नेकपा एमालेभित्र अन्तर–संघर्ष तीव्र बनिरहेका बेला आज (शुक्रबार) वरिष्ठ नेता माधवकुमार नेपालको निवास (कोटेश्वर) मा प्रदेश २ का (घर भएका) केन्द्रीय सदस्यको बैठक बस्दै छ।
ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएको भोलिपल्ट कोटेश्वरमा केन्द्रीय सदस्यको २ नम्बर प्रदेशस्तरीय छलफल राख्न लागिएको हो।
दुई दिन (चैत ४ र ५ गते) राष्ट्रिय कार्यकर्ता भेलामा सहभागिता जनाउने क्रममा अहिले काठमाडौंमै रहेका नेकपा एमाले सर्लाही जिल्ला कमिटीका अध्यक्ष रेवती पन्तले अहिले बिहान ११ बजे प्रदेश २ का केन्द्रीय सदस्यको बैठक नेता नेपालको निवासमा बस्न लागेको जानकारी दिए।
‘हाम्रो प्रदेश २ मा एमालेका केन्द्रीय सदस्य १५ जनाजति हुनुहुन्छ,’ शुक्रबार बिहान नेपालखबरसँग जिल्ला अध्यक्ष पन्तले नेपालखबरसँग भने, ‘अब पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।’
सर्वाेच्च अदालतले ऋषि कट्टेलको नेकपालाई सदर र एमाले–माओवादी केन्द्र मिलेर बनेको नेकपालाई बदर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्ष आआफ्नै पुराना पार्टीमा फर्किसकेका छन्।
नेकपा हुँदा प्रचण्ड पक्षमा रहेका माधव नेपाल–झलनाथ खनाल पक्ष र ओली पक्षबीचको विवाद भने अहिले झन् चर्काे बनेको हो। एमाले अध्यक्ष ओलीले पार्टी पुनर्स्थापना हुनासाथ गत फागुन २८ गते आफ्ना पक्षका केन्द्रीय सदस्यलाई मात्र बोालाएर एकैदिन दुइटा बैठक गरी नेपाल–खनाल पक्षका सबै नेताका पद र जिम्मेवारी खोसेपछि विवाद तीव्र बनेको हो।
त्यो निर्णय अवैधानिक भन्दै विरोधमा उत्रिएको नेपाल–खनाल पक्षले हिजो (बिहीबार) मात्र ललितपुरमा २ दिनको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गरेको छ भने १७ बुँदे प्रस्ताव पारित गर्दै २०७५ जेठ २ कै अर्थात् माओवादीसँग एकीकरण हुनुअघिकै अवस्थामा एमाले फर्काउने उद्घोष गरेको छ।

प्रतिक्रिया