ad ad

राजनीति


सिन्धुपाल्चोक : कतै तालमेल, कतै एक्ला एक्लै, माओवादी र एमाले पनि मिले

तीन नगरमा तीन ‘हेभिवेट’ नेताबीच प्रतिष्ठाको लडाइँ
सिन्धुपाल्चोक : कतै तालमेल, कतै एक्ला एक्लै, माओवादी र एमाले पनि मिले

रुपक चौलागाईं
बैशाख १६, २०७९ शुक्रबार १९:४६, काठमाडौँ

केन्द्रको राजनीतिले पछ्याइरहनेमध्ये एक हो– सिन्धुपाल्चोक। जिल्लाबाट प्रतिनिधित्व गर्दै केन्द्रको राजनीतिमा प्रभाव जमाएका ३ ‘हेबिवेट’ नेताबीचको आन्तरिक प्रतिस्पर्धालाई झनै चासोका साथ हेरिन्छ।

सभामुख अग्नि सापकोटा र मोहनबहादुर बस्नेतबीचको पेचिलो लडाईंकै कारण यहाँ सत्तारुढ दलबीच गठबन्धन हुन सकेन। 

उनीहरु दुवै ०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट प्रतनिधिसिभामा प्रतिस्पर्धी थिए। केन्द्रबाट ५ दलीय गठबन्धन गरेर जाने निर्णय हुँदापनि सिन्धुपाल्चोकमा भने आन्तरिक प्रतिस्पर्धाकै कारण सहमति जुट्न नसकेपछि आ–आफ्ना उम्मेदवारलाई अघि सारिएको छ।

उता, ०७४ को स्थानिय तह निर्वाचनमा बलियो उपस्थिति देखाएको एमालेमा भने विभाजनपछि ‘परकम्प’ नै गएको टिप्पणी थालेका छन्। एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ २ नम्बर क्षेत्रबाट प्रतिनिधित्व गर्छन्। 

तीन नगरमा हेभिवेट ३ नेताको ‘नजर’
जिल्लाका १२ स्थानीय तहमध्ये ३ वटा नगरपालिका र ९ वटा गाउँपालिका छन्। ०७४ को निर्वाचनमा एमालेले २ र माओवादीले एउटा नगरपालिकामा आफ्नो जित निकालेको थियो।

मेलम्ची र बाह्रबिसे नगरपालिकामा एमालेले जित निकाल्दा चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी विजयी भएको थियो। कांग्रेस भने नगरविहीन भएको थियो।

सभामुख अग्नि सापकोटाको गृहनगर चौतारा साँगाचोकगढी हो। त्यस्तै, कांग्रेस नेता मोहनबहादुर बस्नेतको गृहनगर बाह्रबिसे हो भने एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको नगर मेलम्ची हो। यी तीनै नगरलाई नेताहरुले प्रतिष्ठाको विषय बनाएका छन्। 

–चौतारा साँगाचोकगढी
चौतारा साँगाचोकगढीलाई माओवादी केन्द्रले आफ्नो ‘आधार इलाका’ मान्छ। सभामुख अग्नि सापकोटा मात्र नभई माओवादी केन्द्रीय सदस्य माधव सापकोटा सुवोध, वाईसीएल इन्चार्ज तथा केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’, बागमती प्रदेशसभा सदस्य युवराज दुलाल पनि यही नगरका हुन्। 

बेला बेलामा प्रचण्डले आफूलाई काठमाडौंको राजनीतिक ‘विरक्ति’सँग टाढा पु¥याउन पनि यही भूमिलाई रोज्छन्। 

त्यसो त, ०७४ को निर्वाचनमा चौतारा साँगाचोकगढीको प्रमुख र उपप्रमुख दुवैमा माओवादीले जित हासिल गरेको थियो। अहिले पनि यो नगरमा माओवादीलाई आफ्नो ‘साख’ जोगाउनैपर्ने दबाब छ।

फेरि दोहोरिन चाहेका निवर्तमान प्रमुख अमानसिंह तामाङले टिकट नपाएपछि ११ वैशाखमा ‘बागी’ उम्मेदवारी दर्ता गराएका थिए। 

माओवादीले भने सभामुख सापकोटाका भाइ कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’लाई प्रमुखको टिकट दिएको छ। 

तामाङको उम्मेदवारीले अप्ठेरो पार्नसक्ने आंकलन गरेको जिल्ला नेतृत्वले अन्ततः उम्मेदवारी फिर्ता गराउन सफल भएको छ। तामाङले निर्वाचन कार्यालय पुगेर स्वतन्त्र उम्मेदवारी फिर्ता लिए।
जिल्ला निर्वाचन कार्यालयका अनुसार चौताराको प्रमुख पदमा ८ जनाले उम्मेदवारी दर्ता गराएका थिए। त्यसमध्ये तामाङले स्वतन्त्रबाट आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए। 

अब ७ जनाबीच प्रमुख पदमा भिडन्त हुँदैछ। त्यस्तै, उपप्रमुखमा ६, वडा अध्यक्षमा ६३, खुला सदस्यमा ८३, महिला सदस्यमा ४१, दलित महिला सदस्यमा ४१ जना गरी २४१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

०४९ सालको स्थानीय निर्वाचनमा संयुक्त जनमोर्चाबाट तत्कालीन कुविण्डे गाविसको अध्यक्ष भएका देशबन्धु पुराना नेताका रुपमा चिनिन्छन्। 

केन्द्रबाट गठबन्धन गर्ने निर्णय भइरहँदा पनि सिन्धुपाल्चोकमा त्यो लागु हुन नसक्नुमा कांग्रेस नेता मोहनबहादुर बस्नेतको ‘घमण्ड’ भएको सापकोटा बताउँछन्। 

‘यहाँको सन्दर्भमा नेपाली कांग्रेस र मोहन बस्नेतको इच्छा नभएको हो। छलफलमै नबस्ने भएपछि गठबन्धन लागु हुने कुरा भएन,’ उनले भने, ‘यसलाई आमकार्यकर्ताले राम्रो मानेको छैनन्।’

यहाँको प्रमुखमा एमालेबाट इन्द्रबहादुर नेपाल र कांग्रेसबाट केशवराज गिरीले उम्मेदवारी दर्ता गराएका छन्। माओवादीको आधार इलाका भत्काउने तयारीसहित एमालेले अभियान चलाएको छ।

उता, गठबन्धन नै तोडेर एक्लै प्रतिस्पर्धामा उत्रिएको कांग्रेसले पनि सापकोटालाई असजिलो पार्नेगरी अभियान थालेको छ।

बाह्रबिसे
नेपाल र चीन सिमानाका जोडिएको बाह्रबिसे बजार ०७२ सालको भूकम्पअघिसम्म ठूलो व्यापारिक केन्द्र थियो। बाह्रबिसे र त्यस आसपासका क्षेत्रमा कांग्रेस नेता मोहनबहादुर बस्नेतको एकछत्र राज चल्थ्यो। अहिले पनि बाह्रबिसेको रौनक घटेको छैन। 

भूकम्प हुँदै पछिल्ला केही वर्षमा बाह्रबिसे र आसपासका क्षेत्रमा भएको प्राकृतिक विपत्तिमा हेलिकोप्टर नै लिएर उद्धारमा खटिन यहाँका शीर्ष नेताबीच प्रतिस्पर्धा नै चलेको थियो। 

आसन्न निर्वाचनमा पनि कांग्रेस र माओवादीले गठबन्धन गर्ने निर्णय गरे पनि बस्नेत र सापकोटाको आन्तरिक प्रतिस्पर्धाकै कारणले यहाँ एलाएन्स हुन सकेको थिएन। 

जिल्ला निर्वाचन कार्यलयका अनुसार बाह्रबिसेको प्रमुख पदमा ९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उपप्रमुखमा ८, वडा अध्यक्षमा ४१, खुला सदस्यमा ६८, महिला सदस्यमा ३२, दलित महिला सदस्यमा २९ जना गरी १८७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

एमालेबाट निवर्तमान मेयर निम फुन्जो शेर्पा, कांग्रेसबाट बालकृष्ण बस्नेत र माओवादी केन्द्रबाट बुद्धराज बस्नेतले उम्मेदवारी दिएका छन्। 

उनीहरु तीनैजना ०७४ को निर्वाचनमा पनि एक अर्काका प्रतिस्पर्धी हुन्। बाह्रबिसेमा ०७४ को निर्वाचनमा एमालेले प्रमुख र उपप्रमुख दुवैमा विजयी निकालेको थियो। एमालेलाई यहाँको पुरानो ‘साख’ जोगाउनैपर्ने चुनौती छ। 

उता, आफ्ना संगठन बलियो भएको दाबी गरिरहेका बस्नेतलाई पनि ०७४ को निर्वाचनको हारको क्षतिपूर्ति गर्ने लाइनमा दौडधूप गरिरहेका छन्। उता, एमालेका नेता सरेश नेपाल पनि बाह्रबिसेमा

यसअघि चुनावी कमाण्डर नै भएर खटिएका थिए। नेपालकै सक्रियतामा एमालेलाई ०७४ मा जित निकाल्न सहज भएको थियो। 

उता, जिल्लामा गठबन्धन गर्न मोहन बस्नेतले देखाएको बेवास्तालाई माओवादीले गम्भीर रुपमा लिएको छ। जसका कारण यहाँको प्रतिस्पर्धा पनि पेचिलो बन्ने देखिएको छ।

मेलम्ची 
सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये मेलम्चीलाई एमालेले आफ्नो ‘गढ’ क्षेत्रका रुपमा लिन्छ। ०७४ को निर्वाचनमा पनि एमालेले नै यहाँको प्रमुख र उपप्रमुखमा विजयी हासिल गरेको थियो। 

रणनीतिक विकासको आयोजना मेलम्ची परियोजना पनि यही नगरभित्र पर्छ। गतवर्ष आएको भिषण बाढीबाट प्रभावित मेलम्चीवासीलाई उठाउने गरी यहाँको विकासबारे बुझ्नसक्ने नेता छान्न यहाँको समुदाय निर्वाचन कुरिरहेको छ।

एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री शेरबहादुर तामाङ पनि यही क्षेत्रका नेता हुन्। एमालेले आसन्न निर्वाचनमा नगर प्रमुखमा बागमती प्रदेश कमिटी सदस्य बालकृष्ण देउजालाई उम्मेदवार बनाएको छ। देउजा लामो इतिहास बोकेका शालिन र बौद्धिक नेताका रुपमा मेलम्चीमा परिचित छन्। 

उनै देउजालाई अघि सार्दै तामाङ पनि चुनावी सभाका कार्यक्रमहरुमा अघि अघि लागिरहेका छन्।

देउजालाई यसअघि एमालेले निकालेको जित निकाल्ने दबाब छ। अझ, एमालेभित्र देउजासँगै आकांक्षी देखिएका अन्यले टिकट नपाएपछि सौहार्दपूर्ण वातावरण मिलाएर अभियानमा खटिएका छन्। 

जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँको प्रमुखका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, उपप्रमुख पदमा ४, वडाध्यक्षमा ६२, खुला सदस्यमा ९३, महिला सदस्यमा ४३, दलित महिला सदस्यमा ३७ जना गरी २४७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

एमालेले देउजालाई अघि सार्दा मेलम्चीमा प्रतिस्पर्धाका लागि कांग्रेसले आइतमान तामाङ र माओवादी केन्द्रले नानीराम चौलागाईंलाई अघि सारेको छ। मेलम्चीमा गतवर्ष गएको भिषण बाढी र त्यसअघिका दुःखमा नेताहरु आ–आफ्नो दाबीसहित सक्रिय भएका थिए। 

गाउँपालिकामा?
२ वटा नगरमा जित निकालेको एमालेले ०७४ को निर्वाचनमा अन्य ५ गाउँपालिका जितेको थियो। जुगल, त्रिपुरासुन्दरी, पाँचपोखरी थाङपाल, बलेफी र लिसंखुपाखर गाउँपालिकामा त्यतिबेला एमाले विजयी भएको थियो। 

जसमध्ये, बलेफी र त्रिपुरासुन्दरीका अध्यक्ष नै चुनावको मुखमा एमाले छाडेर कांग्रेस प्रवेश गरेका छन्।

चौतारा साँगाचोकगढी नगरमा प्रमुख जितेको माओवादीले भोटेकोशी गाउँपालिकामा जित निकालेको थियो। कांग्रेसले इन्द्रावती, सुनकोशी र हेलम्बु गाउँपालिकामा जित निकालेको थियो।

निर्वाचन कार्यालय, सिन्धुपाल्चोकका अनुसार त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा ६, उपाध्यक्षमा ५, वडाध्यक्षमा ३०, खुला सदस्यमा ५०, महिला सदस्यमा २४, दलित महिला सदस्यमा २३ जना गरी १३८ जनाले उम्मेदवारी दिएका छन्। एमालेबाट त्रिपुरासुन्दरीमा निर्वाचित भएका अध्यक्ष भूपेन्द्र श्रेष्ठ अहिले कांग्रेस प्रवेश गरेका छन्। 

यो गाउँपालिकामा कांग्रेसका भक्त ध्वज बोहरा, एमालेका मेघ नाथ पौडेल, माओवादी केन्द्रका बिर्ख बहादुर श्रेष्ठले उम्मेदवारी दिएका छन्। यहाँ गठबन्धन छैन। माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका लीलाराज श्रेष्ठले अध्यक्षका लागि उम्मेदवारी दिएका छन्।

त्यस्तै, जुगल गाउँपालिकामा भने केन्द्रको सर्कुलर अनुसार नै सत्तारुढ दलबीच गठबन्धन भएको छ। जुगलको अध्यक्षमा ५, उपाध्यक्षमा ४, वडाध्यक्षमा ३२, खुला सदस्यमा ४९, महिला सदस्यमा २७, दलित महिला सदस्यमा २३ जना गरी १४० जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

माओवादीबाट गाउँपालिका अध्यक्षमा रेशम स्याङ्बो र उपाध्यक्षमा कांग्रेसबाट हिमाल श्रेष्ठले सँगै उम्मेदवारी दर्ता गराएका छन्। एमालेबाट जयबहादुर लामाले अध्यक्षमा र सुनिता थाला तामाङले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन्।

पाँचपोखरी थाङपाल गाउँपालिकामा पनि जुगलमा जस्तै सत्तारुढ गठबन्धनबीच तालमेल छ। यहाँको अध्यक्षमा ९, उपाध्यक्षमा ९, वडाध्यक्षमा ३१, खुला सदस्यमा ४९, महिला सदस्यमा २४, दलित महिला सदस्यमा २१ जना गरी १४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

कांग्रेस–माओवादी–समाजवादीबीचको गठबन्धनले साझा उम्मेदवारको रुपमा दोर्जे स्याङ्बोलाई अध्यक्षको उम्मेदवार बनाएको छ। त्यस्तै, प्रतिस्पर्धाका लागि एमालेले टासी लामालाई टिकट दिएको छ।

उता, बलेफी गाउँपालिकामा कांग्रेसले सुवास तिमिल्सिनालाई अध्यक्षको उम्मेदवार बनाएको छ। एमालेले नारायाणकाी श्रेष्ठ र माओवादी केन्द्रले गंगाबहादुर लामालाई अध्यक्षमा अघि सारिएको छ। 

अध्यक्षमा १४, उपाध्यक्षमा ६, वडाध्यक्षमा ४२, खुला सदस्यमा ६१, महिला सदस्यमा २७, दलित महिला सदस्यमा २८ जना गरी १७८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

भोटेकोशी गाउँपालिकामा कांग्रेस, एमाले, माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा हुँदैछ। निर्वाचन आयोगका अनुसार अध्यक्षमा ८, उपाध्यक्षमा ६, वडाध्यक्षमा, २९, खुला सदस्यमा ४८, महिला सदस्यमा २१, दलित महिला सदस्यमा २२ जना गरी १३४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसबाट पासाङनुर्प लामा, एमालेबाट अमृत खड्का, माओवादी केन्द्रबाट राजकुमार पौडेलबीच यहाँ मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

इन्द्रावती गाउँपालिकामा माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेको छ भने एमाले र कांग्रेस एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन्। आयोगका अनुसार इन्द्रावतीको अध्यक्षमा ५, उपाध्यक्षमा ५, वडाध्यक्षमा ५८, खुला सदस्यमा १०१, महिला सदस्यमा ४९, दलित महिला सदस्यमा ३९ जना गरी २५७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

यहाँ माओवादी–समाजवादीबाट अध्यक्षमा ठूलोबाबु श्रेष्ठ, कांग्रेसबाट विकास लामा र एमालेबाट झम्क नेपालबीच प्रतिस्पर्धा हुँदैछ। 
कांग्रेसका लामा पूर्व जिल्ला सभापति हुन् भने एमालेका नेपाल पनि जिल्लाका अध्यक्ष भइसकेका हुन्। माओवादी–समाजवादीको एलायन्सबीच कांग्रेस र एमालेको प्रतिस्पर्धा रोचक हुने देखिएको छ।

यसअघि कांग्रेसले जित हात पारेको सुनकोशी गाउँपालिकामा यो पटक एमाले र माओवादीबीच गठबन्धन हुने भएको छ। केन्द्रदेखि नै एमालेविरुद्धको अभियान चलिरहँदा यहाँ भने एमालेसँग नै तालमेल हुने भएपछि प्रतिस्पर्धा रोचक मानिएको छ। 

आयोगका अनुसार यहाँको अध्यक्षमा ८, उपाध्यक्षमा ५, वडाध्यक्षमा ३१, खुला सदस्यमा ५५, महिला सदस्यमा २५, दलित महिला सदस्यमा २५ जना गरी १४९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 
माओवादीबाट अध्यक्षमा कृष्णकुमारी कुँवर र उपाध्यक्षमा एमालेबाट मन्जु नेपाल भण्डारीले उम्मेदवारी फिर्ता लिएर गठबन्धन गर्ने बताइएको छ। यहाँ कांग्रेसले श्रवणकुमार जिसी र एमालेले टपिन्द्र तिमिल्सिनालाई अघि सारेको छ।

हेलम्बु गाउँपालिकामा पनि यसअघि कांग्रेसले नै जितेको थियो। माओवादीले चौतारालाई जस्तै हेलम्बुलाई कांग्रेसले गढ क्षेत्र मान्छ। यद्यपी यहाँको चुनावी प्रतिस्पर्धा पनि रोचक छ। 

यहाँ पनि एमाले र कांग्रेस एक्लाएक्लै भिड्दैछन् भने माओवादी र समाजवादीबीच गठबन्धन भएको छ। कांग्रेसले निमाग्याल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ। 

उनी यसअघि पनि सोही गाउँपालिकाका अध्यक्ष थिए। एमालेले भने दावा लामालाई अध्यक्षको उम्मेदवार बनाएको छ। माओवादी–समाजवादीबाट पेमा ह्योल्मो अध्यक्ष बन्न अघि सरेका छन्। 
चुनाव जित्ने सबै दलको दाबी

सिन्धुपाल्चोकका जिल्ला नेताहरु गठबन्धन र पार्टीभित्र देखिएका समस्याहरु समाधान गर्दै चुनावी सभामा होमिइरहेका छन्। चौतारा साँगाचोकगढीमा बागी उम्मेदवारी दिएका अमानसिंह तामाङले फिर्ता लिएसँगै त्यहाँ माओवादीले जित सुनिश्चित गरेको जिल्ला नेताहरु बताउँछन्। 

चौताराकै मेयरको दौडमा उत्रिएका कृष्ण सापकोटा भन्छन्, ‘१२ मध्ये ६ वटा स्थानीय तह जित्नेगरी हाम्रो तयारी छ।’ गठबन्धन गर्न नसक्नु नकारात्मक भएको बताउँदै उनले नकारात्मकभित्रको सकारात्मक पाटो पनि आफ्नै भएको बताउँछन्। 

‘मुख्यतः केन्द्रीय सदस्य पनि जिल्लामा आफ्नै हालिमुहाली गर्ने उहाँको पार्टीपंक्तिभित्र पनि धेरै असन्तुष्ट छ’, उनी भन्छन्, ‘यसले त हामीलाई नै फाइदा गर्छ।’

त्यस्तै, कांग्रेस सभापति जंगबहादुर लामा अधिकांश जिल्ला कांग्रेसकै पक्षमा भएको दाबी गर्छन्। ‘ हाम्रो संगठन बलियो भएर हामीले अन्य ठाउँमा गठबन्धन नगरेको हो’, लामाले नेपालखबरसँग भने, ‘चौतारामा हामी गएको निर्वाचनमा तेस्रो हो। अहिले ५ वर्षको अन्तरालमा धेरै राम्रो संगठन बनेकोले हामी जित्छौँ। कम्तिमा ८÷९ वटा पालिका कांग्रेसको पक्षमा ल्याउँछौं।’

उता, एमाले जिल्ला कमिटी अध्यक्ष कमल नेपाल पनि आफूहरुको अवस्था जिल्लामा सहज रहेको बताउँछन्। एमाले विभाजनपछि सिन्धुपाल्चोकमा त भुँइचालो नै गयो भनिन्छ नि? भन्ने प्रश्नको सामना गर्दै उनले भने, ‘एमालेलाई धक्का भएको छैन, एमालेको सिन्धुपाल्चोकमा अत्यन्त राम्रो अवस्था छ।’

जनमत नबिग्रिएको भन्दै त्रिपुरासुन्दरी र बलेफी गाउँपालिकामा अहिलेपनि चुनाव जित्नसक्ने दाबी गरे। यद्यपी त्यहाँबाट निर्वाचित एमालेका गाउँपालिका अध्यक्षसहितका नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए। 

आफूहरु १२ वटै पालिकामा सशक्त भएको कारणले कांग्रेस र माओवादी गठबन्धनमा जोड गर्दै अघि बढेको उनले बताए। 

यद्यपी सुनकोशी गाउँपालिकामा भने कांग्रसभित्र केही वितृष्ण त्यहाँका जनतामा छाएकाले आफूहरु गठबन्धन गर्ने अवस्थामा पुगेको नेपालले बताए।

२५ दल मैदानमा, ६ वटा राष्ट्रिय पार्टी
जिल्लाका सबै तहमा गरेर २५ दल चुनावी मैदानमा उत्रिएका छन्। त्यसमध्ये कांग्रेस, एमाले, माओवादी लगायत ६ राष्ट्रिय मान्यता प्राप्त हुन्।

मुख्य राजनीतिक प्रतिस्पर्धी कांग्रेस, एमाले र माओवादीसहित राप्रपाले सबै स्थानीय तहमा उम्मेदवार उतारेको छ। माओवादीसँग गठबन्धन गरेको नयाँ राजनीतिक दल एकीकृत समाजवादीले समेत सबै तहमा प्रतिनिधित्व गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .