नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि त्यसको विरोधमा उत्रिन नागरिक समाज, बौद्धिक समूहलगायतलाई आह्वान गरेको छ।
बुधबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सरकारको कदमविरुद्ध उत्रिन सबैलाई आह्वान गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।
यद्यपि कोरोनाको कारण अहिले सडकमै उत्रिएर विरोध भने गर्ने अवस्था नरहेको बैठकको निष्कर्ष छ।
बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध अदालतमा रिट दायर गरिसकेको अवस्थामा अन्य राजनीतिक गतिविधि कसरी गर्ने भन्नेबारे छलफल भएको सहमहामन्त्री महतले नेपालखबरलाई बताए।
‘अदालतमा कानुनी लडाइँ सुरु भएको छ। अब राजनीतिक लडाइँ कसरी गर्ने भन्नेबारे छलफल भयो’, महतले भने, ‘अहिले कोरोनाका कारण सडकमा जाने अवस्था छैन। आम नागरिक र नागरिक समाजलाई उक्त कदमको विरोध गर्न आह्वान गर्छौँ।’
बैठक कोरोनाको विषयमा समेत केन्द्रित रहेको उनले बताए। १५ बुँदे ज्ञापनपत्र सरकारलाई पेश गरे पनि सरकार गम्भीर नबनेको कांग्रेसको ठहर छ।
‘सरकार कोरोना नियन्त्रणमा गम्भीर छैन’, उनले भने, ‘जनतालाई आतंकित पार्ने काम भएको छ। कोरोनाको आडमा जनअधिकारलाई कुण्ठित गर्ने काम भएको छ।’
कांग्रेसले निषेधाज्ञालाई मजदुर, सर्वसाधारणलगायतलाई समस्या नपर्ने गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
विदेशी सहयोग पनि ओली सरकारले दुरुपयोग गरेर पार्टीकरण गर्न खोजेको बैठकले निष्कर्ष निकालेको छ। त्यस्ता कदमलाई रोक बैठकले भनेको छ।

प्रतिक्रिया