राजनीति


मतदातामाझ पुगेर गगनले भने- अब प्रधानमन्त्री बन्नबाट रोकिन्नँ

मतदातामाझ पुगेर गगनले भने- अब प्रधानमन्त्री बन्नबाट रोकिन्नँ

फाइल।


नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार २१:३३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको संसदीय दलको नेता र प्रधानमन्त्री पदका लागि नेता डा. शेखर कोइरालासँग सल्लाह गर्ने बताएका छन्। 

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शुक्रबार बूढानीकलकण्ठ–७ मण्डिखाटार क्षेत्रका मतदातालाई धन्यवाद दिने क्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।  

‘मैले सबैभन्दा पहिले यो विषयमा शेखर कोइरालासँग सल्लाह गर्ने हो। उहाँसँग केही सल्लाह भएको छ, सल्लाह हुन्छ नै,’ थापाले भने, ‘र, उहाँको सम्पूर्ण साथ, सहयोग रहन्छ नै। अरु बाँकी रहेको साथ, सहयोग जुटाउने कोसिस पनि गर्छु।’

कांग्रेसको पछिल्लो महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका कोइरालालाई थापाले साथ दिएका थिए।  

उनले अब आफू प्रधानमन्त्रीका लागि पछाडि फर्किने ठाउँ नै नभएको बताए।

‘मलाई मैले बाहेक अरु कसैले रोक्न सक्दैन। म आफूलाई रोक्दिनँ। म त अगाडि बढी सकेँ। पछाडि फर्किने ठाउँ छैन,’ महामन्त्री थापाले भने, ‘को–को मसँग उभिने हो, को–को ले साथ र समर्थन दिने हो भन्ने कुरा हो। मैले स्वाभाविक रुपमा मेरो पार्टी सभापति, वरिष्ठ नेता सबैको आशिर्वाद खोज्छु नै।’

उनले निर्वाचन परिणाम आइसकेपछि सभापति शेरबहादुर देउवालाई घरमै गएर भेट्ने योजना बनाएको बताए।

‘पहिला केही साथीहरुसँग सल्लाह गरिसकेपछि र निर्वाचनको परिणाम आइसके पछाडि सभापतिज्यूलाई घरमै गएर भेटेर भन्ने योजना बनाएको छु,’ थापाले भने, ‘अब यो भन्दा अगाडि नेपाली कांग्रेस पार्टीले सरकारको नेतृत्व गरिरहँदै गर्दा अब उहाँहरुले नै सरकार चलाउनु पर्ने बाध्यता छैन, किनकी अब हामीहरु तयार भइसक्यौं।’ 

उनले घरको कान्छो सदस्य तयार भइसकेपछि अभिभावकहरु ढुक्कले बस्दा हुने टिप्पणी गरे।

‘अभिभावकहरुलाई घरमा अरु तयार नहुँदै गर्दा घर मैले नै चलाउनु पर्छ भन्ने हुन्छ। घरको आफूभन्दा कान्छो सदस्य तयार भइसके पछाडि ढुक्कले बस्दा हुन्छ,’ थापाले भने, ‘त्यसैले म सभापतिजीलाई, वरिष्ठ नेता सबैलाई भेटेरै भन्छु कि तपाईंहरु अब बिश्राम गरिदिनुस्। पार्टीको जिम्मेवारीमा हुनुहुन्छ। पार्टी उहाँहरुले नै सञ्चालन गर्ने हो।’ 

सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार सञ्चालन गर्ने विषयमा अब मैले गर्नु पर्छ भनेर जिद्दी गरिराख्नुपर्ने कुनै पनि कारण नभएको थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .