राजनीति


पुनर्स्थापना भए संसद बैठक, नभए निर्वाचन : अध्यक्ष तिमिल्सिना

पुनर्स्थापना भए संसद बैठक, नभए निर्वाचन : अध्यक्ष तिमिल्सिना

वाशुदेव मिश्र
माघ २, २०७७ शुक्रबार १०:३९,

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको निर्णय गरे संसद बैठक सुचारु हुने बताएका छन्। 

‘प्रतिनिधिसभा विघटनको विषय अहिले पनि सर्वोच्चमा विचारधीन छ, त्यसले जे फैसला गर्छ, त्यो फैसला मान्नुपर्ने हामी सबै नेपालीको कर्तव्य हुन्छ’ उनले भने, ‘फैसला आइसकेपछि चुनावमा जाने हो भने चुनावमा जानुप-यो, हैन बदर गरिदियो भने संसद बैठकहरु चल्छ।’

उनी शुक्रबार नेपाल पत्रकार महासंघ कास्कीको १५ औं साधारणसभामा बोल्दै थिए।

केही राजनीतिक दलहरुले संसद ज्यूँदै रहेको र सभामुखले संसद आह्वान गर्नसक्ने तर्क गरिरहँदा अध्यक्ष तिमिल्सिनाको यो अभिव्यक्ति आएको हो।

उनले सर्वोच्चको फैसलापछि के हुन्छ भन्ने विषयमा अहिल्यै अनुमान गर्न नसकिने पनि बताए। पार्टीगत राजनीतिबाट पृथक रहेको जिकिर गर्दै अध्यक्ष तिमिल्सिनाले आफूलाई भने चुनावको पक्षमा उभ्याए।

‘अदालतले चुनाव भन्यो भने, हुँदैन किन प्रश्न गर्ने, चुनाव हुनुपर्छ हुन्छ, हुन्छ, हुन्छ भन्ने हो’,उनले भने,‘ पहिल्यै आशंका गर्दै गयो भने चुनाव नगराउने अस्थिरता चाहने तत्वहरुलाई नै बल पुग्छ अनि त्यस्तै खालका घटना घटाउनेतिर हुन्छ।’

विघटनबारे आ–आफ्ना मत- अभिमत हुनु अलग कुरा भएको उनको भनाई थियो।

अध्यक्ष तिमिल्सिनाले नेपाली जनताले इतिहासै लोकतान्त्रिक सरकारले आफ्नो कार्यकाल पूर्ण रुपले बिताएको देख्न नपाउनु विडम्बनापूर्ण रहेको पनि बताए। यसो भनिरहँदा उनले स्थिर सरकारको प्रावधान संविधानमै व्यवस्था भएको तथ्य भने कोट्याएनन्।

अध्यक्ष तिमिल्सिनाले एमाले र माओवादी केन्द्र नमिलेको भए केही फरक नपर्ने उल्लेख गर्दै अहिले फुटको संघारमा पुग्नु राष्ट्रको हितमा नभएको जिकिर पनि गरे।

‘संविधान निर्माणपछिको चुनावमा नेकपा एमाले र माओवादी केन्द्र मोर्चा बनाएर जाँदा झण्डै दुई तिहाई मत आयो, त्यो स्थिरताको लागि थियो’, उनले भने,‘ तर, त्यो स्थिरता नेकपाले दिन सकेन।’

उनले जनताको अभिमतलाई कदर गर्न नेताहरु चुकेको जिकिर गर्दै अगाडि भने, ‘यस्ता कुरामा इतिहासले हामीलाई माफी दिँदैन,अझै पनि सपार्ने कुरासम्म सपार्ने हुनसक्छ।’

मिडिया काउन्सिल विधेयक आफ्नो कार्यकालको विवादित विधेयक भएको स्वीकार्दै उनले त्यसलाई पनि छलफलपछि राम्रो बनाएको उनको भनाई थियो।

उनले संसद विघटन भएकाले विधेयकको काम फेरि थाल्नुपर्ने अवस्था आएको बताए। विधेयक दुवै सदनबाट पारित गर्नुपर्ने भएकाले राष्ट्रियसभाबाट प्रतिनिधिसभामा गएका सबै विधेयक शुन्य अवस्थामा पुगेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .