प्रतिनिधिसभा प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) तर्फ नेकपा एमालेभन्दा १३ सिटले अगाडि नेपाली कांग्रेस समानुपातिकमा भने ऊभन्दा सवा लाखभन्दा बढी मतले पछि परेको छ।
एक करोड ४ लाख ७८ हजार ७ सय ३५ सदर मत गनिसक्दा एमालेले सबैभन्दा धेरै २८ लाख १४ हजार ६ सय ५५ समानुपातिक मत ल्याएको छ। कांग्रेसभन्दा एमाले १ लाख २६ हजार ४ सय ३७ मतले अगाडि छ।
समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको कांग्रेसले भने अहिलेसम्म २६ लाख ८८ हजार २ सय १८ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ।
यस्तै मत गणनाको सुरुवातमा कतिपल्ट नेकपा माओवादी भन्दा अगाडि भएको राष्ट्रिय स्वतन्त्र पार्टी अन्तिम चरणमा ऊभन्दा पछाडि परेको छ।
यो खबर लेख्दासम्म नेकपा माओवादी केन्द्रले ११ लाख ६४ हजार १ सय २ मत ल्याएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७ सय ७८ मत पाएको छ। अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा माओवादी केन्द्र ३९ हजार ३ सय २४ मतले अघि छ।
यसैगरी समानुपातिक मतका हिसाबले राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी पनि आपसमा नजिक छन्। यो खबर लेख्दासम्म राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८ सय १६ मत ल्याएको छ भने जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९ सय ५४ मत पाएको छ। अर्थात् यी दुई दलबीच १ लाख ६५ हजार ८ सय ६२ छ।
Shares
प्रतिक्रिया