ad ad

राजनीति


परिवारमोहले डुबे कि अन्तर्घातका कारण हारे गृहमन्त्री खाण?

देउवाको उत्तराधिकारी बनेर कांग्रेसको बागडोर समात्ने खाणको योजना असफल
परिवारमोहले डुबे कि अन्तर्घातका कारण हारे गृहमन्त्री खाण?

जेवी पुन मगर
मंसिर १२, २०७९ सोमबार १०:५७, काठमाडौँ

आफ्ना भाइ रामकृष्ण खाणलाई जिल्ला सभापतिलगत्तै मेयर बनाउन मरिहत्ते नगरेको भए र श्रीमती मञ्जुलाई समानुपातिक सूचीमा नराखेको भए प्रधानमन्त्री शेरबहादुर देउवाका दायाँ हात ठानिएका शक्तिशाली गृहमन्त्री बालकृष्ण खाणले के यो चुनाव हार्थे? मैले रुपन्देही जिल्लाका करिब आधा दर्जन सक्रिय कांग्रेसी कार्यकर्ता र काठमाडौँबाट ‘खाण हराऔँ अभियान’ मा लागेका उनकै दलका अभियानीहरुसँग यो प्रश्न गरेको थिएँ। 

ती सबैको विचार मिल्दोजुल्दो थियो– ‘खाण कुनै पनि हालतमा हार्ने उम्मेदवार थिएनन्।’ उनीहरुको परोक्ष जवाफ थियो, राज्यशक्तिको स्रोत गृहप्रशासन हातमा हुँदाहुँदै पनि खाणविरुद्ध आफ्नै पार्टीभित्र चर्किएको असन्तुष्टि र त्यसले जन्माएको अन्तर्घातका कारण उनी संसद् छिर्न असमर्थ रहे। के खाणको चुनावी हारको राजनीतिक अर्थ यति मात्र हो त? विश्लेषणको योगफल बडो रोचक देखिन्छ।  

०४६ सालको जनसंघर्षबाट स्थापित भएका युवा नेता खाणले ०४८ सालको आमनिर्वाचनमा बुटवल–३ (अहिले क्षेत्र नं २) बाट प्रत्यक्ष चुनाव जिती संसदीय राजनीतिको शुभारम्भ गरेका थिए। प्रत्यक्ष निर्वाचनको प्रतिस्पर्धामा एकचोटि मात्र हारेका (०५१ सालमा एमालेका मोदनाथ प्रश्रितसँग) खाण ०६४ र ०७० सालको आमनिर्वाचनमा विजयी भएका थिए। ०७४ सालमा समानुपातिक सूचीभित्र छिरेका उनले त्यो साल कांग्रेससँग गठबन्धन गरेका राप्रपाका दीपक बोहोरालाई प्रत्यक्षमा सघाएका थिए। त्यतिबेला एमालेका घनश्याम भुसालसँग भारी मत (५ हजार ४४४) ले हारेका बोहोराले यसपालि एमालेकै सहयोगमा खाणलाई २ हजार ६८१ मतको अन्तरले हराइदिएका छन्।   

शक्ति आर्जनको खेल
नेपाल विद्यार्थी संघको अध्यक्षको हैसियतले ०४६ सालको जनआन्दोलन हाँकेका खाणलाई ०५२ सालमा सशस्त्र संघर्षमा गएको माओवादीको प्रतापसँग जुध्न ०५५ सालमा बनाइएको ‘लडाकु दस्ता’ तरुण दलको अध्यक्षको जिम्मेवारी दिइएको थियो। ३१ वर्ष लामो संसदीय राजनीतिक अभ्यासको अनुभवबाट शक्ति आर्जन गरेका खाणलाई देउवाको उत्तराधिकारी र आगामी प्रधानमन्त्रीको रुपमा पनि प्रचार गर्न थालिएको थियो। देउवाका कतिपय व्यवहारमा त्यो देखिन्थ्यो पनि। 

देउवाका रणनीतिक योजनालाई कार्यान्वयन गर्न/गराउन खाणलाई विशेष जिम्मेवारी दिइने गरिएको थियो। आफ्ना प्रतिद्वन्द्वी विमलेन्द्र निधिलाई साइजमा ल्याउन देउवाले चालेको ‘सतरंज खेल’ का सेनापति नै खाण थिए। 

एक वर्षअघि मंसिरमा भएको चौधौँ महाधिवेशनमा निधिले सभापतिमा उठ्ने घोषणा गरेपछि धनुषामा उनका उम्मेदवार हराउन खाणलाई खटाइएको थियो। निधि हराउने देउवाको त्यो खेलमा निर्वाचन क्षेत्र धनुषा भएका केन्द्रीय नेता महेन्द्र यादवलाई पनि प्रमुख पात्रको रुपमा उपयोग गरिएको थियो। खाणको करिब एक साता लामो जनकपुर बसाइले देउवाको रणनीतिले मूर्तरुप पाएको थियो। त्यसबखत गरिएको हिसाबकिताबको परिणाम सामुन्ने छ– देउवा हराउन हिँडेका निधि समानुपातिक सूचीभित्र कैद गरिएका छन्।  

त्यसैगरी, गएको वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा भरतपुर उपमहानगरपालिकामा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलका कारण प्रचण्डपुत्री रेनु दाहाल हार्ने सम्भावना बढेपछि खाणलाई विशेष रुपमा त्यहाँ खटाइएको थियो। उनी जनकपुरमा झैँ चितवनमा पनि डेरा जमाएरै बसेका थिए। त्यसले पनि सफलता प्राप्त गर्यो, रेनुले दोस्रोचोटि चुनाव जितिन्।

आफूले लिएको कार्यभार सफलतापूर्वक सम्पादन गर्नसक्ने खुबी भएका खाणको पछिल्लो राजनीतिक करिअर केलाउने हो भने उनी देउवालाई मात्र बलियो बनाइरहेका थिएनन्, सँगसँगै आफूलाई पनि शक्तिशाली बनाउँदै लगिरहेका थिए। गएको चौधौँ अधिवेशनमा देउवाले आफूलाई महामन्त्री पदको टिकट नदिई प्रदीप पौडेल र प्रकाशशरण महतलाई दिएपछि ती दुईले जिते ‘आफू कमजोर भइने’ डरले पौडेल र महतलाई हराउने तिकडममा लागेका खाणले त्यसमा सफलता पनि प्राप्त गरेका थिए। पछिल्लो समय देउवा गुटभित्र पनि नेतृत्व हत्याउन खाण, महत र पूर्णबहादुर खड्काबीच चलिरहेको शीतयुद्ध त्यसैको परिणति हो।

केहीको भनाइमा एमालेमा केपी शर्मा ओलीपछि जसरी शंकर पोख्रेललाई ‘प्राजेक्सन’ गरिँदै थियो, कांग्रेसमा खाणले पनि आफूलाई देउवाको उत्तराधिकारीको रुपमा त्यसैगरी उभ्याउन थालिसकेका थिए। एकातर्फ उनी आफूलाई चुनौती दिनसक्ने निधि, महत र खड्काको शक्ति कटौती गर्ने राजनीति गरिरहेका थिए भने अर्काेतर्फ शेखर कोइराला गुटका गगन थापालाई रोक्न सक्दो बल गरिरहेका थिए। 

कतिपय सन्दर्भमा उनी सफल पनि देखिँदै थिए। राजनीतिक घटनाक्रममा खाणको तेज गति आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्दै आइरहेका गगन थापाका निम्ति सबैभन्दा घातक विकासक्रम थियो। त्यसैले यसपालि गगन एन्ड टिम ‘जसरी हुन्छ यो निर्वाचनमा खाण हराउने दाउपेच’ सफल पार्ने रणनीतिमा काम गरिरहेको थियो। यसका निम्ति खाणको परिवार मोह र संकीर्ण गुटबन्दी चुनाव हराउने बलियो हत्कण्डा बन्न पुग्यो। 

आफ्नैले हराए
खाण हारेपछि उनको निर्वाचन क्षेत्र परिचालन सचिवालयले गरेको अध्ययनले ‘हारको कारण बाह्य नभई आन्तरिक’ भएको मान्नुले पनि त्यसको पुष्टि हुन्छ। उम्मेदवारका आकांक्षी केही नेताले असहयोग गरिदिएका कारण हार भएको नेपालखबरलाई प्राप्त तिनले तयार पारेको नोटमा उल्लेख छ।

‘स्थानीय निर्वाचनमा प्रदेश सभा (ख) मा पर्ने वडाहरुमा कांग्रेसले पाएको मत २२ हजार ९१८ थियो तर यसपालि खाणलाई ती वडाबाट जम्मा १४ हजार ४७४ मत प्राप्त भयो,’ टिपोटमा भनिएको छ, ‘प्रारम्भिक अनुसन्धानले वहाँमाथि पार्टीभित्रबाटै अन्तर्घात भएको प्रष्ट देखिन्छ।‘

सचिवालयको अध्ययनमा त्यसरी अन्तर्घात गर्नेहरुको नाम नै किटेर लेखिएको छ। टिपोटमा ०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर ३ (ख) बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिई हारेका बुटवल–१५ का हरिध्वज मल्ल आफूले टिकट नपाएको झोँकमा यसपालि चुनाव प्रचारमै नहिँडेको उल्लेख छ। त्यस्तै, यसपालि पनि टिकटको आकांक्षी लुम्बिनी प्रदेश सभाका पूर्वसांसद तिलोत्तमा नपा–१४ की रमा अर्याल र शुद्धोधन गाउँपालिका–३ का रमेश खनालले पनि भित्रभित्र खाणलाई हराउने खेल खेलेको त्यसमा आरोप लगाइएको छ। टिकटका आकांक्षी यी दुई आफूले पाउनुपर्ने टिकट अरुलाई दिएको भन्दै असन्तुष्ट थिए। 

त्यसैगरी, शुद्धोधनकै भगवतीप्रसाद चौधरीले पनि प्रदेश सभाको समानुपातिकमा नाम नराखिदिएको रिसमा खाणको विपक्षमा लागेको आरोप लगाइएको छ। त्यसैले शुद्धोधनबाट कम मत खसेको सचिवालयको ठम्याइ छ। रुपन्देही ५ (क) बाट टिकट पाएका तर पछि खोसाइमा परेका कांग्रेसी नेता बिष्णु पोखरेलले त पत्रकार सम्मेलन नै गरी ‘खाणले आफ्नो टिकट खोसेको’ आरोप लगाएका थिए।

खाणका एकजना सचिवालय सदस्य भन्छन्, ‘हाम्रा आफ्नैले हामीलाई हराइदिए।’

परिवार मोह र गुटबन्दी
रुपन्देही कांग्रेसमा खाणविरुद्धको असन्तुष्टि स्थानीय निर्वाचनताका नै बढिसकेको थियो। उनले ०७४ मा हारेका आफ्ना भाइलाई पुनः मेयरमा उठाउन रचेको तिकडमले धेरै कांग्रेसीजन आक्रोशित थिए। त्यसअघि भाइलाई कांग्रेस जिल्ला सभापति बनाउन उनले खेलेको राजनीतिले पनि धेरै असन्तुष्टि बढाइसकेको थियो। 

उनको व्यवहारका कारण स्थानीय निर्वाचनको मुखमा २ नम्बर क्षेत्रीय सभापति हरि लम्सालले पदबाटै राजीनामा दिएका थिए। यो प्रतिस्पर्धामा पाँच वटा निर्वाचन क्षेत्रमध्ये १, ३ र ५ को नेतृत्व देउवा पक्षले पाएको थियो भने २ र ४ कोइराला पक्षको नेतृत्वले पाएको थियो। लुम्बिनी प्रदेश समितिको सभापतिमा चाहिँ कोइराला पक्षका अमर पुनले जित हात पारेका छन्। भाइलाई सभापति र मेयरमा टिकट दिलाउन लागिपरेका खाण वातावरण बनाउन गृहजिल्लामै डेरा जमाई बसेका थिए। 

त्यसमाथि यसपालि केन्द्रीय सदस्य तथा श्रीमती मञ्जु खाणलाई समानुपातिकको दोस्रो नम्बरमा राख्न भूमिका खेलेको भन्दै खाणको व्यापक आलोचना भयो। सभापति देउवा पत्नी आरजुलाई पहिलो र उनका ‘दायाँ हात’ खाणकी श्रीमती मन्जुलाई दोस्रोमा राखिएको भन्दै मिडियाबाजी गर्नेमा रुपन्देहीमा खाणसँग भिडिरहेका गगन थापा पक्षीय नेताहरु नै थिए। सँगसँगै एमालेको चुस्त प्रचारसंयन्त्र पनि निकै आक्रामक रुपमा लागिरहेको थियो।

चुनाव प्रचारकै क्रममा भैरहवाका एक जना व्यापारीसँग ‘यसपालि खाणलाई सघाएबापत अर्काेपालि उनलाई मेयरको टिकट दिने’ सहमति भएको भन्दै आएका समाचार र खाणको दोस्रो विवाहबारे एउटा अनलाइनले गरेको प्रचारले खाणको मतदाता र कार्यकर्तामा प्रत्यक्ष प्रभाव पार्यो। यी सबै कारण केन्द्रमा शक्तिशाली देउवाका प्रिय खाण आफ्नो गृहजिल्लामा निर्बल हुँदै गए भने खाणविरुद्धको असन्तुष्टि चर्किंदै गयो।

निर्वाचनमा पनि खाणको गुटबन्दी र नातावादकै कारण रुपन्देही कांग्रेसको हविगत भएको भन्दै प्रचारबाजी गर्ने काम उनका विरोधी कांग्रेसीजनहरुबाटै भयो। आन्तरिक विवादको विपक्षीले भरपुर फाइदा उठाए। त्यसको परिणाम निर्वाचनमा देखियो। अघिल्लोचोटि १२ हजार ६५० मतले रुपन्देही–५ बाट विजयी भएका खाणका सहयात्री भरत शाह यसपालि एमालेका बासुदेव घिमिरेसँग भारी मतअन्तर (९ हजार ७०२ मत) ले हार्न पुगे। 

यो कुरा बुझेका खाणको स्थानीय निर्वाचनयता आफ्नोे गृहजिल्लामा ओहोरदोहोर निकै बढेको थियो। तर त्यसले उनलाई चुनावमा विजयी बनाउन सकेन। देशभर निर्वाचन शान्तिपूर्वक सम्पन्न गराउने जस पाएका गृहमन्त्री खाण ०६४ को निर्वाचनमा गणतन्त्र ल्याउन भूमिका खेल्ने बहालवाला गृहमन्त्री कृष्ण सिटौलाले हार भोगेझैँ निर्वाचनमा पराजय भए। 

खाण कुनैबेला सीमापार नौतनवाका बाहुबली राजनीतिज्ञ हरिशंकर तिवारीसँगको सहकार्यमा रुपन्देहीका गाउँगाँउमा आतंक फैलाउने राप्रपा नेपालका उम्मेदवार दीपक बोहोरासँग २ हजार ६८१ मतको अन्तरले हार्न पुगे।

बाहिरबाट हेर्दा खाणको हारले राप्रपाको एउटा सिट बढेको देखिए पनि कांग्रेसभित्र चाहिँ देउवाको उत्तराधिकारीको रुपमा शक्ति आर्जन गर्दै गरेका एउटा सशक्त पात्रको पराजय हुन गएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .