नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस संकटमा नरहेको भन्दै कार्यकर्तालाई कमजोर नबन्न आग्रह गरेका छन्।
कांग्रेस नेता नवीन्द्रराज जोशीको १३ औ दिनको पुण्यतिथिका अवसरमा बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलि सभामा बोल्दै सभापति देउवाले पार्टीमा कुनै किसिमको विवाद नरहेको बताए। नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दे सभापति देउवाले पार्टी कहिल्यै पनि संकटमा नरहेको ठोकुवा गरेका हुन्।
उनले पार्टीका नेता कार्यकर्तालाई आफैले आफैलाई कमजोर नबनाउन पनि आग्रह समेत गरे। ‘यहाँ दोहोरी खेल्ने कुरा छैन। नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन। आज पनि छैन र भोलि पनि रहँदैन’, उनले भने, ‘नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ। यसलाई सबैले निभाउँदै गएका छौँ। पार्टी जीत हारले संकटमा हुँदैन। धेरै पटक हामी हारेका छौँ, धेरै पटक जितेका पनि छौँ। त्यसैकारण हामीले डिमोरलाइज हुने काम छैन। आफैले आफैलाई कमजोर गर्ने काम पनि छैन। त्यसैले हाम्रो पार्टी संकटमा छैन।’
सभापति देउवाले नेता नवीन्द्रराज जोशीको निधनले पार्टीले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताए।
आयोजित श्रद्धाञ्जलि सभामा बोल्दै सभापति देउवाले स्वर्गीय जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको बताए। उनले स्वर्गीय नेता जोशीमा पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको र उनको निधनले पार्टीले पार्टी हाक्ने नेता गुमाउनुपरेको बताए।
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय जोशीको असामयिक निधले पार्टीमा अपुरणीय क्षति पुगेको बताए। उनले स्वर्गीय जोशीले थालेका कामलाई सबै मिलेर सम्पन्न गर्नुपर्नेमा पनि जोड दिए।

प्रतिक्रिया