राजनीति


प्रचण्ड निकट दुर्गा प्रसाईंले जब ओलीलाई ‘हजुरबा’ बनाए

प्रचण्ड निकट दुर्गा प्रसाईंले जब ओलीलाई ‘हजुरबा’ बनाए

यज्ञराज जोशी
फागुन २२, २०७७ शनिबार १६:१०,

चार वर्षअघि व्यवसायी दुर्गा प्रसाईं, चिकित्सकले तपाईंको जिब्रोमा क्यान्सर भयो भनेर सुनाउँदा झसङ्ग भए। त्योभन्दा बढी पीडाबोध त उनलाई त्यतिबेला भयो, जतिबेला त्यो रोगको गुणस्तरीय र विश्वासिलो उपचार गर्ने अस्पताल देशमै छैन भन्ने थाहा पाए।

विदेश गएर उपचार गराउनुको विकल्प भएन। दिल्ली हुँदै सिंगापुरसम्म पुगेर उपचार गराए। लाखौं खर्च भयो। सामान्य नागरिक भएको भए उपचार गर्न सम्भवै थिएन। 

त्यसैबेला संकल्प गरे, ‘आफ्नै ठाउँमा दक्षिण एसियाकै उत्कृष्ट र नमुना क्यान्सर अस्पताल बनाउँछु।’

‘त्यही संकल्प र सपनाको परिणाम आज झापाको बिर्तामोडमा झन्डै ६ सय करोड लगानीमा क्यान्सर अस्पताल सञ्चालनमा ल्याएको छु,’ प्रसाईंले नेपालखबरसँग भने, ‘अब कुनै नेपाली क्यान्सर उपचारकै लागि विदेशिनु पर्दैन। लाखौं खर्चसमेत जोगिनेछ।’

यसै साता प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन गराए। प्रसाईंको दाबीअनुसार अस्पतालका संरचना, उपकरण तथा चिकित्सक संसारका सुविधासम्पन्न अस्पतालसँग प्रतिस्पर्धा गर्न योग्य छन्।

‘उद्घाटन समारोहमा मैले प्रधानमन्त्री तथा मेरा हजुरबुबा केपी शर्मा ओलीलाई साक्षी राखेर गर्वका साथ मैलैजस्तो अरू नेपालीले नयाँदिल्ली, सिंगापुरका अस्पताल धाउनुपर्ने छैन भनेको छु,’ प्रसाईं सुनाउँछन्, ‘हामी केही वर्षभित्र मुटु ट्रान्सप्लान्ट, मिर्गौला प्रत्यारोपणजस्ता जटिल उपचार गर्ने गरी अघि बढेका छौं। हामी सक्षम छौं र सक्छौं पनि।’

प्रसाईंले मेची अञ्चललाई दक्षिण एसियाकै ‘मेडिकल हब’ बनाउने लक्ष्य रहेको बताए। उनले यसअघि मेचीको परिचय चिया, अलैँची, अदुवाको व्यापारिक केन्द्रका रूपमा रहेकाले अब त्यसैमा मात्र सीमित हुन नदिइने दाबी गरे।

पाँच वर्षअघि नै प्रसाईंले बिर्तामोडमा एमबीबीएस पढाउने उद्देश्यसहित बी एन्ड सी अस्पताल सञ्चालन सुरु गरेका थिए। मापदण्ड पुर्‍याए पनि आफूले टिचिङ अस्पतालको सम्बन्धन नपाएको उनको गुनासो थियो।

यसपटक भने उनले प्रधानमन्त्री ओलीबाट अस्पताल उद्घाटन मात्र गराएनन्, टिचिङ अस्पतालको सम्बन्धन पाउने आश्वासन पनि पाएका छन्। प्रधानमन्त्री ओलीकै निर्देशनमा पछिल्लो साता काठमाडौं विश्वविद्यालय (केयू) को सभाले बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाउने निर्णयसमेत गरिसकेको छ।

‘मैले कसैलाई ठगेर, लुटेर खाएको छैन। दुवै अस्पताल गरी १२ सय करोडभन्दा बढी लगानी भएको छ। त्यसमध्ये ७–८ सय करोड बैंकको ऋण छ,’ उनी भन्छन्, ‘अस्पतालले वार्षिक ५ लाख जनाभन्दा बढी नेपालीलाई सेवा दिइरहेको छ। हाम्रो लगानीमा खुलेका उद्योगले देशलाई वार्षिक ५ अर्ब हाराहारी कर तिरेको छ। ३ हजार नेपालीले रोजगारी पाएका छन्।’

उपमा नै ब्रान्ड
२०७४ फागुनमा भक्तपुरस्थित प्रसाईंकै घरमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पार्टी एकताका लागि तीनबुँदे सहमति भएको थियो।

त्यसपछि दुवै दल एक भएर अहिलेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनेको हो। त्यसबेला प्रसाईंसँगै एउटै टेबुलमा बसेर प्रचण्ड र ओलीले मार्सी चामलको भात खाएका थिए। जसको तस्बिर भाइरल भएको थियो।

बिर्तामोड व्यापार मेला'मा दुई लाख ५२ हजार रुपैयाँको जुम्लाको मार्सी चामल  बिक्री, झापाका दुर्गा प्रसाईंले ब्राण्ड बनाइदिएको विक्रेताको ...

त्यही बेलादेखि प्रसाईंलाई राजनीतिक छायामा व्यक्तिगत, व्यावसायिक फाइदा उठाइरहेको आरोप लागिरहेको हो। उनलाई मार्सी, माफिया र डनजस्ता उपमासमेत दिने गरिएको छ।

प्रसाईंले तिनै उपमालाई ब्रान्डका रूपमा स्थापित गर्ने तयारी गरेका छन्। बुटवलमा रहेको आफ्नो ब्रुअरी उद्योगबाट केही हप्तामा मार्सी बियर, माफिया ह्विस्की र डन इनर्जी ड्रिंक्स बजारमा ल्याउने तयारी गरिएको उनले बताए।

‘छरिएका उस्तै वैचारिक धरातलमा रहेका वामशक्ति एक भए त्यसले देशलाई स्थिरता र समृद्धिको दिशामा लैजान सक्छ भन्ने सोचका साथ मैले दुवै पार्टीलाई एक बनाउन भूमिका खेलेको हुँ,’ प्रसाईंको दाबी छ, ‘त्यसपछि मार्सी, माफिया, डन, दलाललगायत अनेकौं उपमा मेरा नामका अगाडिरपछाडि जोडिए। तर म अलिकति पनि विचलित भइनँ। नकारात्मकताभित्र सकरात्मकता खोज्दै तिनै नामबाट ब्रान्ड सुरु गरेँ।’

प्रचण्डपछि ओलीको छाया
पहिले प्रसाईं प्रचण्डनिकट मानिन्थे। बी एन्ड सी अस्पताल उद्घाटन पनि प्रचण्डबाटै गराएका थिए।

प्रधानमन्त्री ओलीले जब गत पुस ५ गते प्रतिनिधि सभा विघटनको निर्णय गरे, तब नेकपा दुई समूहमा विभाजन भयो। त्यसयता भने प्रसाईं ओली निकट देखिएका छन्। बी एन्ड सी अस्पतालसँगै जोडिएको क्यान्सर अस्पताल ओलीबाट उद्घाटन गराएर उनले त्यसको संकेत दिएका हुन्।

प्रधानमन्त्री ओलीबाट पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन - Everest Dainik -  News from Nepal

प्रसाईंले प्रधानमन्त्री ओलीको धार्मिक आस्थालाई समेत प्रोत्साहन गरे। ओलीले चितवनको ठोरीमा राममन्दिर बनाउन लागेको उल्लेख गर्दै उनले आफूले एक कदम अघि बढेर इलाममा रामजानकी धाम निर्माण गर्न लागेको घोषणा गरेका हुन्।

‘संस्कृति, परम्परा हाम्रो पहिचान हो। उहाँले ठोरीमा राम मन्दिर बनाउन लाग्नुभएको छ। मैले इलाममा भव्य रामजानकी धाम र १०८ फिट अग्लो शिवको मूर्ति बनाउने घोषणा गरेको छु,’ प्रसाईंले भने।

क्यान्सर अस्पताल उद्घाटन क्रममा उनले ओलीलाई बारम्बार ‘हजुरबुबा’ भनेर सम्बोधन गरेका थिए।

नेकपाकै नेताहरू गोकुल बास्कोटा, महेश बस्नेतलगायतले बा भनिरहेका ओलीलाई प्रसाईंले एक कदम अघि बढेर हजुरबा नै भन्न थालेका हुन्।

‘इतिहासमै सबैभन्दा बढी चौतर्फी हमलाको सिकार हुँदा पनि एकरत्ति विचलित नभई आफ्नो अडानमा चट्टानी आत्मविश्वास राख्ने नेता ओली हुनुहुन्छ,’ आफूलाई ओलीसँग दाँज्दै प्रसाईंले भने, ‘उनीजस्तै राजनीतिक आस्था राखेकै कारण नेपालको व्यापारिक क्षेत्रमा सबैभन्दा बढी आक्रमणको सिकार भएको व्यक्ति म आफैं पनि हुँ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .