राजनीति


अबको सात दिनमा आउँछ त थप कोरोना खोप ?

अबको सात दिनमा आउँछ त थप कोरोना खोप ?

यज्ञराज जोशी
माघ १७, २०७७ शनिबार १३:१९,

भारतले उपहारस्वरुप दिएको १० लाख डोज खोप अहिले मुलुकभर अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई लगाइँदैछ। यो खोप ४ लाख ५० हजार जनालाई (खेर जाने मात्रालाई छाडेर) लगाउन पुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यही माघ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गरेको खोप अभियान शनिबार साँझसम्म ६४ हजार ४४२ जनाले लगाइसकेका छन्। खोप अभियानको सुरुवात गर्दा प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबै जनतालाई खोप लगाइसक्ने जनाएको थिए।

तर, शनिबार प्रधानमन्त्री ओलीले तीन महिनाभित्र फ्रन्ट लाइनमा खटिने र एक वर्षभित्र सबै नागरिकलाई खोप पुर्‍याउने भनेर बोली फेरेका छन्।

‘कोरोना खोप लगाउने अभियान अगाडि बढिरहेको छ, फ्रन्ट लाइनमा रहेर कठिनाइ झेलेकाहरूलाई खोप दिलाउने काम आगामी तीन महिनाभित्र सम्पन्न गर्नेछौं’, प्रधानमन्त्री ओलीले शनिबार चितवनमा आयोजित एक कार्यक्रममा भने, ‘बाँकी जनतालाई क्रमशः  सन् २०२१ भित्र खोप लगाइसकेर कोभिड– १९ लाई हामी नेपालबाट भगाउँछौं।’

No description available.पहिलो चरणमा भारतबाट आएको खोप

तर, खोप ल्याउनका लागि ठोस् पहल नचाल्दा अहिले चलिरहेको खोप अभियान रोकिने खतरा बढेको छ। अहिले देशभर सञ्चालित खोप अभियान १० दिनमा सक्ने सरकारले जनाएको छ। जसअनुसार अबको सात दिनमा खोप अभियान सकिने छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीले यो खोप अभियान नसकिँदै नेपालमा खोप आउने प्रतिबद्धता जनाएका छन्। तर, उनको प्रतिबद्धता अनुसार खोप अभियान सकिने मितिभित्रै मन्त्रालयले खोप ल्याउने ठोस् कदम भने अघि बढाएको छैन।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.बाबुराम मरासिनी अहिले भारतले अनुदानमै दिएको खोपको भरमा सरकार चुप लागेर बस्न नहुने बताए। उनले खोप खरिदका लागि नेपाली प्रतिनिधिमण्डल नै कम्पनीमा गएर कुराकानी गर्नुपर्ने बताए।

‘भारतले अनुदानमा दिएको खोप पर्याप्त छैन। यो खोप अग्रपंक्तिमा खटिएकालाई पनि नपुग्ने भएकाले खोप खरिदमा सरकारले तदारुपकता देखाउनुपर्छ,’ उनले भने, ‘खोप आउँछ भनेरमात्रै भएन, प्रतिनिधिमण्डल नै कम्पनीमा गएर छलफल गर्नुपर्यो, बुकिङ गर्नुपर्यो।’

उनले अहिले सबैलाई खोप आवश्यक परेकाले खरिदका लागि राजनैतिक, प्रशासनिक लगायत सबै सम्बन्धको प्रयोग गर्नुपर्ने सुझाब दिए। जति चाँडो खोप ल्याए त्यति चाँडो व्यक्तिको जीवन र मुलुकको अर्थतन्त्रलाई बचाउन सहयोग पुग्ने भएकाले खोप सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्ने उनको भनाइ छ।

No description available.पहिलो चरणमा भारतबाट आएको खोप

स्वास्थ्यमन्त्री त्रिपाठीले आफूहरुले सबै सम्बन्धको प्रयोग गरेर खोप ल्याउन लागिपरेको बताए।

‘सरकारले खोप उत्पादक मुलुकसँग सरकार–सरकार, सरकार–उत्पादक कम्पनीलगायत आधारमा खोप खरिदको प्रक्रिया अघि बढाएको छ,’ खोप अभियान निरीक्षणमा नवलपरासी पुगेका स्वास्थ्यमन्त्री त्रिपाठीले भने, ‘भारतसँग पनि हामीले खरिदकै प्रक्रिया अघि बढाएका थियौँ। तर, अनुदान उपलब्ध भयो। अब खरिदका लागि पनि भारत सकारात्मक हुने विश्वास लिएका छौं।’

नेपालमा अहिले प्रयोग आइरहेको कोभिशिल्ड नामक खोप भारतको सेरम इन्स्टिच्युटले निर्माण गरेको हो। जुन विश्वको सबैभन्दा ठूलो खोप उत्पादन कम्पनीसमेत हो। सरकारले समेत उक्त कम्पनीलाई खोप दिनका लागि अनुरोध गरेको छ। तर, कम्पनीले हालसम्म कुनै प्रतिक्रिया नदिएकाले नेपालमा अहिले चलिरहेको खोप अभियान टुट्ने जोखिम बढेको हो।

पहिलो चरणको खोपमा सरकारले फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीलाई खोप प्राथमिकतामा राखेको छ।

त्यस्तै, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारमा रहेका कैदी र सुरक्षाकर्मीलाई लगाउन सुरु गरिएको छ।

स्वास्थ्य मन्त्रालयले गठन गरेको खोपविज्ञ समूहका सदस्य डा. झलक शर्मा गौतमका अनुसार नेपालका २ करोड १६ लाख जनतालाई खोप लगाउने सरकारको तयारी छ। त्यसका लागि खेर जानेसमेत जोडेर करिब ५ करोड डोज खोप चाहिने आँकलन गरिएको छ।

No description available.पहिलो चरणमा भारतबाट आएको खोप

पहिलो चरणमा अग्रपंक्तिमा खटिएकालाई लगाएपछि दोस्रो चरणमा ५५ वर्षमाथिका जेष्ठ नागरिक र दीर्घ रोगीलाई खोप लगाउने तयारी गरिएको छ। उक्त समूहको संख्या नेपालमा ५१ लाख रहेको मन्त्रालयले जनाएको छ।

यस्तै तेस्रो चरणमामा ४० देखि ५४ वर्षका २९ लाख र १५ देखि ३९ वर्षका बाँकी १ करोड २७ लाखलाई अन्तिम चरणमा खोप दिने योजना सरकारको छ।

याे पनि : तीन महिनाभित्र सबै नेपालीले निःशुल्क कोरोना खोप पाउँछन् : प्रधानमन्त्री

तीन महिनामा सबै नागरिकलाई कोरोना खोप भनेका प्रधानमन्त्री ओलीले फेरे बोली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .