नेपाली कांग्रेसले कामचलाउ सरकारले प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्ति गर्न नमिल्ने बताएको छ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रदेश २ प्रमुख तिलक परियारलाई हटाएर नयाँ प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेलगत्तै कांग्रेसले एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो बताएको हो।
कांग्रेसले संसद् विघटनको असंवैधानिक कदम चालेसँगै सरकार कामचलाउ अवस्थामा पुगेको भन्दै यस्तो सरकारले बर्खास्त, नियुक्ति लगायतका काम गर्न नमिल्ने र नपाउने बताएको हो।
कांग्रेसले स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनीसमेत दिएको छ।
‘संसद् विघटनको असंवैधानिक कदमपश्चात् कामचलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न विल्कुलै मिल्दैन र पाइन्न ’, प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विद्दप्तिमा भनिएको छ, ‘अतः यसप्रति कडा विरोध जनाउंदै नेपाली कांग्रेस स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिन चाहन्छ।’
कांग्रेसले प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्तिको विरोध र भत्सर्ना गर्दै सरकारस्वेच्छाचारी ढंगले अगाडि बढेको आरोप लगाएको छ।
सरकार यो निर्णयले प्रदेश प्रमुखको गरिमा घटाउँदै लगेको बताएको कांग्रेसको भनाइ छ। दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक रहेको कांग्रेसको भनाइ छ।
‘अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत बर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘आज फेरि त्यही प्रवृत्ति दोहो¥याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउंदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ।’

प्रतिक्रिया