसार र उधौलीसँगै एकै दिन परेको छ। रासस

प्रतिक्रिया