ad ad

राजनीति


‘एमालेको भूमिका सरकारको जस्तो, सकारको भूमिका प्रतिपक्ष जस्तो’

‘एमालेको भूमिका सरकारको जस्तो, सकारको भूमिका प्रतिपक्ष जस्तो’

सुनिता विष्ट
माघ ३, २०८० बुधबार ११:५, हेटौँडा

नेकपा (एमाले ) बागमती प्रदेश संसदीय दलको बैठकमा प्रदेश सरकारका गलत क्रियाकलाविरुद्ध एमाले सशक्त उभिनुपर्ने आवाज उठेको छ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको अध्यक्षतामा हेटौंडामा बसेको बैठकमा अधिकांश सदस्यले सरकारप्रति प्रतिपक्षको व्यबहार आवश्यक भन्दा नरम र लचिलो भएकोले सरकारले पेलेर अघि बढ्ने नीति लिएको बताएका बताएका छन्।
 

एमालेका सबैजसो प्रदेशसभा सदस्यहरुले प्रतिपक्ष सरकार जस्तो लचिलो र सरकार चाहिँ प्रतिपक्ष जस्तो कडा हुँदै गएको बताएका छन्। बैठकमा प्रदेशसभा सदस्य तथा  एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जनताको आवश्यकता परिपूर्ति गर्ने र समानुपातिक तथा समतामूलक विकासका लागि एमालेले सशक्त प्रतिपक्षको भूमिका खेल्नुपर्नेमा जोड दिए।

एमालेका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सभा सदस्य भारती पाठकले सरकारका केही मन्त्रीले विकास बजेट दिनुलाई आफ्नो ढुकुटीबाट दान दिएको रूपमा व्यबहार गर्न थालेको बताइन्। उनले सरकारको दम्भ र स्वेच्छाचारीतामा मलजल पुग्ने काम नगर्न नेतृत्वलाई खबरदारी गरिन्।

यस्तै, संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले सरकारले आफूहरूको मागको गलत ब्याख्या गरेको बताएका छन्। संसदीय समितिको पदाधिकारी टुङ्याइनु पर्ने एमालेको मागलाई सरकारको एक मन्त्रीले एमालेले सबै समितिको सभापति माग्यो भनेर हल्ला गर्दै हिडेको पाइएको उनको भनाई थियो।

‘हामीले समानुपातिक र समावेशी विकास हुनुपर्ने र त्यसका लागि बजेट पुस्तकमा नपारिएका तर आमनागरिकका सवालमा गर्नै पर्ने योजनाको विवरण पेश गर्यौं,’ उनले भने,  ‘सरकारले त्यो कार्यान्वयन गर्ने लिखित सम्झौता पनि ग¥यो , तर त्यो कार्यान्वयन गर्नुको साटो एमालेले पैसाको कुरा नमिलेर संसद चल्न दिएन भन्ने जस्ता हल्ला चलाएको छ।’

एमाले संसदीय दलका नेता जगन्नथा थपलियाले हाल सरकार प्रतिपक्षीको माग प्रति केही लचिलो देखिए पनि स्वेच्छाचारी गतिविधि गर्न नछाडेकाले  विश्वास गर्न नसकिने बताए। 

उनले एमाले जनताको पार्टी भएकोले जनताका पक्षमा डटेर लाग्ने दाबी गरे। आफ्ना दलका प्रदेशसभा   सदस्यलाई प्रदेश सभाको आगामी बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिदै नेता थपलियाले परिस्थिति अनुसार चल्न पनि आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .