ad ad

राजनीति


बल्लबल्ल पार्टीले पत्याएपछि ७३ वर्षको उमेरमा सांसद बनेकी विष्णुदेवी

‘विष्णु दिदीको त यो अवस्था छ, के राजनीतिमा लाग्नु भन्ने गर्थे!’
बल्लबल्ल पार्टीले पत्याएपछि ७३ वर्षको उमेरमा सांसद बनेकी विष्णुदेवी

सुनिता विष्ट
माघ १२, २०८० शुक्रबार ८:३३, हेटौँडा

बिहीबार सम्पन्न निर्वाचनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित महिला क्लस्टरका ७ जनामध्ये सबैभन्दा पाको हुन्- बागमती प्रदेशबाट निर्वाचित विष्णुदेवी पुडासैनी।

सत्ता गठबन्धनका तर्फबाट महिला क्लस्टरकी उम्मेदवार नेपाली कांग्रेसकी पुडासैनी विजयी भइन्। उनी ६ हजार ६२६ मतभारसहित राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् । प्रदेशसभातर्फ ६४ र स्थानीय तहतर्फ १७० मत उनका पक्षमा आए। 

झण्डै पाँच दशक सक्रिय राजनीतिमा बिताएकी पुडासैनीको यो पहिलो संसदीय यात्रा हो। काठमाडाैँकी बासिन्दा पुडासैनीको यो जित नै जीवनको पहिलो राजनीतिक जित बनेको हो। 

७३ वर्ष लागेकी पुडासैनी २६ वर्षको उमेरदेखि निरन्तर राजनीतिमा छिन्। उनी २०६४ सालमै सांसद बन्न चाहेकी थिइन्। तर उनलाई नेपाली कांग्रेसका शीर्ष नेताले पत्याएनन्।

प्रायः निर्वाचनमा महिलालाई प्रतिस्पर्धी बनाउन नचाहने राजनीतिक दलको रोगको सिकार बनिरहेकी थिइन् उनी। उनले आँट नगरेकी होइनन्, तर पार्टीले उनलाई यसअघि कहिले पत्याएन। 

२०३३ सालमा पद्मकन्या क्याम्पसमा पढ्दै गर्दा कांग्रेसको विद्यार्थी स‌ंगठन नेविसंघमा आबद्ध भइन्। सोही बेलादेखि कांग्रेस राजनीति सुरु गरेकी उनलाई पञ्चायत आउनुअघि गाउँ फर्क अभियानका क्रममा पार्टीले काठमाडाैँको तत्कालीन भद्रबास गाविस वडा नम्बर ९ को अध्यक्ष बनाइदियो। तर उनले केही महिनामै राजीनामा दिइन्। 

यसपछि उनी २०४९ सालमा तत्कालीन भद्रबास गाविसको अध्यक्षमा निर्वाचित भइन्। यसको पाँच वर्षे कार्यकाल पूरा गरेकी उनलाई यसले राजनीतिमा अर्को आयाम थप्यो। त्यतिबेला ४२ वर्षको उमेरमा गाविस अध्यक्ष हुन पाउँदा राष्ट्रपति भएजस्तै लाग्यो उनलाई।

भन्छिन्, ‘५ वर्ष मज्जाले काम गरेँ। त्यसपछि २०५८ सालमा महिला संघ काठमाडाैँको अध्यक्ष भएँ। अहिले पनि यही पदमा छु।’

पहिलोपटक संसदीय यात्रा तय गरेकी उनलाई यो नै सबैभन्दा खुसीको क्षण लागेको अनुभूति उनले सुनाइन्।

हाँस्दै उनले भनिन्, ‘यो त मेरा लागि सबैभन्दा खुसी र उपलब्धिको क्षण हो। यतिका उमेर मैले पार्टीलाई दिएँ। जीवनको उत्तरार्द्धमा एउटा केही न केही भए पनि सफलता होस् भन्ने लाग्थ्यो। त्यो पूरा भएको छ।’

राजनीतिमा लागेका नयाँ पुस्ता उनले अवसर नपाएको देख्दा निराश हुने गरेका थिए।

‘विष्णु दिदीको त यो अवस्था छ। पर्टीलाई योगदान दिएरै जीवन सकिन लाग्दा पनि अवसर दिएको छैन। हामी के राजनीतिमा लाग्नु भन्ने गर्थे। अब यो अवस्था रहेन। मलाई हेरेर पनि महिला बहिनीहरु सक्रिय राजनीतिमा होमिनुहुन्छ भन्ने लागेको छ’, उनले भनिन्।

टिकट पाउन त समस्या झेल्नुपर्‍यो होला नि?

नेपालखबरको प्रश्नले उनको उज्यालो अनुहारमा दु:खी भावको थोरै अँध्यारो छायो। 

अनि विगत सम्झिँदै मसिनो स्वरमा भनिन्, ‘मैले टिकट त २०६४ सालमै पाउनुपर्ने थियो। त्यो बेला पनि टिकट तिमीलाई नै हो भनेर निकै आश्वासन देखाइयो। तर पार्टीले टिकट अर्कैको हातमा थमाइदियो। त्यसपछि पनि दुईपटक समानुपातिक सांसदका लागि सिफारिसमा त परेँ, तर मेरो नाम बीचमै काटियो। ४ मंसिर २०७९ को आम निर्वाचनमा पनि टिकट पाउन निकै कष्ट गरेको थिएँ। त्यो बेलामा पनि टिकट पाइनँ। होस्, अब यस्तै रहेछ, टिकट दिँदैनन् भन्ने लागेको थियो। यो पटक पार्टीले बल्लतल्ल सांसदको टिकट दिएको हो।’

नेताहरुले विवेक प्रयोग गरेर आफूलाई न्याय दिएको भन्दै उनले खुसी प्रकट गरिन्।

राष्ट्रिय सभाको सदस्य पदमा निर्वाचित भएपछि उनले अब जनतालाई न्याय दिने ऐन-कानुन निर्माणका लागि पैरवी गर्ने प्रण गरेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .