ad ad

राजनीति


बाजुरामा १५ वर्षपछि कांग्रेसको जित, प्रतिनिधि सभामा बद्री पाण्डेको ‘डेब्यु’

एमालेले जोगाउन सकेन विरासत
बाजुरामा १५ वर्षपछि कांग्रेसको जित, प्रतिनिधि सभामा बद्री पाण्डेको ‘डेब्यु’

फाइल तस्बिर


गोकुल जोशी
मंसिर १८, २०७९ आइतबार १६:४, कञ्चनपुर

बाजुराको प्रतिनिधि सभा निर्वाचन क्षेत्रतर्फ नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार पाण्डे ३१ हजार ७८६ मतसहित विजयी भएका हुन।

उनले प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापालाई ५ हजार ४ सय ३७ मतान्तरले हराएका हुन्। पराजित थापाले २६ हजार ३ सय ४९ मत पाए। विजयी पाण्डे कांग्रेसका सहमहामन्त्री हुन्। 

राप्रपाका जंगकुमार गिरीले २०७, स्वतन्त्र टेकबहादुर बढुवालले ११४ र जनता समाजवादी पार्टीका रामबहादुर शाहीले ७३  मत पाएका छन्।

यसअघि ०७४ को चुनावमा बाजुराबाट वाम गठबन्धनको साझा उम्मेदवार बनेर नेकपा एमालेका लालबहादुर थापा संघीय सांसदमा निर्वाचित भएका थिए। 

प्रदेश सभा १ मा नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही र प्रदेश सभा २ मा कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन्।

प्रतिनिधि सभामा ‘डेब्यु’
यो जितसँगै कांग्रेस सह–महामन्त्री पाण्डेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फबाट पहिलो पटक ‘डेब्यू’ गरेका छन्। त्यति मात्रै होइन, बाजुरामा उनले १५ वर्षपछि कांग्रेसलाई जित दिलाएका छन्।

०६४ को पहिलो संविधान सभाको चुनावपछि कांग्रेसले बाजुरामा जित्न सकेको थिएन। यसअघि भएका ६ वटा निर्वाचनमध्ये नेपाली कांग्रेस र एमालेले ३÷३ वटा संसदीय चुनाव जितेका थिए।

०४८ सालको चुनावमा नेपाली कांग्रेसका देवराज जोशीले एमालेका हिक्मतबहादुर शाहीलाई हराउँदै संसद् यात्रा तय गरेका थिए।

त्यसपछि ०५१ को चुनावमा एमालेका शाहीले कांग्रेसका जोशीलाई हराउँदै ०४८ को बदला लिए। त्यसयता ०५६ र ०६४ को चुनावमा लगातार कांग्रेसले बाजी मार्‍यो।

०५६ मा कांग्रेसका जनकराज गिरीले एमालेका कर्णबहादुर थापालाई उछिन्दै बाजुरामा कांग्रेसको झण्डा फहराए। 
यस्तै, ०६४ को पहिलो संविधान सभा चुनावमा कांग्रेसका देवराज जोशीले एमालेका थापालाई हराएका थिए।

त्यसयता कांग्रेसले बाजुरामा जित्न सकेको थिएन। ०७० दोस्रो संविधानसभा चुनावमा एमालेका कर्णबहादुर थापाले कांग्रेसका मानबहादुर रावललाई उछिन्दै पहिलोपटक संसदको यात्रा तय गरेका थिए।

०७४ को चुनावमा वाम गठबन्धनका साझा उम्मेदवार बनेका एमालेका लालबहादुर थापाले कांग्रेसका कविराज पण्डितलाई हराएका थिए। यसपटकको चुनावमा नेपाली कांग्रेसले बाजुरामा १५ वर्षपछि विरासत फर्काएको छ।

कांग्रेसका पाण्डेले यसपटक चुनावबाट पहिलोपटक प्रत्यक्षतर्फबाट संसदीय चुनावको सामना गरेका थिए। 

यसअघि ०७० सालको संविधान सभाको चुनावमा पाण्डे समानुपातिक तर्फबाट सांसद भए भने ०७४ मा उनी राष्ट्रिय सभाको सदस्य बनेका थिए।

को हुन पाण्डे?
पाण्डेले वि.सं. ०४३ मा नेपाल विद्यार्थी संघबाट राजनीति थालेका हुन्। ०४७ मा वाल्मीकि क्याम्पसमा एकाइ सदस्य हुँदै ०४९ मा एकाइ सचिवमा चुनिएका थिए।

०५० मा नेविसंघको बाजुरा जिल्ला अध्यक्ष चुनिएका उनी ०५२ मा वाल्मीकिमै एकाइ अध्यक्ष भए। ०५३ मा वाल्मीकिको स्ववियु र ०५४ मा स्ववियु परिषदको सभापति बनेका थिए– पाण्डे।

उनी ०५६ मा नेविसंघको केन्द्रीय सदस्य हुँदै ०५९ मा उपाध्यक्ष भए। उनी ०६४ को १०औँ महाधिवेशनमा प्रदीप पौडेलसँग हारे। 

उनले ०६७ सालमा कांग्रेसको सेती अञ्चलबाट केन्द्रीय सदस्य पद जिते। पाण्डे ०७२ मा भएको १३औँ महाधिवेशनमा खुलाबाटै केन्द्रीय सदस्य बने। 

त्यसपछि उनी कांग्रेसको १४औँ महाधिवेशनमा पिछडिएको क्षेत्रबाट सहमहामन्त्री चुनिए। 

हारमा कर्णको ह्याट्रिक, भत्कियो एमाले विरासत
एमाले सुदूरपश्चिमका सह–इन्चार्जसमेत रहेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले यसपटक गरेर बाजुरामा ४ वटा निर्वाचन लडेका छन्।

यसपटकसँगै थापाले हारमा ह्याट्रिक गरेका छन्। यसअघि लडेका तीन चुनावमा उनले दुईमा हार र एकमा जित हासिल गरेका थिए। 

थापा पहिलोपटक ०५६ सालमा हारे, त्यसपछि ०६४ मा पनि उनले जित्न सकेनन्। ०७० को चुनाव जितेर उनले संसदको यात्रा तय गरेका थिए।

०७४ मा पनि जितेको नेकपा एमालेले यसपटक बाजुरामा विरासत जोगाउन सकेन।

स्थानीय तहको दबदबा दोहोरिएन
वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा बाजुरामा नेकपा एमाले सत्ता गठबन्धनविरुद्ध एक्लै चुनाव लड्दा पनि बलियो स्थितिमा थियो। 

तर, संसदीय चुनावमा स्थानीय तहको जस्तो परिणाम ल्याउन सकेन। 

बाजुराका ९ पालिकामध्ये नेकपा एमालेले ६ पालिका प्रमुख र कांग्रेसले ३ पालिका प्रमुख पद जितेका थिए। 

कूल ६९ वडामध्ये नेकपा एमालेले ३८, कांग्रेसले २७ र माओवादी केन्द्रले ४ वटामा जित हासिल गरेका थिए। ०७४ सालको चुनावमा प्रतिनिधि र प्रदेश सभातर्फ बाजुरामा नेकपा एमालेले बाजी मारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .