प्रतिनिधि सभा विघटन, संवैधानिक निकायमा भएको नियुक्ति लगायतको विरोधमा प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार साँझ देशभरका सबै स्थानीय तहमा मसाल जुलुस निकालेको छ।
नेकपाले बिहीबार आह्वान गरेको देशव्यापी आमहड्तालको पूर्वसन्ध्यामा बुधबार साँझ देशभर मसाल जुलुस निकालेको हो।

प्रतिनिघि सभा विघटनविरुद्ध केन्द्रीय संघर्ष समितिको आयोजनामा देशभरका सबै स्थानीय तह र वडासम्मै प्रदर्शन गरिएको केन्द्रीय संघर्ष समितिका सदस्य सूर्य थापा पथिकले जानकारी दिए।
त्यस्तै उपत्यकामा सबै जनगवर्गीय संगठनले पनि मसाल जुलुस निकालेका छन्।

नेकपाले बुधबार पत्रकार सम्मेलन गर्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि सडक संघर्षमा उत्रिएको नेकपाले यसअघि उपत्यकामा ठूलो सभासहित वुटवल, विराटनगर र धनगढीमा समेत सभा सम्पन्न गरिसकेको छ।

नेकपाले माघ २८ गते उपत्यकामा अहिलेसम्मकै ठूलो प्रदर्शन गर्ने निर्णय समेत गरेको छ।




प्रतिक्रिया