ad ad

राजनीति


इलाम १ मा धाँधली भएको झलनाथको आरोप, फेरि मतदान गर्न माग

इलाम १ मा धाँधली भएको झलनाथको आरोप, फेरि मतदान गर्न माग

फाइल तस्बिर


नेपालखबर
मंसिर १०, २०७९ शनिबार १४:२७, काठमाडौँ

इलाम क्षेत्र नम्बर १ को चुनावी मैदानमा रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले धाँधली आरोप लगाएका छन्। 

मतगणनाका क्रममा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतसँग निरन्तर पछि पर्दै आएका उनले धाँधली भएको आरोपसहित फेरि मतदानको माग गरेका छन्।

मतगणनाका क्रममा सुरुमै ५ सय मत गायब भएको पाइएपछि आफूले त्यसमा विरोध जनाएर फेरि मतदान गर्नुपर्ने मागसहित औपचारिक धारणा सार्वजनिक गर्ने उनले बताएका छन्। 

‘सुरुमै खसेकोमध्ये ५ मत गायब भएको पाइएपछि मैले विरोध जनाएको हो। खसेकोभन्दा धेरै गणना कसरी भयो?', उनले नेपालखबरसँग भने, 'अरु कसैले त त्यहाँ राखेको होइन होला? मैले सुरुदेखि नै भनेको छु, यहाँ धाँधली भएको छ।'

खनालले शनिबार गणना भएको ६ वटा केन्द्रको मतपेटिकामा पनि खसेको भन्दा २६६ बढी मत पाइएको बताएका छन्। 

'शनिबार पनि ६ वटा बाकसबाट मतपत्र निकाल्दा मुचुल्का गरिएको भन्दा २६६ बढी मत भेटियो। त्यसैले यहाँ अनियमितता भयो', उनले भने, 'यसमा मेरो कुरा भनेको रिइलेक्सनमा जानुपर्छ भन्ने हो। म आजै पत्रकार सम्मेलन गरेर यसबारेमा विस्तृत विवरण सार्वजनिक गर्दैछु।'

उनले यसबारेमा प्रमुख निर्वाचन आयुक्तसँग पनि कुरा गरिसकेको बताएका छन्। 'यसबारेमा प्रमुख निर्वाचन आयुक्तसँग कुरा गर्दा उहाँले कुनै जवाफ दिनु भएको छैन', उनले नेपालखबरसँग भने, 'त्यसैले यसमा अब रिइलेक्सनमा जानैपर्छ।’ 

उनले धाँधलीका एकपछि अर्को प्रमाण भेटिएको भन्दै अब एकीकृत समाजवादीका प्रतिनिधिहरुले हस्ताक्षर नगर्ने बताएका छन्।

इलाम १ मा अहिले एमाले उम्मेदवार महेश बस्नेत खनालभन्दा २ हजार ४५५ मतले अगाडि छन्। 

बस्नेतले १८ हजार ५४२ मत ल्याइसकेका छन्। खनालले १६ हजार ८७ मत ल्याएका छन्। खनाल सुरुदेखि नै निरन्तर पछि परिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .