माधव नेपाल समूहका २१ जना एमाले सांसदहरुले प्रतिनिधि सभा विघटनविरुद्ध अदालतमा रिट निवेदन दिनका लागि हस्ताक्षर गरेका छन्।
प्रतिनिधि सभाको स्पष्ट बहुमतभन्दा बढी १ सय ४९ सांसदहरुको हस्ताक्षर बुझाएका शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नबनाई संसद विघटन गरेको विरोधमा अदालत जानका लागि उनीहरुले सो हस्ताक्षर संकलन गरेका हुन्।
त्यसका लागि नेपाल समूहका २१ जना एमाले सांसदहरुले हस्ताक्षर गरिसकेका छन् भने थप केहिको हस्ताक्षर आउने क्रम जारी रहेको सो समूहका सांसद जीवनराम श्रेष्ठले बताए।
त्यसका लागि उनीहरु बानेश्वरस्थित संसद भवनमा जम्मा भएका हुन्।
हस्ताक्षर गर्नेमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, कलिला खातुन, रामकुमारी झाँक्री, पुष्पा कर्ण कायस्थ, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार र पवित्रा निरौला छन्।
एक सांसदका अनुसार कोरोना संक्रमित भएका मेटमणि चौधरीले वारेसमार्फत् पठाए पनि नेपाली कागजमा नभएका कारण फेरि पठाउन भनिएको छ भने नारायण खतिवडा नुवाकोटबाट आउने क्रममा छन्।
सो समूहमा पहिलेदेखि सक्रिय सांसद गणेश पहाडी र दिपकप्रकाश भट्टलगायत केहि सांसदको हस्ताक्षर हुन बाँकी छ।
जेठ ७ गते शेरबहादुर देउवाको पक्षमा १ सय ४९ सांसदको हस्ताक्षर बुझाउँदा नेपाल समूहका २६ जना एमाले सांसदको हस्ताक्षर पनि बुझाइएको थियो।
संसद भवनमा भेटिएका एक सांसदले अब हस्ताक्षर गर्नेको संख्या २६ भन्दा बढी हुने दाबी गरे।
यो पनिः
नयाँ पार्टीबारे थाहा छैन, संसद विघटनको विरुद्धमा छु– घनश्याम भूसाल

प्रतिक्रिया