सरकारले प्रतिबन्ध लगाएको दुई वर्ष पुग्न एकसाता बाँकी हुँदा सरकारले नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ताको तयारी गरेको छ।
वार्तासँगै सो समूहमाथि लगाइएको प्रतिबन्ध पनि फुकुवा हुने सरकारी पक्षले जनाएको छ।
वार्ताका लागि सरकार र विप्लव समूहले मंगलबार आआफ्नो तर्फबाट वार्ता टोली पनि घोषणा गरिसकेका छन्।
दुई समूहबीच मंगलबार नै गोप्यरुपमा वार्ताको तयारी भएको र उपत्यकाबाहिर रहेका विप्लवका वार्ता समितिका नेता उपत्यका प्रवेश गरिसकेको उच्च सुरक्षा स्रोतले जनाएको छ।
वार्ता हुने भएसँगै सरकारले विप्लव नेतृत्वको पार्टीमाथि लगाइएको प्रतिबन्ध पनि फुकुवा गर्ने सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन्।
प्रतिबन्ध लगाएपछि विप्लवका उच्च नेतासहित दुई हजार बढी पक्राउ परेका थिए। ती मध्ये १ सय २६ जना पुर्पक्षका लागि कारागारमा छन्। अन्य २० जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उल्लेख छ।
थुनामा रहेकामध्ये हेमन्त प्रकास वली र धर्मेन्द्र बास्तोला सो पार्टीका ठूला नेता हुन्। वली पुर्पक्षका लागि थुनामा छन् भने बास्तोलालाई विभिन्न जिल्लामा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ। उनी पनि हिरासतमा छन्।
वार्ता समितिका संयोजक समेत रहेका खड्गबहादुर विश्वकर्मालाई पनि यसअघि विभिन्न जिल्लामा लामो समय थुनामा राखेर छाडिएको हो।
सर्वसाधारणको ज्यान लिनेगरी ललितपुरको नक्खुस्थित टेलिकम कम्पनी एनसेलको मुख्यालयमा बम बिस्फोट गराएपछि सरकारले विप्लव नेतृत्वको नेकपालाई आपराधिक तथा आतंकारी गतिबिधि गरेको आरोपमा २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको हो।
प्रतिबन्ध लगाएयता उक्त पार्टीका २ हजार १५ जना नेता कार्यकर्ता पक्राउ परेका छन्। तीमध्ये ८५ जनालाई सामान्य सोधपुछ गरी छाडिएको छ। प्रतिबन्ध लगाउनुभन्दा पहिले पनि फागुन १० गतेबाट विप्लवका कार्यकर्ता पक्राउ परेका थिए।
फागुन १० गतेदेखि २८ गतेसम्ममा ८५ जना पक्राउ परेका थिए। तीमध्ये ३ जनालाई थुनामा राखिएपनि बाँकीलाई अनुसन्धानपछि छाडिएको थियो।
प्रतिबन्धपछि २ हजार १३ जना पक्राउ परेका थिए। तीमध्ये विप्लवका विभिन्न तहका १ सय २३ जना नेता पुर्पक्षका लागि कारागारमा छन्। १८ जनामाथी अनुसन्धान भइरहेको र १ हजार ८ सय जनाविरुद्ध मुद्दा दर्ता गरिए पनि अदालतको आदेशमा उनीहरु छुटेका छन्। पक्राउ परेका ९० जनालाई भने सोधपुछपछि छाडिएको छ।
दुई हजारभन्दा बढी नेता कार्यकर्ताविरुद्ध मुद्दा दर्ता गरेपनि विप्लवका नेता कार्यकर्ता जोडिएका कुनै पनि मुद्दाको फैसला भने भएको छैन। विप्लवका नेता कार्यकर्तालाई कर्तव्य ज्यान, विस्फोटक पदार्थसम्बन्धी, राज्यविरुद्धको कसुर, संगठित अपराधलगायत मुद्धा लगाइएको छ।
उपत्यकाबाट मात्रै विप्लवका ३ सय ५१ जना पक्राउ परेका छन्। तीमध्ये ३ सय ४० जनाविरुद्ध मुद्दा दर्ता भएकोमा २२ जना पुर्पक्षका लागि थुनामा छन्। २ जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यस्तै प्रदेश १ मा फागुन १० देखि हालसम्म २ सय ९२ जना प्रदेश २ मा १ सय २८ जना, बागमतीमा २ सय ४ जना, गण्डकीमा ३ सय ६९, लुम्बिनीमा ३ सय ८२, कर्णालीमा १ सय ५७ र सुदूरपश्चिम प्रदेशमा २ सय १५ जना पक्राउ परेका थिए।
सबैभन्दा धेरै ३२ जना प्रदेश १ मा कारागार चलान भएका छन्। ४ जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। गण्डकीमा १ जना मात्रै कारागार चलान भएका छन् भने २ जनविरुद्ध हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीको तथ्यांक छ।
बाग्मतीमा २ र कर्णालीमा ७ जना कारागार चलान भएका छन्। लुम्बिनीमा १३, प्रदेश २ मा २३, सदूरपश्चिममा २६ जना कारागार चलान भएका छन्।
विप्लव समूहले पहिलेदेखि नै पक्राउ परेका आफ्ना कार्यकर्तामाथिको मुद्दालाई प्रमुख एजेन्डा बनाउँदै आएको छ। यसअघिसम्म आफ्ना कार्यकर्ता निःशर्त छाडेपछि मात्रै वार्तामा बस्ने बताउँदै आएको विप्लव नेतृत्वको पार्टीसँग सरकारले गोप्यरुपमा विभिन्न चरणमा अनौपचारिक वार्ता गरेपछि औपचारिक वार्ता सुरु गर्न लागिएको हो।
यो पनि:
- विभिन्न समयमा आफ्ना धारणा राख्दै नेत्रविक्रम चन्द ‘विप्लव’ (भिडिओ)

प्रतिक्रिया