राजनीति


सर्वदलीय बैठकमा सभामुख सापकोटाविरुद्ध प्रधानमन्त्री ओलीको आक्रोश

सर्वदलीय बैठकमा सभामुख सापकोटाविरुद्ध प्रधानमन्त्री ओलीको आक्रोश

नेपालखबर
बैशाख ४, २०७८ शनिबार ७:३५,

प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको आलोचना गरेका छन्।

आज बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सभामुख सापकोटाले संसदलाई बन्धक बनाएको आरोप लगाएका हुन्।

बैठकमा भाग लिएर बाहिरिएपछि राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री ओलीले सभामुखले सरकारलाई कामै गर्न नदिएको गुनासो गरेको सञ्चारकर्मीसँग बताए। 

‘सभामुख अराजक बन्नुभयो, उहाँले संसदलाई बन्धक बनाएर सरकारलाई कामै गर्न दिनुभएन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै डा. लोहनीले भने, ‘यसको निकास कसरी खोज्ने भनेर दलहरूसँग राय माग्नुभयो। सर्वदलीय बैठकमा उहाँले सभामुखप्रति आक्रोश पोख्नुभयो।’

उनका अनुसार बैठकमा ओलीले कोरोनाको दोस्रो लहरविरुद्ध कसरी लड्ने भन्ने सुझाव पनि मागेका थिए।

आफूले राजनीतिक निकास खोजेर कोरोना नियन्त्रणलगायत महत्त्वपूर्ण काममा लाग्न सुझाव दिएको डा. लोहनीले बताए। 

प्रचण्ड र नेपालद्वारा बैठक बहिष्कार, डा. भट्टराई र यादवलाई बोलाइएन

बैठकमा सहभागिताका लागि प्रधानमन्त्री आफैंले फोन गरेर बोलाए पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अस्वीकार गरे भने एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालले पनि बैठक बहिष्कार गरेका छन्।

यो पनि : प्रचण्डलाई प्रधानमन्त्रीको फोन : ‘सर्वदलीय बैठकका लागि बोलाइएको होइन, उहाँ बालुवाटार जानुहुन्न’

बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र प्रमुख सचेतक बालकृष्ण खाण सहभागी भएका थिए भने जनता समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर, नेताहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला गएका थिए।

तर जसपकै शीर्ष नेताहरू डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने बैठकमा सहभागी भएनन्।

डा. भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले ‘सर्वदलीय’ भनिएको बैठकमा जसपालाई कुनै आधिकारिक निम्तो नआएको दाबी गरे।

उनले भने, ‘व्यक्तिगत रूपमा कसैलाई आएको र गएको भए त्यो उसको निजी मामिला र विचार हो।’

बैठकमा राप्रपाबाट डा. प्रकाशचन्द्र लोहनी सहभागी भएका थिए भने राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र नेमकिपाबाट प्रेम सुवाल र सुनील प्रजापति सहभागी भएका थिए।

सरकारका तर्फबाट प्रधानमन्त्रीसहित अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका सल्लाहकारहरू सहभागी भएका थिए।

यो पनि : ओलीको बैठक बहिष्कार गरेका प्रचण्ड–नेपालबीच छलफल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad