नेकपा एमाले विभाजनको संघारमा पुगेका बेला माधवकुमार नेपाल पक्षका नेता विष्णु रिजालले पार्टी फुट्नबाट बचाउन ६ सुझाव प्रस्तुत गरेका छन्।
उनले एमाले स्थापनामा नेता नेपालको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै स्पष्टीकरणपछि कारबाही गरिए पार्टी फुट्ने चेतावनी दिएका छन्।
उनका सुझावको पूर्ण पाठ :
१. आजको नेकपा (एमाले) निर्माणमा माधवकुमार नेपालको योगदान सधैँ अग्रणी र नेतृत्वदायी छ। ०३१ सालमा कोअर्डिनेसन केन्द्रको स्थापना गर्दै ०३५ मा नेकपा (माले) का रुपमा नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने र ०४७ मा नेकपा (एमाले) निर्माण गरेर त्यसको नेतृत्व गर्ने प्रमुख हस्तीका रूपमा उहाँ एमाले धाराको प्रमुख नेताका रूपमा स्थापित हुनुहुन्छ। त्यसैले आज कसैले माधव नेपालबिनाको नेकपा (एमाले) को कल्पना गर्दछ भने त्यो एकीकृत होइन, विभाजित एमाले मात्र हुन्छ।
२. आफ्नो पार्टीका संस्थापक, सहयात्री र अगुवा नेताहरूलाई निष्कासन गरेर र अर्को पार्टीबाट मन्त्रीमा आएकाहरूलाई साथमा लिएर बलियो एमाले बन्छ भनेर कसैले सोच्छ भने त्यसमा भन्नु केही छैन। तर यति कुरा प्रस्ट छ- यसले एमालेलाई गहिरो गरी विभाजित गर्दछ र विभाजन गर्ने नेताहरुको नेतृत्वमा यसको क्षतिपूर्ति गर्न सम्भवै छैन।
३. तत्कालीन पार्टी नेकपाका बेलामा प्रधानमन्त्रीले पार्टीलाई थाहै नदिई प्रतिनिधि सभा विघटन गरेको र सडक आन्दोलनसमेत चलेको बेला भएका घटनाक्रमहरुलाई लिएर नेकपा (एमाले) मा स्पष्टीकरणमार्फत कारबाहीको सिलसिला अघि बढाउनु पार्टी फुटको घोषणा हो। तसर्थ स्पष्टीकरणको जवाफ प्राप्त भएपछि यस प्रकरणलाई एक दुःखद अध्यायका रूपमा यही समाप्त गर्नुपर्छ।
४. नेकपा (एमाले) को एकता बचाउन विधान विपरीतका सम्पूर्ण क्रियाकलापहरू बन्द गर्नुपर्छ। फागुन २३ को सर्वोच्चको फैसलाबमोजिम पुनर्स्थापित नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बस्नुपर्छ र विधानको बाधा अड्काउ फुकाऊ, जिम्मेवारी हेरफेर, कमिटीमा थपघट जस्ता जे जे निर्णय गर्नुपर्ने हो, त्यही बैठकबाट गर्नुपर्छ।
५. अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको नेकपा (एमाले) को सरकारलाई बाँकी दुई वर्ष निरन्तरता दिनका लागि पार्टी एकताबद्ध हुनुपर्छ र अरू पार्टीसँग वार्ता गरेर बहुमत सुनिश्चित गर्नुपर्छ।
६. हरहालतमा नेकपा (एमाले) को एकतालाई बचाउनुपर्छ। यसका लागि नवौं राष्ट्रिय महाधिवेशनबाट पारित नीति, विधान र नेतृत्वलाई आधार बनाएर अघि बढ्नुपर्छ र दसौं राष्ट्रिय महाधिवेशनको तयारीमा लाग्नुपर्छ।

प्रतिक्रिया