राजनीति


ओलीकै सभामा सहभागी युवा भन्छन्ः यिनले केही गर्छन् भन्ने आश छैन

ओलीकै सभामा सहभागी युवा भन्छन्ः यिनले केही गर्छन् भन्ने आश छैन

यज्ञराज जोशी
माघ २३, २०७७ शुक्रबार १२:२८,

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार काठमाडौंमा आमसभा गर्नुअघि नै घोषणा गरेका थिए, ‘आमसभा कस्तो हुन्छ, माघ २३ गते हेर्नुहोला।’

शुक्रबार ओली समूहले नारायणहिटी दरबार अघिल्तिर सोही शक्ति प्रदर्शन गर्‍यो। ओलीले भाषण गरिरहँदा हामीले सो कार्यक्रममा सहभागी युवाहरुको मनस्थिति बुझ्ने प्रयास गर्‍यौँ।

महेन्द्रको सालिकनजिकै पाटन बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत सुसन राई नेपालको झन्डा बोकेर चिच्याइरहेका थिए। उनी चिच्याएको देख्दा जोसुकैले अड्कल काट्न सक्थ्यो-  उनी ओलीपक्षको कडा समर्थक हुन्।

हामीले उनलाई सोध्यौं, ‘यहाँ के भइरहेको हो? तपाईं किन आउनुभएको?’

उनी अकमक्किए। उनी त आमसभा कसले गरेको हो भन्ने समेत जानकारी थिएन। दाइहरुको जाऊँ भनेको भरमा उनी सभामा आएका थिए।

‘खासमा को हो, के हो थाहा छैन। मलाई राजनीति केहीपनि थाहा छैन। मलाई रुचि पनि छैन,’ उनले भने, ‘दाइहरुले जाऊँ एउटा कार्यक्रम छ भन्नुभयो। दाइहरुको कुरा काट्न सकिनँ। हुन्छ भनेर आएँ।’

‘त्यसो भए तपाईंलाई राजनीतिप्रति कुनै चासो छैन?’ हामीले प्रतिप्रश्न गरौं।

उनले नेताहरुसँग आशै नभएको जवाफ फर्काए।

‘नेताहरुले केही गर्छन् भन्ने मनमा कत्ति आश छैन। राजा आओस् कि मन्त्री आओस्, देश विकास गर्नुपर्‍यो। त्यसैमा मेरो समर्थन हो,’ सुसनले थपे, ‘कहिले गाडी फोड्दिने, कहिले आन्दोलन गर्ने गर्नुभएन। जोसुकै आएपनि शान्ति आओस् भन्ने धारणा हो।’

गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि त्यसको पक्ष र विपक्षमा अहिले देशभर आन्दोलन, सभाहरु भइरहेका छन्। तर यी सबै विषयमा सुसन अनविज्ञ थिए।

महेन्द्र सालिककै छेउमा नेकपा रामेछापको ब्यानर लगाएर उभिएका थिए, दीपेन्द्र भण्डारी।

उनलाई आमसभाका लागि रामेछापबाट बिहीबार नै गाडीमा हालेर काठमाडौं ल्याइएको हो। एक रात होटलमा बिताएपछि शुत्रबार बिहानैदेखि उनी आमसभा स्थलमा छ।

‘यो सभा किन, के कारणले आयोजना भएको हो, केही थाहा छैन,’ दीपेन्द्रले भने, ‘यसमा हिँड्दा केही राहत सुविधा पाउँछौँ कि भनेर हिँडेको हो।’

जसको कार्यक्रममा उनी उपस्थित थिए, तिनले देश र जनताका लागि केही गर्लान् भन्ने आशा पनि उनलाई थिएन। भविष्यमा केही होला कि भन्ने आशा राखेको उनले बताए।

‘प्रधानमन्त्रीले देश र जनताका लागि काम गर्नुहुन्छ भन्ने आशा त छैन। तर भविष्यमा केही भइहाल्छ कि भनेर आएको भन्नुपर्‍यो,’ दीपेन्द्रले भने।

प्रधामन्त्रीले गरेको संसद् विघटन तथा पछिल्ला राजनीतिक घटनाबारे उनलाई पनि थाहा थिएन।

सभामै भेटिएकी शोभा सापकोटाले आमसभामा स्वयमसेवकको भूमिका निभाउँदै थिइन। उनले प्रधानमन्त्री ओलीले गरेको संसद् विघटनको बचाउ गरिन्।

‘प्रधामन्त्रीले चालेको कदम एकदम ठिक छ। उहाँलाई घेराबन्दीमा पारेर जुन किसिमको व्यवहार गरियो त्यसका लागि यो कदम चाल्नैपर्ने थियो,’ अनेरास्ववियुकी केन्द्रीय सदस्य समेत रहेकी सापकोटाले भनिन्, ‘देश अस्थिरतामा जाँदैथियो। पहिले नै बुझेर प्रधानमन्त्रीले देशमा स्थायित्वका लागि यो कदम लिनुभएको हो।’

प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको उनी मान्न तयार छैनन्। प्रधानमन्त्रीले गर्न मिल्ने भएकाले संवैधानिक व्यवस्था अनुसार संसद् विघटन भएको उनले जिकिर गरिन्।

संसद् विघटन गरी प्रधानमन्त्री ओलीले आगामी वैशाखमा दुई चरणमा निर्वाचन घोषणा गरेका छन्। तर कतिपयले निर्वाचन हुने आशंका गरिरहेका बेला नेकपाकै कार्यकर्ता सापकोटा भने निर्वाचन हुने र देशले निकास पाउनेमा ढुक्क देखिइन्।

‘प्रधानमन्त्रीले चुनाव गराउनुहुन्छ। उहाँप्रति हामी ढुक्क छौं,’ उनले भनिन्, ‘अब देशको निकास प्रधानमन्त्री ओलीले दिनुहुन्छ अरुले दिनसक्नुहुन्न। प्रधानमन्त्रीप्रति हामी विश्वस्त छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .