राजनीति


विदेशमा नेकपाको ‘भूमिगत’ संगठन

विदेशमा नेकपाको ‘भूमिगत’ संगठन

मणि दाहाल
भदौ १६, २०७६ सोमबार १३:१,

 नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले विदेशमा रहेको प्रवासी समर्थकहरुलाई छ क्षेत्रमा विभाजित गरेर संगठित गर्ने भएको छ। त्यसरी संगठित हुने कमिटीहरु ‘भूमिगत’ हैसियतमा रहनेछन्।

हङकङ, मलेसिया, कोरिया, सिंगापुर र जापानलाई पूर्वी एशिया, अस्ट्रेलिया त्यस आसपासको क्षेत्रलाई ओसियना, खाडीका देशहरुलाई मध्यपूर्व क्षेत्रमा विभाजन गरिएको छ। यो बाहेक युरोप, अमेरिका र भारतलाई अलग–अलग क्षेत्रमा विभाजित गरेर प्रवासमा संगठन विस्तार गरिने भएको छ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वकमा गठित प्रवास कमिटी कार्यदलको सुझाव अनुसार ६ क्षेत्रमा विभाजन गरी संगठन विस्तार गर्न लागिएको हो।

‘प्रवासको संगठनबारेमा गठन गरिएको कार्यदलले पूरै प्रवासलाई गैर भौगोलिक प्रदेश कमिटी बनाउने र ६ क्षेत्रमा विभाजन गरेर संगठन निर्माण गर्ने सुझाव दिएको थियो,’ कार्यकालका सदस्य रहेका युवराज चौगालाईंले नेपालखबरसँग भने, ‘एउटा खुला संगठन हुनेछ भने पार्टी कमिटी भुमिगत हुनेछन्।’

कार्यदलमा कार्यदलमा श्रेष्ठ, चौगालाईको अतिरिक्त विन्दा पाण्डे र युवराज कार्की सदस्य रहेका थिए।

कार्यदलको सिफारिशअनुसार एक जना इन्चार्ज र क्षेत्रअनुसार एक–एक सह–इन्चार्ज तोक्ने तयारी भइरहेको छ। पाण्डेलाई संयोजक, चौलागाई र कार्कीसहित केन्द्रीय सदस्यलाई सह संयोजक तोक्ने तयारी भइरहेको छ। केन्द्रीय सदस्य रहेका उनीहरुलाई हालसम्म कुनै जिम्मेवारी दिइएको छैन।

वैदेशिक रोजगारीमा गाएका, उतै स्थायी बसोबास गर्ने पार्टी समर्थक नेपालीलाई एमाले र माओवादीले छुट्टाछुट्टै संगठित गर्दै आएका थिए। दुवै दलका २६ देशहरुमा पार्टी संगठन रहेका थिए। दलहरुका लागि प्रवासको संगठन आम्दानी स्रोत समेत हो। गत संसदीय चुनावमा तत्कालीन एमालेले प्रवास कमिटीलाई चन्दा प्रमुख स्रोतको रुपमा परिचालन गरेको थियो। विदेशमा एमालेका खुला मोर्चाका रुपमा प्रवासी नेपाली मञ्च र माओवादीका जनप्रगतिशील मञ्च रहेका थिए। रोजगारी, अध्ययन तथा स्थायी बासोबासको सिलसिलामा करिब एक करोड नेपाली देशबाहिर छन्।

नेकपाले चार सय संगठित सदस्य रहेको देशमा राष्ट्रिय कमिटी गठन गर्ने तयारी गरेको छ। त्यस्तो राष्ट्रिय कमिटीको हैसियत पार्टीमा जिल्ला कमिटी बराबर हुनेछ।

अहिलेसम्ममा हङकङ, कोरिया, मलेसिया,जापान, अस्ट्रेलिया, कतार, कुवेत, युएई, साउदी अरब, बेलायत, बेल्जियम, स्पेन, पोर्चुगल, जर्मनी, अमेरिकासहितका देशका कमिटीले जिल्ला कमिटीको मान्यता पाएका छन्। प्रवास हेर्ने इन्चार्ज तोकिएसँगै यी कमिटीहरु बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad