ad ad

राजनीति


देउवा अमरेशलाई संसद प्रवेश गर्नबाट रोक्न चाहन्थे, तर शिवपुजनले बनाइदिए सजिलो

देउवा अमरेशलाई संसद प्रवेश गर्नबाट रोक्न चाहन्थे, तर शिवपुजनले बनाइदिए सजिलो

जनार्दन पोखरेल
मंसिर १०, २०७९ शनिबार १२:१, सर्लाही

माओवादी केन्द्रका नेता शिवपुजन रायले ‘धोका’ नदिएको भए कांग्रेस नेता कार्यकर्ता यतिबेला सर्लाहीमा विजय उत्सव मनाइरहेका हुने थिए। तीन कार्यकाल कांग्रेसको सर्लाही जिल्ला सभापति, सांसद र मन्त्रीसमेत भैसकेका नागेन्द्रकुमार राय आफ्नै विजयको उत्ससवमा रमाइरहँदा कांग्रेसकै पूर्वनेता अमरेश कुमार सिंह भने पराजयको पीडामा हुने थिए। 

तर, सर्लाही- ४ मा सत्तारुढ गठबन्धनसँग पर्याप्त मत हुँदाहुँदै यतिबेला यहाँ कांग्रेस नेता कार्यकर्ता पराजयको पीडामा छन् भने कांग्रेसको कारबाहीमा परेपछि स्वतन्त्र उम्मेदवार बनेका अमरेशकुमार र उनका समर्थकहरु भने विजय उत्सवमा रमाइरहेका छन्।

पार्टी सभापति शेरबहादुर देउवाका कटु आलोचक सिंह सर्लाही- ४ बाट २० हजार १७ मत पाएर विजयी हुँदा पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र कांग्रेसका नागेन्द्रकुमारले १८ हजार २५३ मत ल्याएर पराजित बनेका छन्। कांग्रेससँगको गठबन्धनमै रहेको माओवादी केन्द्रका नेता शिवपुजन रायकी छोरी मधुमालाकुमारीले स्वतन्त्र उम्मेदवार बनेर १४ हजार ६२० मत ल्याएकी छन्। 

माओवादीको मत नभाँडिएको भए यहाँ कांग्रेस नेता रायलाई निर्वाचन जित्न गाह्रो थिएन। सिंहभन्दा १५ हजार भन्दा धेरै मतसहित उनी विजयी हुने थिए। तर, रायलाई शिवपुजनको साथ भएन। जसको फाइदा स्वतन्त्र उम्मेदवार अमरेशले उठाएका छन्। स्थानीय तह निर्वाचनमा सर्लाहीमा सबैभन्दा धेरै पालिका जितेर पहिलो दल बनेको कांग्रेस प्रतिनिधिसभा निर्वाचनको नतिजा आउँदा सर्लाहीमा शून्य भएको छ।

वीर अस्पतालमा स्टाफ नर्सको जागीर छाडेर निर्वाचनमा होमिएकी २७ वर्षीया मधुमालाले गठबन्धनको झण्डै १५ हजार मत काट्दा सर्लाही ४ बाट अमरेशलाई विजयी हुन सहज भएको हो।

गएको स्थानीय निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरेको आरोपमा कांग्रेसले अमरेशलाई पार्टीबाट निस्कासन गरेको थियो। सभापति देउवाले पार्टीबाटै निकालिदिएपछी उनी ०७४ मा आफू विजयी भएको क्षेत्रबाटै स्वतन्त्र उठेर एक्लै चुनावी अभियानमा होमिएका थिए। जसको परिणाम उनले आफ्नो पक्षमा पारेका छन्। यसले यो क्षेत्रमा अमरेशको प्रभावलाई पनि उजागर गरेको छ। 

पार्टी स्रोतका अनुसार पार्टीको चौधौँ महाधिवेशनदेखि अमरेश र सभापति शेरबहादुर देउवाको सम्बन्ध राम्रो छैन। कांग्रेसमा हुँदा सिंह सभापति देउवा इतर खेमामा थिए। आफू देउवा गुटमा नभएको र देउवा पतिपत्नीका गलत क्रियाकलापको विरोध गरेकै कारण आफूलाई पार्टीबाट निस्कासन गरिएको सिंहको दाबी छ। 

कांग्रेसमा ‘आरजु ब्रिगेड’ खडा गरिँदै छ : अमरेशकुमार सिंह

कांग्रेसले पार्टीबाट निस्कासन गरेको अवस्थामा स्वतन्त्र उम्मेदवारको रुपमा विजयी भएर उनले कांग्रेस सभापति देउवालाई एक झट्का दिइसकेका छन्। देउवा सिंहलाई संसदमा देख्न चाहँदैनथे। तर, देउवाले रोक्ने प्रयास गर्दागर्दै सिंहले जनताबाट चुनिएर संसदको बाटो सोझ्याएका छन्।

कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह देउवा खेमामा छन्। उनले नै नेता सिंहलाई अनुशासनको कारबाहीको लागि पार्टी केन्द्रमा सिफारिस गरेका थिए। सिंहलाई टिकटबाट बञ्चित गर्ने गरी कांग्रेसले उनलाई चुनावको मुखमा कारबाही गरेपनि अन्ततः व्यक्तिगत प्रभावकै आधारमा सिंहले देउवाका विश्वास पात्रको रुपमा चिनिएका नागेन्द्रकुमारलाई चुनावमा पराजित गरेर राष्ट्रिय राजनीतिमा आफ्नो वर्चश्व स्थापित गरेका छन्।

अमरेशले ०७० यताका सबै निर्वाचन जित्दै आएका छन्। ०७० सालमा उनले यो क्षेत्रबाट कांग्रेसबाट पहिलोपटक निर्वाचन जितेका थिए। ०७४ मा उनी २९ हजार १८५ मतसहित विजयी हुँदा मधेशवादी दलका राकेश मिश्रले २७ हजारभन्दा धेरै मत पाएका थिए। तर, यसपटकको निर्वाचनमा भने जसपाबाट उम्मेदवार बनेका मिश्रले ५ हजार ८१३ मत मात्रै पाएका छन्। यसपटक मिश्रले कम मत ल्याउँदा पनि सिंहलाई निर्वाचन जित्न सहज भएको छ।

रातो पासपोर्ट दुरुपयोगमा दोषी ठहर भएका शिवपुजन सर्लाही ४ माओवादी केन्द्रको भागमा पार्न र आफ्नी छोरीलाई उम्मेदवार बनाउन चाहन्थे। त्यसका लागि उनले अध्यक्ष प्रचण्डसँग निकै जोडबल पनि गरे। तर, केन्द्रमा शीर्ष नेताहरुबीच क्षेत्र बाँडफाँड हुँदा सर्लाही ४ कांग्रेसको भागमा पर्‍यो। 

बुबा उम्मेदवार बन्न नपाएपछि चुनावी मैदानमा वीर अस्पतालकी नर्स मधुमाला

कांग्रेसबाट नागेन्द्रकुमार उम्मेदवार बनेपछि शिवपुजनले राजनीतिमै नरहेकी आफ्नी छोरीलाई स्वतन्त्र उम्मेदवार खडा गरेर कांग्रेस उम्मेदवार रायलाई पराजित गर्न भूमिका खेलका छन्। 

कतिपयले यसलाई अमरेश र शिवपुजनबीचको अघोषित सहकार्यको रुपमा पनि लिएका छन्। गएको स्थानीय तह निर्वाचनमा शिवपुजनका छोरा राजाबाबु माओवादी केन्द्रको तर्फबाट सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए। 

त्यतिबेला अमरेशले आफ्नै पार्टीका उम्मेदवार हरिनन्दनप्रसाद यादवलाई सहयोग नगरी शिवपुजनका छोरालाई सहयोग गरेको कांग्रेस नेता कार्यकर्ताको आरोप छ। कांग्रेस सर्लाहीका एक नेताका अनुसार त्यही गुण तिर्न अहिलेको निर्वाचनमा शिवपुजनले गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेर अमरेशलाई विजयी हुन सजिलो बनाइदिएका छन्।

दुई बागीको चेपुवामा गठबन्धन, शिवपुजनले ‘धोका दिँदा’ धुकचुकमा नागेन्द्रकुमार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .