ad ad

राजनीति


सीके राउत जितनजिक, महन्थ ठाकुरलाई एमालेका ‘बागी’ले उछिने

महिन्द्रलाई राजेन्द्रले पछ्याउँदै, सर्लाही ४ मा अमरेशको अग्रता
सीके राउत  जितनजिक, महन्थ ठाकुरलाई एमालेका ‘बागी’ले उछिने

जयन्त ठाकुर
मंसिर ६, २०७९ मंगलबार ११:१५, जनकपुरधाम

मधेश प्रदेशमा जारी मतगणनामा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवारहरु पछाडी परेका छन्। 

मधेश प्रदेशमा ठूलै शक्तिको रुपमा उदय हुन लागेको सिके राउत नेतृत्वको जनमत पार्टी अधिकांश क्षेत्रमा प्रत्यक्ष तर्फ पछाडी परेपनि राम्रै मत तानि रहेको छ। जनमत समानुपातिक तर्फ मधेश प्रदेशको सबैभन्दा ठूलो दल बन्ने संकेत देखिएको छ। 

जारी मतगणना अनुसार जनमत पार्टीका अध्यक्ष डा.सिके राउत सप्तरी २ मा जीत तर्फ अग्रसर छन्। राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले पछाडि छाडेका छन्।

ताजा मतपरिणाम अनुसार राउतले १३ हजार २ सय ९५ मत ल्याउँदा यादवले ६ हजार ५ सय ७० मत मात्रै प्राप्त गरेका छन्। राउत र यादवबीच ६ हजार ७ सय २५ मतको मतान्तर छ। 

त्यस्तै लोसपाका जयप्रकाश ठाकुर २ हजार ६ सय २ मत ल्याएर तेस्रो स्थानमा छन्। 

मधेश केन्द्रीत दल लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि महोत्तरी ३ मा पछि परेका छन्। उनलाई एमालेका बागी उम्मेदवार रामआधार कापरले पछाडी पारेका हुन्। 

महोत्तरी ३ मा कापर २ हजार २ सय ४ मत ल्याएर अग्रस्थानमा छन्। 

लोसपा अध्यक्ष ठाकुर भने १ हजार १ सय ९६ मत ल्याएर उनलाई पछ्याई रहेका छन् । जसपाका हरिनारायण यादव १ हजार ९९ मत ल्याएर तेस्रो स्थानमा छन्।
 
लोसपाका बरिष्ठ नेता राजेन्द्र महतो समेत सर्लाही २ मा पछि परेका छन्। उनलाई माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनाव लडेका नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले उछिनेका हुन्। 

यादवले १ हजार १ सय १३ मत ल्याउँदा महतोले भने ८ सय ४२ मत मात्रै ल्याएका छन्। 

धनुषा ३ मा लोसपाका अनिल कुमार झा शुरुदेखि नै पछाडि छन्। धनुषा ३मा  एमाले नेतृ जुलीकुमारी महतो ४ हजार २ सय ६६ मत ल्याएर अग्रस्थानमा छिन् भने लोसपाका झा ३ हजार २ सय २० मत ल्याएर उनलाई पछ्याई रहेका छन्। 

यो क्षेत्रमा जनमत पार्टीका शम्भुनाथ झा १ हजार ३ सय ८६ मत ल्याएर तेस्रो स्थानमा छन्। 

सर्लाही ४मा कांग्रेसका बागी उम्मेदवार अमरेश कुमार सिंह अग्रस्थानमा छन्। सिंहले २ हजार २ सय ५९ मत ल्याउँदा कांग्रेसका नागेन्द्रकुमार रायले २ हजार २ सय ५४ मत ल्याएका छन्।

यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार मधुमाला यादवले १ हजार ६ सय ३३ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .