राजनीति


वामदेवलाई किन बोलाइयो सिंगापुर?

वामदेवलाई किन बोलाइयो सिंगापुर?

मणि दाहाल
भदौ १८, २०७६ बुधबार १८:१२,

एक दिनको फरक पारेर नेकपाका सचिवालय सदस्य तथा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर पुगेका छन्।

प्रधानमन्त्रीकोे सचिवालयले दिएको सूचनाअनुसार ओलीको उपचार राम्रोसँग भइरहेको छ र शुक्रबार स्वदेश फर्किने तय भएको छ।

मंगलबार उपाध्यक्ष गौतम र महासचिव पौडेल सँगै सिंगापुर जाने तय भएपनि पौडेल मात्र उडे। तर मंगलबार आफ्नो सिंगापुर भ्रमण रद्द गरेका गौतम बुधबार अचानक सिंगापुर उडेपछि धेरैको यसप्रति चासो बढेको छ।

प्रधानमन्त्री ओलीले फोन गरेर बोलाएपछि गौतम सिंगापुर पुगेको नेकपाका स्रोतहरूले जनाएका छन्।

‘देशभित्र पार्टीको मुख्य नेतृत्वमा नहुँदा पनि कतै जाँदा ओली ठूलै तामझाम गर्ने, विमानस्थलबाटै जयजयकार गराउने नेता हुन्। शक्ति देखाउन रुचाउने स्वाभावका कारण अहिले सिंगापुरमा पुगेर पनि त्यही प्रदर्शन गर्न खोजेका हुन्’, पूर्वएमालेका नेता तथा नेकपा स्थायी कमिटीका एक जना सदस्य भन्छन्, ‘अहिले ओलीले पार्टीभित्रका शक्तिशाली नेताहरु आफूसँग रहेको र शक्तिशाली भएको सन्देश दिन खोजेका छन्।’

नेकपा भित्रको पछिल्लो समिकरणमा ओली, गौतम र पौडेल एकै स्थानमा आइपुगेका छन्। संसदीय चुनावमा भएको पराजयपछि ओलीसँग गौतमको दूरी बढेको थियो। तर पछिल्लो पटक अध्यक्ष ओलीले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव सचिवालयमा राखेपछि त्यो दूरी पनि निकै छोटिएको छ।

ओलीको सो प्रस्ताव सचिवालयले सर्वसम्मत रुपमा स्वीकार गर्दै स्थायी कमिटीको बैठकमा लैजाने भएको छ।

नेकपाका गौतम निकट केन्द्रीय सदस्य बलराम बाँस्कोटा भने गौतमको सिंगापुर यात्रामा कुनै राजनीति सन्देश नरहेको बताउँछन्।

‘स्वास्थ्य हुनु भएका अध्यक्ष ओलीलाई लिन गौतम र पौडेल सिंगापुर जानु भएको हो’, बाँस्कोटाले भने, ‘अध्यक्षको स्वास्थ्य राम्रो भयो। सबैका लागि यो खुशीको कुरा हो र त्यही खुशी व्यक्त गर्न गौतम सिंगापुर जानु भएको हो।

बाँस्कोटाले गौतम कुनै राजनीतिक सन्देश बिना ओलीले पनि नबोलाएको अवस्थामा ‘कर्तव्य बोध’ ले गर्दा सिंगापुर गएको बताए।

१२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली एक महिनाभित्र दोस्रो पटक उपचारका लागि सिंगापुर पुगेका हन्।

सिंगापुरको सरकारी नेसनल युनिभर्सिटी अस्पतालमा ओलीको मृगौलाको प्लाजा फेरेसिस गरिएको छ। जसले मृगौला प्रत्यारोपढा को काम गर्ने क्षमता बढाउने बताइएको छ।

छैठौ चरणको प्लाजा फेरेसिस बुधबार सकिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साउनमा ओलीले दस दिन सिंगापुर बसेर उपचार गराएका थिए । यसअघि पनि पटक पटक ओलीका विदेशमा उपचार भैसकेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad