राजनीति


प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, प्रचण्डलाई गरे फोन

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, प्रचण्डलाई गरे फोन

नेपालखबर
बैशाख ३, २०७८ शुक्रबार ८:४३,

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारका लागि सर्वदलीय बैठक बोलाएका छन्।

त्यसका लागि आज (शुक्रबार) ओली आफैंले फोन गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निम्ता दिएका छन्। 

बैठकमा सहभागिताका लागि प्रचण्डसँगै संसदमा प्रतिनिधित्व गरेका राजनीतिक दलका सबै शीर्ष नेतालाई बोलाइएको हो।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले भोलि शनिबार बिहान ११ बजे प्रधानमन्त्री निवासमै सर्वदलीय बैठक राख्ने भएका हुन्।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाकेका हुन्।

प्रतिनिधि सभा पुनःस्थापनापछि प्रधानमन्त्री ओलीले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन्। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा सर्वदलीय बैठक राखेकी थिइन्। 

ललितपुरको कार्यक्रममा प्रचण्डलाई प्रधानमन्त्रीको फोन
आज ललितपुरको कोन्जोसोम गाउँपालिकाको कार्यक्रममा सम्बोधन क्रममा प्रचण्डले धेरै समयपछि आफूलाई प्रधानमन्त्रीको फोन आएको जानकारी गराएका थिए।

प्रचण्डले भने, ‘मलाई थाहा छैन, यो राम्रो हो कि नराम्रो हो, म यहाँ बस्दै गर्दा प्रधानमन्त्री केपी ओलीको फोन आयो मलाई धेरै समयपछि। म एउटा गाउँपालिकाको भवन उद्घाटन गर्दै छु भनें। उहाँको फोन आएपछि मैले यो उद्घाटन गरेपछि तपाईंले के भन्न खोज्नुभएको हो, यो बाटो बनाइदिनुस्, ठूलो काम हुन्छ भन्नेवाला छु।’

त्यसअघि उनले कोन्जोसोम गाउँपालिका आउँदै गर्दा बाटो निकै बिग्रिएको बताएका थिए।

त्यसपछि प्रचण्ड प्रधानमन्त्रीसँग भेट्न भन्दै छोटो समय बोलेर कार्यक्रमबाट बिदा भएका थिए।

प्रधानमन्त्रीले आफूलाई फोन गरेको कुरा प्रचण्डले यहाँ भनेका छन्। भिडिओ हेर्नुहोस्:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad