राजनीति


‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि’ खारेज

‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि’ खारेज

नेपालखबर
माघ १४, २०७७ बुधबार ९:२४,

सरकारले ‘वैैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको छ।

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वैैज्ञानिक वनको नाममा अवैध रुपमा रुख कटान हुने अवस्थालाई रोक्न ‘वैैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरिएको बताए।

मन्त्री आलेले बुधबार पत्रकार सम्मेलन आयोजना गरी माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको बताए। उनले मन्त्रिपरिषद्बाट पारित भएको निर्णय छिट्टै राजपत्रमा प्रकाशित हुने बताए।

कार्यविधि खारेज भएपछि दिगो वन व्यवस्थापन अन्तर्गत कतै पनि हरियो वन सखाप नहुने गरी कार्ययोजना बनाएर जाने तयारी मन्त्रालयले गरिरहेको पनि मन्त्री आलेले बताए। वैज्ञानिक वन कार्यक्रम खारेज भएपछि सरकारद्वारा व्यवस्थित वन, सामुदायिक वन, साझेदारी वनमा कटान भइसकेका काठदाउरा प्रचलित कानून बमोजिम प्रक्रिया पुरागरी सदुपयोग, बिक्री वितरण तथा ओसारपसार खुल्ला गर्ने तयारी गरेको पनि बताए।

वैज्ञानिक वन कार्यक्रम खारेज भएपछि काठदाउरा कटान मुछान, विक्री वितरण तथा ओसारपसार सम्बन्धमा प्रदेश वन निर्देशनालयमार्फत अनुगमन गरी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन बुझाई अनियमितता भएको पाइए संलग्नलाई कानून अनुरुप कारबाही गरिने पनि बताए।

यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने बजेट सुनिश्चितता नभएसम्म रुख कटान गर्न स्वीकृति नदिने पनि मन्त्री आलेले प्रस्ट पारे। विमानस्थल निर्माण गर्ने बजेट सुनिश्चित भएपछि मात्रै वन मन्त्रालयले प्रक्रिया अगाडि बढाउने पनि बताए।

मन्त्री आलेले निजगढ विमानस्थल निर्माण गर्दा जुन ठाउँमा एयरपोर्टको रनवे बन्ने हो त्यही ठाउँमा मात्रै रुख कटानको स्वीकृति दिने पनि बताए। विमानस्थलमा १ हजार ९ सय हेक्टरमा मात्रै रनवे बन्ने भएकाले सोही जमिनमा मात्रै रुख कटान गर्न स्वीकृति दिने तयारी भइराखेको पनि स्पस्ट पारे।

मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेको एक महिनामा मन्त्रालय मातहतका धेरै कार्यक्रमलाई व्यवस्थित गराउन लागेको दावी समेत गरे। सिंचाइ नभएका स्थानमा जडिबुटी खेती गर्न सरकारले नै बिऊ विरुवाको उपलब्ध गराउने र उत्पादन भइसकेपछि बजारको व्यवस्थापन गरिदिने योजना बनाएको बताए।

यस्तै पशुपति आर्यघाटमा निःशुल्क दाउरा वितरण गर्ने कार्यक्रम ल्याउन लागेको पनि मन्त्री आलेले बताए। कस्तुरी चरा, हाब्रो लगायतका दशवटा प्रजातिका चराको बासस्थानको पहिचान गरी संरक्षण गर्ने कार्यक्रम घोषणा गर्ने तयारी गरेको पनि बताए। महानगरपालिका र उपमहानगरपालिकाभित्र बगैचा निर्माण गर्न २ लाख विरुवा वृक्षारोपण गर्ने कार्यक्रम पनि अगाडि सारेको मन्त्री आलेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad