राजनीति


संविधानकाे रक्षा गर्न अनसनमात्रै होइन, ज्यान पनि दिनुपर्ने हुनसक्छः गोविन्द केसी (अन्तर्वार्ता)

संविधानकाे रक्षा गर्न अनसनमात्रै होइन, ज्यान पनि दिनुपर्ने हुनसक्छः गोविन्द केसी (अन्तर्वार्ता)

यज्ञराज जोशी
माघ ३, २०७७ शनिबार ११:५०,

प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् प्रतिनिधि सभा विघटन गरेपछि नागरिक समाजले त्यसविरुद्ध अहिले आन्दोलन गरिरहेको छ।

प्रधानमन्त्रीले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै त्यसको बिरोधमा सुरु भएको नागरिक समाजको आन्दोलनमा सामाजिक अभियन्ता डा. गोविन्द केसी पनि मिसिएका छन।

मेडिकल शिक्षा सुधारका लागि पटकपटक अनसन बसेका डा. केसी शनिबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा नागरिक समाजको आन्दोलनमा प्लेकार्ड बोकेर उभिएका थिए।

डा.केसीसँग प्रधानमन्त्रीको कदम र पछिल्लो अवस्थाबारे नेपालखबरले गरेको संक्षिप्त कुराकानीः

तपाईहरु किन सडकमा आउनुपरेको?
संविधानको उल्लंघन भएको हुनाले त्यसको विरोधका लागि हामी उपस्थित भएका हौं। संविधानले प्रतिनिधि सभा, कार्यपालिका र न्यायपालिकालाई बराबरी अधिकार र दायित्व दिएको छ। सबै अंगहरु जनताको सेवाका लागि बनाइएका हुन। जनतालाई रैती बनाउन, जनताको अधिकार खोस्नका लागि होइन। यिनीहरुबीच शक्ति पृथकीकरण पनि छ। सन्तुलन पनि छ। प्रधानमन्त्री ओलीले बारम्बार भ्रष्टाचार, धाँधली, अपराध, दलाली गर्नेलाई संरक्षण दिएका छन। अहिले उनको कुर्सी नै हल्लिन थालेपछि संसद नै विघटन गरिदिए। संवैधानिक अंगलाई अपांग बनाइदिए। ओलीले संविधान विध्वंश गरे। संविधानभन्दा माथि रहेर अहिलेसम्म काम गरिरहेका छन। उनी आफूलाई मानव पनि ठान्दैनन। देवत्वप्राप्त गरिसक्या भन्ठान्छन। संविधानभन्दा माथि कोही छैन। ओली र राष्ट्रपतिले गरेको गैरसंवैधानिक संसद विघटनविरुद्ध हामी सडकमा आएका हौं।

Govind KC Bhasan

विगतमा विभिन्न बेथितिविरुद्ध तपाई अनसन बस्दै आउनुभएको छ। प्रधानमन्त्रीको यस कदमविरुद्ध पनि अनसन थाल्ने सोचमा हुनुहुन्छ कि?
मलाई पहिलेदेखि पनि जे कुराका लागि पनि छिटो सत्याग्रहमा बसिहाल्छ भन्ने आरोप लगाइन्छ। पहिले अरु उपाय किन अपनाइदैँन भन्छन। तर त्यो कुरा वास्तवमा गलत हो। हामीले अरु उपाय अपनाएर नभएपछि सत्याग्रहमा गएका हौं। अहिले संविधान बचाउनु छ भने सत्याग्रहमात्रै नभएर ज्यान पनि दिनुपर्ने हुनसक्छ। सत्याग्रह गर्दा ज्यान पनि जानसक्छ र अरु तरिकाले पनि ज्यान दिनुपर्ने हुनसक्छ। अहिले नै यो हतियारलाई अगाडि नबढाई हालौं भन्ने पक्षमा म छु। हामी आवाज उठाइरहन्छौं। केही त्यस्तो विषम परिस्थिति आयो भने जनताले र हामी अभियन्ताले पनि विषम निर्णय गर्नुपर्ने हुन्छ।

यदि सर्वोच्चले संविधानको विघटनको पक्षमा फैसला गर्‍यो भने आफ्नो अन्तिम अस्त्र सत्याग्रहमा जान्छु भन्न खोज्नुभएको हो?
अहिल्यै भनि नहालौं। योभन्दा पहिले लोकमान सिंहले पनि संविधानभन्दा माथि रहेको जस्तो गरेका थिए। उनका विरुद्ध लडियो। अन्ततः उनी गए। पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध पनि लडियो। उनीपनि गए। इतिहास छन। सत्याग्रहमै जानु नपर्ला भन्ने मलाई लाग्छ। न्यायालयका विद्वान न्यायाधीशहरुले कुरा बुझ्नुहुन्छ। उहाँहरु जनताको पक्षमा हुनुहुन्छ। संविधानको रक्षा गर्नुहुन्छ भन्ने आशा छ। जुन तानाशाहले संसद विघटन गरे त्यसलाई वदर गरेर संसद पुर्नस्थापना हुन्छ भन्ने मलाई लागेको छ। सुधार चाहने हो भने संघर्षलाई निरन्तरता दिनुपर्ने हुन्छ। त्यसमा म पछि हुनेछैन। हामी गलत काम, गलत संस्कारविरुद्ध सधैभरि खबरदारी गरिरहन्छौं। जनप्रेमी सरकार, मन्त्री हुन्छन भनेर हामीले भोट दिएको हो। हामीले तानाशाह जन्माउन भोट दिएको होइन। कोही तानाशाह बन्छ भने त्यस्तालाई दण्डित गर्न जनताले जानेको छ र तानाशाहलाई दण्डित गरिन्छ।

अदालतले संसद पुर्नस्थापना गर्नेमा विश्वस्त हुनुहुन्छ?
न्यायालयले संविधानको रक्षा गर्नेमा मलाई विश्वास छ। जनताको आकांक्षाअनुरुप न्यायालयले काम गर्नेछ भन्ने विश्वास छ। तर न्यायालयलाई पनि जनताको आकांक्षा यो हो है, तपाईहरुको काम संविधानको रक्षा गर्ने हो भनेर झकझकाई रहनु त पर्‍यो। संविधानविपरित काम गर्नेलाई सजाय दिनुपर्‍यो। अब संविधानको रक्षा गर्ने दायित्व न्यायालयको काँधमा आएको छ। तीन करोड नेपालीको निगरानी, आशा न्यायालयमा छ। मलाई लाग्छ न्यायालयले संविधानको रक्षा गर्नेछ र जनताको आशा पूरा गर्नेछ।

सरकारको दबाबमा सर्वोच्चले संसद विघटनको पक्षमा फैसला गर्ने हो कि भन्ने आशंका पनि छ कि?
भ्रष्ट र दम्भ भएका कार्यपालिकाका मान्छेले आफ्नो निहीत घृणित स्वार्थपूर्ति गर्न र कुर्सीमा बसिरहनका लागि संसद विघटन गरेका हुन। संविधानमै नभएको अधिकारको उल्लेख गरेर विघटन गरिदिए। अब बाँकी रहेको न्यायपालिका हो। अब तीन करोड नेपालीका आँखा न्यायपालिकामा छ र न्यायपालिका जनताको निगरानीमा छ। मलाई विश्वास छ, न्यायपालिका तीन करोड नेपालीको इच्छाविपरित जानेछैन। संसदको जुन विघटन गरियो त्यसको वदर हुनेछ भन्ने मलाई विश्वास छ। ओलीजीको निर्देशन, धम्कीमा संविधान विघटनको मुद्दा सदर भयो भने जनताहरु न्यायलयको विरुद्धपनि सडकमा उत्रन सक्छन्। यो मैले धम्की दिएको होइन। न्यायपालिका अग्नीपरिक्षामा छ र यसले संविधानको रक्षा गर्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .