राजनीति


रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘राजनीतिसँगै राजकाज’ आउँदै

रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘राजनीतिसँगै राजकाज’ आउँदै

नेपालखबर
फागुन १३, २०७७ बिहिबार १०:११,

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको चौथो पुस्तक, ‘राजनीतिसँगै राजकाज’ यही फागुनको अन्तिम सातादेखि बजारमा आउने भएको छ।

‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’लाई मूल निबन्ध बनाई त्यसैको सेरोफेरोमा शिक्षा, स्वास्थ्य, परराष्ट्र, अर्थतन्त्र, सुशासन, नेतृत्व, राजनीति, राजकाज र समाजका विविध आयाममाथि विश्लेषण गरिएका ३८ ओटा स्तम्भ–निबन्धहरूको सङ्ग्रह हो, ‘राजनीतिसँगै राजकाज’।

पुस्तकबारे राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् यूएनडीपी मुख्यालय, न्युयोर्कमा वरिष्ठ सल्लाहकार रहेका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले भन्छन्, ‘नेपालको दूरदृष्टिपूर्ण रूपान्तरण तथा राजनीतिक नेतृत्वमा चासो हुने सबैले पढ्नैपर्ने पुस्तक हो, ‘राजनीतिसँगै राजकाज।’

पुस्तकमाथि टिप्पणी गर्दै उनले लेखेका छन्, ‘पुस्तकको मूल निबन्ध ‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’ नवीन विचार मात्र नभएर नेपालका लागि उदार कल्याणकारी राज्य, गतिशील निजी क्षेत्र र समतामूलक समृद्धिबीचको अकाट्य सम्बन्धको गहकिलो अर्थ–राजनीतिक दस्तावेज पनि हो।’

‘हामीले राजनीति धेरै गर्‍यौं। तर राजकाजमा सधैं चुक्यौं। नेतृत्वका पञ्च गुण-इमानदारी, क्षमता, सामान्य सुझबुझ, विचार र दूरदृष्टिमा सन्तुलन नभएसम्म संसारका कुनै पनि नेतृत्व रूपान्तरणकारी हुन नसक्ने रहेछन्,’ लेखक मिश्र भन्छन्, ‘पुस्तकले ती गुणहरूको महत्त्वमाथि विशेष जोड दिएको छ।’

फाइनप्रिन्टले प्रकाशन गर्न लागेको पुस्तकबाट प्राप्त हुने सम्पूर्ण लेखकस्व (रोयल्टी) लेखक मिश्रले विवेकशील साझा पार्टीलाई प्रदान गर्ने बताएका छन्।

यसअघि प्रकाशित तीन ओटा पुस्तकको लेखकस्व उनले सुरुदेखि नै चितवनमा विपन्न चेपाङ समुदायमा कार्यरत मितेरी फाउन्डेसनको सहयोगार्थ प्रदान गर्दै आएका छन्।

पुस्तक नेपाल र विदेशबाट किताबयात्रा डटकममा गएर, ०१–५२४५०८८ मा फोन या ९८११२८४८२१ मा भाइबर गरेर अडर गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad