नेकपा (एमाले)का सांसद पुष्पराज कँडेलले विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूले गरेका त्रुटिको बचाउ गर्न नमिल्ने बताएका छन्।
बुधबार अर्थ समितिको बैठकमा बोल्दै सांसद कँडेलले अर्थमन्त्री वाग्लेले बारम्बार अघिल्ला सरकार र अर्थमन्त्रीहरूलाई दोषारोपण गरेपछि असन्तुष्टि व्यक्त गरे।। उनले सुशासन र सुधारको एजेन्डा लिएर आएको सरकारले विगतका कमजोरी दोहोर्याउन नहुने बताए।
‘अर्थमन्त्रीज्यूले बारम्बार अघिल्ला अर्थमन्त्रीहरूले ७३ ठाउँमा करका दर वा व्यवस्थाहरू परिवर्तन गरे, भ्रष्टाचार भयो भन्ने कुरा उठाइरहनुभएको छ। भ्रष्टाचारको विषय उहाँको अभिव्यक्तिमा निरन्तर रूपमा आइरहेको देखिन्छ,’ कँडेलले भने, ‘तर उहाँ स्वयं पनि विगतमा राज्यका महत्त्वपूर्ण निकायहरूमा संलग्न हुनुहुन्थ्यो।’
अर्थमन्त्री वाग्ले स्वयं पनि विगतमा राष्ट्रिय योजना आयोगलगायत नीतिगत निकायमा जिम्मेवारी सम्हालिसकेका व्यक्ति भएकाले अघिल्ला सबै निर्णय र प्रक्रियाबाट आफूलाई पूर्ण रूपमा अलग देखाउन नमिल्ने कँडेलको भनाइ थियो।
‘राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत भइसक्नुभएको व्यक्ति हुनुहुन्छ, लामो समय विभिन्न नीतिगत प्रक्रियामा सहभागी हुनुभएको छ र बजेट निर्माण प्रक्रियासँग पनि प्रत्यक्ष रूपमा जोडिनुभएको छ। त्यसैले विगतका सबै कमजोरीबाट आफू पूर्णतः अलग रहेको सन्देश दिन खोज्नु उपयुक्त नहुन सक्छ,’ उनले भने।
अघिल्ला सरकारले गल्ती गरेको भए त्यसको समीक्षा हुनुपर्ने तर विगतमा त्रुटि भएको थियो भन्दैमा वर्तमान सरकारलाई पनि त्यही गल्ती दोहोर्याउने छुट नभएको कँडेलले बताए। ‘यदि अघिल्ला सरकारले ७३ स्थानमा हस्तक्षेप गरे वा गल्ती गरे भन्ने हो भने त्यो रेकर्डमा छँदै छ। तर नयाँ सरकार सुशासन, पारदर्शिता र सुधारको एजेन्डा लिएर आएको हो भने उसले विगतका कमजोरी दोहोर्याउनुहुँदैन,’ कँडेलले थपे, ‘अघिल्लाहरूले गल्ती गरेका थिए भने पनि त्यसलाई आधार बनाएर अहिले गल्ती गर्ने छुट कसैलाई हुँदैन।’
अर्थ विधेयकमा गरिएको संशोधन र करका दरमा गरिएको हेरफेरबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने उनको भनाइ थियो। विगतलाई देखाएर अहिले गरिएको हेरफेरलाई सही मान्न नहुने उनले बताए।
‘यस पटक देखिएको त्रुटि किन भयो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्छ। अर्थमन्त्रीज्यूको नियत खराब छ भन्ने आधार हामीसँग छैन। उहाँको नियत सफा नै होला। तर विगतका सबै व्यक्ति भ्रष्ट थिए र सबै समस्या भ्रष्टाचारकै कारणले भएका हुन् भन्ने निष्कर्ष पनि सही होइन,’ उनले भने, ‘हिजो त्यो तर्क गलत थियो भने आज पनि गलत नै हुन्छ।’
बैठकमा सांसद कँडेलले मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीबारे पनि प्रश्न उठाए। नेपालको कर प्रशासनले विगतदेखि बहु–दर भ्याट प्रणालीलाई अस्वीकार गर्दै आएको स्मरण गराउँदै उनले अहिले बहुदर भ्याट प्रणालीतर्फ जाने विषयमा पर्याप्त अध्ययन, बहस र तयारी भएको हो वा होइन भन्ने प्रश्न गरे।
Shares

प्रतिक्रिया