सन् १९४९ मा जब माओत्से तुङको कम्युनिस्ट पार्टीले च्याङ काई सेकको नेतृत्वमा रहेको राष्ट्रवादी काउमिनताङ पार्टीलाई पराजित गरेर सत्ता हासिल गर्यो, त्यसबेला चीन ज्यादै गरिब र एक्लो थियो।
तर, त्यही गरिब राष्ट्रलाई विश्वको सबैभन्दा ठूलो आर्थिक शक्तिराष्ट्र बन्न ७० वर्षभन्दा कम समय लाग्यो। यसै हप्ताको मंगलबार चीनले कम्युनिस्ट शासन स्थापना भएको ७० औं वार्षिकोत्सव मनायो। तियनमेन स्क्वायरमा आर्थिक र रणनीतिक शक्ति प्रदर्शन गर्यो।
के गरिब देश आर्थिक रुपमा शक्तिशाली बनिसक्दा पहिलेको चीन र अहिलेको चीन उस्तै छ? कम्युनिस्ट पार्टीका संस्थापक माओ पूँजीवादको चर्को आलोचक थिए। के अहिलेको चीनले उनको जस्तै सपना देखेको छ?

जनगणतन्त्र चीनका संस्थापक माओत्से तुङले अक्टुबर १ सन् १९४९ मा तिएनमेन स्क्वाएरमा चिनियाँ गणराज्य गठनको समयमा भनेका थिए,‘चिनियाँ जनवादी गणराज्य र केन्द्रीय जनवादी सरकारको आज स्थापना भएको छ। हाम्रो सरकार पूरा देशका लागि एकमात्र वैध सरकार हो, जसले चिनियाँ गणराज्यको प्रतिनिधित्व गर्नेछ।’
माओले आफ्नो भाषणमा ‘समानता’ र ‘लाभमा बराबर अधिकार’ दुई विषयलाई जोडका साथ उठाउँदै भनेका थिए,‘हामी समानता, लाभमा सबैको बराबरी अधिकार र विदेशी सरकारहरुको क्षेत्रीय सार्वभौमिकताको सम्मान गर्ने सिद्धान्त अनुशरण गर्न चाहन्छौं।’
माओको सपनाः समाजवादी चीन
मंगलबार ७० औं वार्षिकोत्सव समारोहका क्रममा राष्ट्रपति सी चिनफिङले पनि एकता, विकास र मजबुतीमा जोड दिँदै भने,‘आज समाजवादी चीन विश्व सामु खडा छ।’
तर, प्रश्न यहाँ खडा हुन्छ, के चीन साँच्चै समाजवादी हो? अथवा के आर्थिक रुपमा शक्तिशाली बनिसकेको चीनले माओको सपना पूरा गर्न सकेको छ?
चीन मामिलाका जानकार तथा दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयकी प्राध्यापक अलका आचार्य भन्छिन्, ‘चीनमा कम्युनिजमको भाव अंशमात्र बाँकी छ।’
‘चीन एक विषयमा कम्युनिस्ट हो किनभने त्यस देशको शासन कम्युनिस्ट पार्टीको हातमा छ। यसरी उसले साम्यवादको खोल ओढेको छ। तर, गहिराइमा गएर विचारधारा खोतल्ने हो भने त्यो चीनमा निकै कम देखिन्छ। कम्युनिजमको केही भावमात्र बाँकी रहेको छ’, उनी भन्छिन्,‘माओ चीनलाई विश्वसामु शक्तिशाली, धनी तथा शक्तिराष्ट्रको रुपमा उभ्याउन चाहान्थे। यो सपना त पुरा भयो तर पछिल्लो ४० वर्षमा चीनले जुन नीति अवलम्ब गरेको छ त्यो माओको र उनका क्रान्तिकारी सहपाठीको समाजवाद सपनाभन्दा भिन्न छ।’

‘माओको सपना समतामूलक देशको अवधारणा थियो जहाँ सबै मानिस बराबर हुन्छन्। जहाँ माथिल्लो वर्ग तल्लो वर्गाको भाव हुँदैन। माओ चीनमा पूजीवादको न्यूनतम भूमिका देखाउन चाहन्थे। यो सोचिएको थियो कि मजदुरले देशको संरचना सम्हाल्नेछन्। किसान र मजदुर कम्युनिस्ट पार्टीको आधार थियो’ आचार्य भन्छिन्,‘आज उनीहरु नै समस्याको मारमा परेका छन्। चीनमा न्यु मिडिल क्लास अर्थात् नयाँ मध्यम वर्गको जन्म भएको छ जोसँग पैसा छ र उसले उपभोक्तावादमा विश्वास राख्छ। यस्ता विषय माओको विचारसँग मेल खाँदैन।’
पूँजीवादको विरोधदेखि वर्तमानसम्म
माओ पूँजीवादका कट्टर विरोधी थिए। तर, बितेको ७० वर्षमा चीन पूँजीवादकै बाटोमा हिँडेर आर्थिक सम्पन्न राष्ट्र बनेको छ।
चीनको आर्थिक विकास र समृद्धि देखेर विश्व नै चकित् छ। गतवर्ष अक्टोबर महिनामा जब कम्युनिस्ट पार्टीको अधिवेशन भएको थियो त्यहाँ राष्ट्रपति सी चिनफिङको विचारधारालाई संविधानमा समेटियो। उनलाई कम्युनिस्ट पार्टीका संस्थापक माओत्से तुङ बराबरको दर्जा दिइयो।
त्यसै क्रममा सीले सम्बोधन गर्दै भनेका थिए,‘यो नयाँ चरण हाम्रो लक्ष्यतिर बढ्ने दिशामा अघिल्ला सफलताहरु कायम राख्ने अवधि हुनेछ। यो चरण चिनियाँ विशेषताको समाजवादलाई सफल बनाउनका लागि ऐतिहासिक प्रयास हो। खुलापनले समृद्धिको ढोका खोल्दछ तर एक्लोपनले तपाइँ पछाडि पर्नुहुन्छ। चीनले आफ्नो ढोका बन्द गर्दैन बरु पहिलेको भन्दा झन् खुला बनाउँछ।’

चीनको वर्तमान अर्थव्यवस्था यही ‘चिनियाँ विशेषता भएको समाजवाद’मा आधारित छ। जसलाई सी चिनफिङको विचार भनेर चिन्ने गरिन्छ।
तर यसको मतलब के हुन्छ र यो कति सफल भएको छ? यसबारेमा जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक स्वर्ण सिंंह भन्छन्,‘चीन आज आफ्नो विशेषता भएको समाजवादी अर्थतन्त्रबाट विश्वमा चिनिन चाहन्छ। यो व्यवस्थामा बजारमा सीमित स्वतन्त्रता हुन्छ, सरकारको कडा नियन्त्रण हुन्छ। यसलाई नौलो ढाँचा तर सफल संरचनाको रुपमा औल्याइएको छ। रुसको केन्द्रीय योजना होस् या पश्चिमा देशको खुला बजार दुवैलाई यतिबेला झट्का लागेको छ। तर, चीनको आर्थिक वृद्धिदर टिकाउ रहँदै आएको छ। ५० को दशकमा माओको यही चाहना थियो। यो भन्न मुस्किल छ तर चीनको आर्थिक विकासलाई नकार्न सकिँदैन।’
देङ साओपिंग नीतिको अनुशरण
जुन समय कम्युनिस्ट पार्टी चिनियाँ सत्तामा आएको थियो, त्यससमय चीन ज्यादै गरिब थियो। चीनसँग न त कुनै देशसँग कुटनीतिक सम्बन्ध न त व्यापारिक साझेदार नै थियो।
माओत्से तुङले सन् १९७६ मा मृत्यु अगाडि २७ वर्ष चीनको नेतृत्व गरे। उनले देशको आत्मनिर्धरतामा जोड दिए। उनले सन् १९५० को दशकमा ‘ग्रेट लिप फरवार्ड’मार्फत् चीनको कृषि आधारित अर्थव्यवस्थालाई औद्योगीकरण गर्ने कोशिस गरे। त्यसपछि कम्युनिस्ट पार्टीमा आफ्ना प्रतिद्वन्दीबाट मुक्ति पाउन सन् १९६६ देखि १९७६ सम्म साँस्कृतिक क्रान्ति चलाए।

माओको निधनपश्चात सत्तामा देङ साओपिङ आए। उनले चीनमा सुधारवादी कदम उठाएर चीनको अर्थव्यवस्थालाई नयाँ रुप दिने कोशिस गरे।
प्राध्यापक अलका आचार्यका अनुसार चीनमा माओदेखि सीसम्मको यात्रामा देङ साओपिङको उल्लेखनीय भूमिका छ। उनी भन्छिन्,‘माओले चीनलाई स्वतन्त्रता प्रदान गरे देङले चीनलाई धनी बनाए। देङले सत्ता सम्हाल्ने बित्तिकै देशका समृद्धि र विकास ल्याएर चीनको नक्सा परिवर्तन गराए। उनले ल्याएका सुधार माओको राजनीतिक आर्थिक विकासको सिद्धान्तभन्दा अलग थियो। चीनको बजार विश्वमा बढ्दै गयो। देङ भन्थे, ‘सोसियलिजम् क्यान नट बि बिउल्ट इन पोभर्टी’ अर्थात् ‘गरिबीको आधारमा समाजवादी व्यवस्था बन्न सक्दैन।’
माओको जोड समानतावादको साथसाथै समतावादी र आत्मनिर्भरतामा थियो। तर देङले माओको विचार परिवर्तन गदै केबल आर्थिक वृद्धिदरलाई जोड दिए।
उनको विचार अनुसार एकपटक राष्ट्र आर्थिक रुपमा समृद्ध बने अन्य विषय सम्हाल्न सकिन्छ। यहाँनेर प्राध्यापक अलका आचार्य भन्छिन्, ‘अब अवस्था यो छ कि चीन सबैभन्दा विवादास्पद समाज बनेको छ र यसका नीतिहरुले एकपक्षीय वृद्धिमा मात्र नभएर वातावरणलाई पनि असर गरिरहेको छ।’
चीन विश्वकै कारखाना
आर्थिक नीतिको जुन ढाँचा देङ साओपिङले खडा गरे, पछि त्यही आधारमा चीनमा नीतिहरु बन्न थाले। देङको नेतृत्वमा किसानलाई आफ्नै जमिनमा खेती गर्न सुविधा दिइयो जसले खानपिनको संकट कम भएर सामान्य मानिसको जीवनस्तरमा सुधार आयो।
जब सन् १९७९ मा अमेरिका र चीनबीच कुटनीतिक सम्बन्ध स्थापित भयो विदेशी लगानीको बाटो खुल्यो। सस्तो मजदुर र सस्तो भूमिको फाइदा उठाउन विदेशी लगानी निकै भित्रियो।
सन् २००१ मा चीन विश्व व्यापार संगठनमा आवद्ध भएपछि उसको आर्थिक वृद्धिदर झन् रफ्तारमा बढ्यो। चाँडै चिनियाँ सामग्री विश्वभर उपलब्ध हुन थाल्यो। चीन यसरी विश्वलाई चाहिने सामग्री बनाउने कारखाना बन्यो।

प्राध्यापक स्वर्ण सिंहका अनुसार चीनले साम्यवादको नयाँ परिभाषा दिएको छ। उनी भन्छन्,‘माक्र्सको दर्शनअनुसार मजदुरको क्रान्ति आफैं आउने थियो। उनको विचार थियो कि पूँजी सीमित मानिसको कब्जामा हुनेछ जहाँ धेरै मानिस कमजोर हुनेछन् र क्रान्ति हुन्छ। तर, यस्तो भएन। त्यसैले सोभियत संघ गठनको समयमा लेनिनले पार्टी बनाउन पर्यो। जब माओले चीनमा क्रान्ति गरे त्यतिबेला यहाँ पुँजीवाद थिएन। त्यहाँ किसान थिए। त्यसैले चीनले साम्यवादको नयाँ परिभाषा दियो। आज पूँजीवादीलाई पनि साम्यवादमा सम्मिलित गर्न थालिएको छ।’
प्रोफेसर सिंह भन्छन्,‘माओको सोच थियो मजदुरलाई प्राथमिकता दिने। त्यस सोचबाट चीन अब ठूलो उद्यमशीलतालाई उत्सव मनाउने बाटोतर्फ अगाडि बढेको छ। यद्यपि चीन आर्थिक वृद्धिदरलाई रफ्तारमा लैजान सफल भएको छ।’
सुधारको दोस्रो पक्ष
पछिल्लो ४० वर्षमा विदेशी लगानी बढाउन र आर्थिक व्यापारको नयाँ बाटो खोज्न चीनले आफ्नो नीतिमा कयौं सुधार ल्याएको छ। यसरी चीनले आफ्नो देशबाट गरिबी हटाउन सफल बन्यो।
तर, यो तीव्र गतिमा प्रगति गरिरहेको देशको एकमात्र पाटो हो। अचानक आएको समृद्धिले असमानतामा बढोत्तरी ल्यायो। ‘खुला बजारका कारण चीनमा जुन आर्थिक वृद्धिको इन्जेक्सन लागेको छ त्यसले त्यहाँ असमानता बढेको छ’, प्राध्यापक सिंहले भने, ‘चीनलाई लाग्छ सबै समस्याको समाधार आर्थिक विकासबाट हुन्छ तर यो सोचलाई पूर्ण रुपमा ठिक छ भन्न मिल्दैन।’
‘जो सशक्तिकरणबाट लाभान्वित छ, ऊ अधिकारको लागि जागरुक हुन्छ र आफ्ना भनाइ राख्न चाहन्छ। चीनलाई लाग्छ उसले हङकङमा चलिरहेको प्रदर्शनलाई आर्थिक समृद्धिले हटाउन सक्छ। ७० औं वार्षिकोत्सवको अवसरमा सी चिनफिङले आफ्नो भाषणमा पनि यही भने कि देशका जनतालाई समृद्ध बनाउनेछौं। मकाउ र हङकङमा उनले समृद्धिको साथै स्थिरता ल्याउने बताए’, सिंह भन्छन्, ‘चीनलाई लाग्छ समृद्धि आउने बित्तिकै नागरिकको समस्या र चिन्ता समाप्त हुन्छ। तर, अन्य देश यस्तो मान्दैनन्। पश्चिमा देशको अवधारणा अनुसार मानिसको चाहना उसको आर्थिक पाटोभन्दा भिन्न छ। मानिसको चाहना आर्थिक समानताभन्दा माथि छ जुन अभिव्यक्तिको स्वतन्त्रता तथा अन्य अधिकारसँग जोडिएको छ। पश्चिमा देशहरु चीनले आर्थिक प्रगति गरेर सबै कुरा सुधार गर्ने अवधारणामा विश्वास गर्दैनन्।
राष्ट्रवादको सहारा
प्राध्यापक अलका आचार्यका अनुसार आर्थिक समृद्धिको साथमा देखिएको मानिसको असन्तुष्टिले चीनको वर्तमान नेतृत्वमा कयौं चुनौती खडा गरिदिएको छ।
सरकारले भने यस्ता समस्यासँग जुध्न माओको नाम र राष्ट्रवादको सहारा लिएको देखिन्छ।
यो मंगलबार सी चिनफिङले दिएको भाषणबाट पनि स्पष्ट हुन्थ्यो। अलका आचार्य उनी भन्छिन्,‘सी देशलाई अगाडि बढाउन राष्ट्रवादको सहारा लिइरहेका छन्। उनलाई थाहा छ समाजमा विचलन बढेको छ, यस्तोमा मानिसहरु निराश छन्। यस्तोमा सी आफूलाई माओ बराबरको नेताको रुपमा स्थापित गर्न कोशिस गरिरहेका छन्। उनी आप्mना भनाइ राख्दा माओको नाम लिएर समर्थन जुटाउन कोशिस गरिरहन्छन्।’
सीमित स्वतन्त्र बजारको बाबजुद चीनले आर्थिक रुपमा उल्लेखनीय प्रगति गरेको छ। चीन विश्वको लागि उदाहरण हो। देङ साओपिङको आर्थिक वृद्धिदरमा आधारित रणनीतिलाई हरेक नेताले आफ्नो मार्गनिर्देशन मानेका छन्। यसमा उनीहरु सफल पनि भएका छन्।
यसरी शक्तिशाली र आत्मनिर्भर चीनका माओत्सेतुङको सपना पूरा भएको त देखिन्छ तर त्यसमा समानता र लाभमा बराबर अधिकारको दृष्टिकोण देखिएको छैन। जुन अवधारणा माओले ल्याएका थिए त्यो सिद्धान्तमा देखिए पनि व्यवहारमा पाउन सकिएको छैन।
बीबीसी हिन्दीबाट
Shares

प्रतिक्रिया