ad ad

राजनीति


उम्मेदवारको चुनावी खर्च करोडमा, हिसाब बुझाउँछन् लाखमा

उम्मेदवारको चुनावी खर्च करोडमा, हिसाब बुझाउँछन् लाखमा

कञ्चनपुरमा निर्वाचनपछि मतपेटिका ओसारिँदै। तस्बिर : नेपालखबर


गोकुल जोशी
पुस १, २०७९ शुक्रबार ९:५०, कञ्चनपुर

गत मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभा निर्वाचनका क्रममा मतदाता मत खसाल्न लाइनवद्ध थिए मतदाता। प्रतिनिधि चुन्न पाउँदा हातमा परिचय पत्र बोकेर पालो कुरिरहेकाको अनुहारमा उल्लास देखिन्थ्यो।

कोही मोटरसाइकलमा वृद्ध, अशक्त मतदातालाई बोक्दै थिए। कोही मतदान गर्ने ठाउँतर्फ मतदाता लैजानमा व्यस्त देखिन्थे।

गेटमा सुरक्षाकर्मी परिचय खुल्ने पत्र हेर्दै भित्र प्रवेश दिइरहेका थिए। उम्मेदवारहरु मत खसाल्न आउनेसँग बुथमै भलाकुसारी गरिरहेका थिए।

यो दृष्य थियो, भीमदत्त नगरपालिका–१७ बाँसखेडास्थित महाकाली बाल विद्यालयको। 

विद्यालयभन्दा केही परको माहोल बेग्लै थियो। विद्यालय आसपासका घरमा बिहे जस्तै भोजभतेर चलिरहेको थियो। मतदानस्थलबाहिर उम्मेदवारका एजेण्टहरु मतदातालाई इसारा गर्दै ती घरमा जान भनिरहेका थिए।

‘यता खानाको व्यवस्था छ, खाएर जानू होला,’ भन्दै ती घरतिर इसारा गरिरहेको देखिन्थे। मतदान गरेर फर्किनेमध्ये कोही ती घरतिर लम्किँदै थिए त कोही त्यहाँबाट निस्किरहेका देखिन्थे।

ती घरबाट निस्किरहेका एक जना आफूसँगै रहेका अर्कासँग भन्दै थिए, ‘आउन त आइयो, तर कुन पार्टीको पो नून खाइयो पत्तै भएन।’

मतदान केन्द्र आसपासमा उम्मेदवारहरुले मतदाताका लागि ‘भोज’ चलाएका थिए। सबैको ‘मेन्यु’मा मासु अनिवार्य थियो। 

यो प्रतिनिधिमूलक घटना मात्रै हो। कञ्चनपुरका अधिकांश ठाउँमा मतदाताका लागि नेताहरुले भोजभतेर चलाएका थिए। 

०००

मंसिर १ गते मध्यरातिदेखि चुनावको स्थिर समय सुरु भइसकेको थियो। उम्मेदवार र अरुले पनि चुनाव प्रचारप्रसारका गतिविधि गर्न पाउँदैन थिए। 

मतदानको अघिल्लो राति पुनर्वास नगरपालिका–१ मा एउटा स्कारपियो जिप आउँछ। उक्त स्कारपियोको नम्बर थियो– भे १ च ३९५८। स्थिर समयमा उक्त जिप बस्तीतिर लाग्छ।

जिपमा माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकेन्द्र लम्साल सवार थिए। उनी वाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नं. १ का संयोजक समेत थिए।

स्थिर समयमा बस्तीतिर हुँइकिएका लम्साललाई पैसा बाँडेको आरोपमा प्रहरीले समात्यो। राति नियन्त्रणमा लिएर उनलाई निर्वाचन अधिकृतको कार्यालय बेलौरीमा बुझाइएको थियो।

उनको गाडीबाट ७२ थान नमूना मतपत्र समेत बरामद गरियो। मौनअवधिमै बेदकोट नगरपालिका–५ स्थित धरमपुरको थारुबस्तीमा प्रवेश गरिरहेका कांग्रेस कार्यकर्ता पुष्कर विष्टमाथि आक्रमण भयो।

आक्रमणको कारण थियो–आर्थिक चलखेल आरोप। बस्तीमा आर्थिक चलखेल गर्न आएको सूचना एमाले कार्यकर्तालाई थियो। त्यसैले उनीहरुले विष्टलाई रोक्न खोजे। त्यसमै विवाद हुँदा एमाले कार्यकर्ताले विष्टमाथि आक्रमण गरेका थिए। आक्रमणमा घाइते विष्ट महाकाली अस्पतालमा उपचारपछि घर फर्किए।

चुनावको अघिल्लो राति बेलडाँडी गाउँपालिकाको झिलमिलामा पनि अलिक फरक दृष्य देखियो। युवाहरु हुलमा बसेका थिए। कुराकानी गर्दै एक जनाले बोलेको सुनियो, ‘नेताहरुले रिचार्ज दिएका छन्, चाहिए भन्नू।’

त्यसैमा कसैले रिचार्जको माग गरे तुरुन्तै खल्तीबाट झिकेर थमाउँदै गरेको दृश्य म्यादी प्रहरी राजेश टेरको सम्झनामा अझै छ। उनी झिलमिलामा खटिएका थिए।

‘रिचार्ज दिँदै भोलि यसो यसो गरेर भोट हाल्नू भनेर सम्झाउँदै थिए,’ म्यादी टेर भन्छन्, ‘भोट बेचिनेकुरा सुनेको थिए, यसरी बेचिने रहेछन भनेर प्रत्यक्ष देखेँ, तर केही गर्न सकेन।’

०००

उम्मेदवारहरु चुनावको धपेडीले हायलकायल थिए। त्यस्तै हालत कार्यकर्ताको पनि। बिहानै ६ बजे घरबाट निस्किने उनीहरु राति अबेरसम्म फिल्डमै देखिन्थे।

उम्मेदवारलाई यताउता ओसार्न एउटा गाडी थियो। त्यही गाडीको अघिपछि मोटरसाइकलमा कार्यकर्ता पनि थिए। दुई महिना अघिदेखि यस्तै चलिरह्यो। 

कोही गाडी भाडामा लिएका थिए त कोही आफ्नै गाडीमा। यो सबैको प्रबन्ध उम्मेदवारले मिलाएका थिए। अनेक कामका लागि एकै उम्मेदवार करोड हाराहारी खर्च गरिरहँदा आयोगको कारवाही छल्न हिसाब भने लाखको मात्रै बुझाएका छन्। 

उनीहरु आफूसँग हिड्ने कार्यकर्ताको मोटरसाइकलमा ‘पेट्रोल’ भरिदिन्थे। ‘उम्मेदवार एउटा गाडीमा हुन्थे, उम्मेदवारसँग कम्तीमा ५ मोटरसाइलमा कार्यकर्ता पनि सँगै हुन्थे,’ लामो समय उम्मेदवारसंग घुमेका एक कार्यकर्ता भन्छन्, ‘कोही आफैँ पेट्रोल हाल्थे, अधिकांश मागेरै हाल्थेऊँ।’

उनका अनुसार एक दिनमा कोही पाँच लिटर त कोहीले बढी पनि पेट्रोल पाउने गरेका थिए। दैनिक ६/७ वडाका कार्यक्रम उम्मेदवारले भ्याउँथे। दिउँसो त्यही वडामा खानाको व्यवस्था थियो। कहिलेकाही होटलमा पनि खाना खाने गरेका थिए। 

‘धेरैजसो मासु भात नै खायौँ, कहिले वडा कमिटीले व्यवस्था मिलाएको हुन्थ्यो, कहिले होटलमै पनि खान्थ्यौँ,’ एक जना कांग्रेस कार्यकर्ताले भने, ‘बेलुका धेरैजसो होटलमा बस्ने गरेका थियौँ, रक्सी पिउनेहरु पनि थिए।’

दैनिक पाँच हजारको दरले दुई महिनाको जिप भाडा मात्रै तीन लाख हुन्छ। पाँच मोटरसाइकलका कार्यकर्ताका लागि पेट्रोल भर्न कम्तिमा दैनिक पाँच हजार खर्च आउँछ । अनि खाना र रक्सीको खर्च पनि त्यसै हाराहारीमा। 

‘कहिलेकाहीँ साथीभाइ बसेको बेला एकै रातिको २०÷२५ हजारसम्म पनि बिल आएको छ,’ निर्वाचन खर्चबारे नाम उल्लेख नगर्ने सर्तमा एक एमाले कार्यकर्ता भन्छन्, ‘खाना, पेट्रोल, डिजेल, रक्सीमा धेरै खर्च भयो, प्रचारप्रसार र खटनपटनको बेला खर्च झनै बढ्यो।’

प्रचारप्रसारको अवधिमा यी शीर्षकमा मात्रै दैनिक खर्च कम्तिमा १५ देखि ५० हजारसम्म भएको ती कार्यकर्ताको दाबी छ। यो खर्च उम्मेदवारउपर नै आउँछ। 

०००

यी तीन घटना चुनावमा हुने खर्च चित्रण गर्ने केही उदारहण मात्रै हुन्। निर्वाचन आयोगले चुनाव खर्च तोकेको छ। त्यही सीमासम्म मात्रै उम्मेदवारले खर्च गर्नु पर्ने हो। पछिल्लो समय चुनाव खर्चिलो बनेको छ।

चुनावमा एउटा खर्च हुने र निर्वाचन आयोगमा बुझाउँदा खर्च सीमाअनुसार मिलाएर खर्च विवरण बुझाउने गरिएको छ।

आमचुनावको पर्यवेक्षण गरेका मदन गिरी भन्छन्, ‘निर्वाचनले तोकेको खर्च सीमाभन्दा उम्मेदवारले बढी नै खर्च गर्ने देखियो, धेरैजसो खर्च कार्यकर्ता परिचालन, यातायात र भोजभतेरमा छ।’ 

चुनाव खर्च बढेको नेताहरु पनि बताइरहेका छन्। केही दिनअघि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले चुनाव लगानी गर्ने र लगानीको प्रतिफल असुल्ने माध्यम मात्रै बन्न लागेको बताएका थिए। 

चुनावमा गरिने खर्च हेर्दा टिकट ल्याउनदेखि जित्नसम्म करोडौँ खर्च गर्ने र जितेपछि त्यो असुली गर्ने दाउ उम्मेदवारको हुने गरेको छ।

‘चुनावमा करोडौँ खर्च गर्ने उम्मेदवारले चुनाव जितेपछि समाजका लागि कसरी काम गर्न सक्छन्, उनीहरूले आफूले लगानी गरेको पैसा असुल्ने काम मात्र गर्छन्, अहिलेको चुनावी खर्चले त्यो सम्भावना झनै बढाएको छ,’ भट्टले भनेका थिए।

माओवादी केन्द्रका नेतासमेत रहेका भट्टले आममतदाताले पनि पैसा पाए मात्रै भोट दिने गरेको र पैसा नहुनेले अहिलेको परिस्थितिमा चुनाव लड्न सक्ने कुनै सम्भावना नरहेकोसम्म भन्न भ्याए।

‘गरिबले टिकट नै पाउँदैनन्, टिकट पाए पनि जितेको उदाहरण छैन’, उनको भनाइ थियो।

टिकट प्राप्तिमै खर्च 
निर्वाचन मिति तोकिएदेखि नै नेताहरुले खर्च गर्ने गरेका छन्। निर्वाचनमा उम्मेदवाहरुले खर्च टिकट प्राप्तिदेखि मतसम्मका लागि गर्ने गरेका छन्। जसका कारण चुनाव महंगो हुँदै गएको छ। 

टिकटका लागि उम्मेदवारका आंकाक्षी शक्ति केन्द्रसँग लबिङ्ग गर्न संघीय राजधानी काठमाडौंमा बिताउँछन्। प्लेनको महंगो आउने–जाने भाडा मात्रै होइन, खान, बस्नमा पनि उनीहरुको खर्च हुने गरेको छ।

टिकट वितरण गर्दा पनि पैसा खर्च गर्न सक्नेलाई मात्रै उम्मेदवार बनाइने गरेको लामो समय टिकटका लागि लबिङ्ग गरेका कञ्चनपुरका एक नेता बताउँछन्।

‘टिकट पाउनैका लागि धेरै खर्च भयो, तर अन्तिममा टिकट नै पाइएन,’ ती नेता भन्छन्, ‘चुनावमा खर्च टिकट प्राप्तिदेखि नै हुन्छ, आफ्ना लागि र पार्टीका लागि खर्च गर्न सक्नेलाई उम्मेदवार बनाइछ।’

विपन्न बस्ती अखडा 
कञ्चनपुरका तीन वटै क्षेत्रमा विपन्न, सुकुम्वासी, आरक्षपीडित तथा थारु बस्ती छन्। यी बस्तीका भोट तान्न चुनावताका बस्तीमा खर्च गर्ने गरेका छन्।

अधिकांश उम्मेदवार चुनावताका यी बस्तीमा नै केन्द्रित हुने गरेका छन्। नौवटै स्थानीय तहका प्रत्येक वडामा यस्ता २÷३ बस्ती भेटिन्छन्। 

‘उम्मेदवारहरुले यसपटक विपन्न बस्तीतिर बढी खर्च गरेका छन्, भोट प्रभावित गर्न पैसाको चलखेल भएको छ,’ परिचय नखुलाउने सर्तमा एक पर्यवेक्षकले भने, ‘उम्मेदवारबाट चुनावमा ठूलो रकम खर्च भएको हुन्छ ।’

निर्वाचन आयोगलाई खर्च विवरण बुझाउँदा खर्च सीमाअनुसारकै विवरण उम्मेदवारहरुले पठाउने गरेका छन्।

कञ्चनपुरको दोधाराचाँदनी, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, लालझाडी, बेलडाँडी, बेलौरी र पुनर्वासका विपन्न बस्तीमा उम्मेदवारले लाखौँ खर्च गरेका छन्। 

प्रत्यक्ष मतदातालाई भेटेर भन्दा पनि बस्तीको मूल मान्छेलाई एकमुष्ट पैशा बाडेको पाइएको ती पर्यवेक्षकको दाबी छ।

‘यसमा सबै उम्मेदवारले पैशा खर्चेका छन्, बस्तीको नाइकेलाई ऊसँग भएका मतदाताको आधारमा १० हजारदेखि एक लाखसम्म दिएका छन्,’ उनी भन्छन्।

ठेकेदार, व्यवसायीहरु उम्मेदवार बन्न थालेपछि चुनावी खर्च बढ्न थालेको एमाले भीमदत्तका नेता हिमाल चन्द बताउँछन्। 

‘भोजभतेर र रक्सीमा उम्मेदवारहरुको लगानी छ, देखिने अन्य खर्च सामान्य भए पनि यसपटक क्यासको काम बढी भयो,’ उनी भन्छन्, ‘सबैको पैसा लिए तर उनीहरुको भोट कस्लाई गयो, अत्तोपत्तो छैन।’

आफ्नो पछाडि १०/१५ मान्छेको टाउको देखाएर मतदानका लागि उम्मेदवारसँग पैसाको बार्गेनिङ गर्ने गरेको देखिएको कांग्रेसका एक कार्यकर्ताले बताए।

पार्टीका असन्तुष्टलाई फकाउन पनि उम्मेदवारले लगानी गरेका छन्। देखिने खर्च न्यूनीकरण भएपनि उम्मेदवारको भित्रीखर्च बढ्दो रहेको संवाद समूहका सहजकर्ता गगन खत्री बताउँछन्। 

‘चुनावबीचमा ब्यानर, पर्चा, पम्लेट लगायत देखिने खर्च धेरै कम छ, भित्री रुपमा धेरै लगानी भएको कुरा आएको छ,’ उनी भन्छन्, ‘तर पुष्टि हुने एकीन प्रमाण फेला परेको छैन ।’

उनका अनुसार प्रविधिको उच्चतम प्रयोग भएकाले त्यसमा पनि उम्मेदवारको खर्च भएको छ।

स्थानीय तहका जनप्रतिनिधि, ठेकेदार, व्यवसायीबाट उम्मेदवारले चन्दा उठाएर खर्चको जोहो गरेका छन्।

कमिटीलाई पैसा
राजनीति दलले आफ्ना तल्ला तहलाई बजेट पठाउने गरेका छन्। वडा, पालिका, क्षेत्रीय कमिटीलाई निर्वाचनमा कार्यकर्ता परिचालन, मतदाता शिक्षा लगायतका लागि बजेट जाने गरेको छ। वडाका कमिटीलाई न्यूनतम् २० देखि ३० हजार र पालिका कमिटीलाई ५० हजारभन्दा बढी बजेट दिइएको छ।

निर्वाचन परिचालनका लागि उम्मेदवारबाट खर्च आउने गरेको भीमदत्त नगरपालिका–१७ का कांग्रेस कार्यकर्ता पदम बुढाले बताए। 

‘मतदाता शिक्षा, कार्यकर्ता खटनपटनका लागि भनेर बजेट आउँछ,’ उनले भने, ‘हामीलाई १५ हजार आएको थियो।’ 

वडा, पालिका, क्षेत्रीय तथा पार्टीका भातृ संस्थालाई परिचालनमा समेत खर्च भएको छ। 

‘दैनिक जसो जनवर्गिय संगठनका कार्यकर्तालाई परिचालनमा पनि पैसा खर्च भयो, पेट्रोल नहाली प्रचारमा हिड्दैनन्, पानी पनि किनेर पिउँछन्, उनीहरुलाई रिचार्ज हाल्दिनै पर्‍यो,’ एमाले कञ्चनपुरका उपसचिव समेत रहेका फैरु तामाङ भन्छन्, ‘चुनाव धेरै मङगो बन्यो, पैशा नहुने गरिबीले त चुनाव लड्ने सपना नराखे हुन्छ।’

सम्पर्क कार्यालयमा उस्तै 
सम्पर्क कार्यालय स्थापनामा पनि उम्मेदवारको लगानी ठूलै छ। उनीहरुले प्रचारप्रसारका लागि प्रत्येक वडामा सम्पर्क कार्यालय खोलेका थिए। 

कञ्चनपुरका ९२ वटै वडामा सम्पर्क कार्यालयका लागि घर भाडामा लिइए। अधिकांशले सम्पर्क कार्यालयको हेरविचार गर्न तथा सामाजिक सञ्जालमा प्रचारप्रसारका लागि केही मान्छेलाई काममासमेत राखे।

महेन्द्रनगरमा सामान्यतया एउटा कोठाको भाडा महिनाको पाँच हजार छ। ग्रामीण भेगमा यो भन्दा कम छ।

तर चुनावको मौकामा घरभेटीले चलनचल्तीको दरमा कोठामा भाडामा दिएनन्। ‘कसैले भाडा बापत ४० हजारसम्म पनि लिए, हामीले २० हजारमा भाडामा दिएका थियौँ,’ कोठा भाडामा दिएका एक जना घरबेटी भन्छन्, ‘भाडाबारे नेता कसैलाई नभन्नु भन्दै थिए।’

कसले कति बुझाए खर्च?
निर्वाचन कार्यालय कञ्चनपुरमा अहिलेसम्म ८२ उम्मेदवारमध्ये ६० जनाले खर्च विवरण बुझाएका छन्।

निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३५ दिनभित्र खर्च विवरण बुझाइसक्नु पर्ने प्रावधान रहेकाले विवरण बुझाउने क्रम जारी रहेको सूचना अधिकारी भानबहादुर महराले बताए।

कञ्चनपुर प्रतिनिधि सभा क्षेत्र नं. ३ बाट निर्वाचित कांग्रेसका रमेश लेखकले २८ लाख ५८ हजार खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्। उनकी प्रतिस्पर्धी नेकपा एमालेकी निरुदेवी पालले २६ लाख ९० हजार खर्च गरेको उल्लेख छ। 

निर्वाचन क्षेत्र नं. २ मा निर्वाचित कांग्रेसका एनपी साउदले बुझाएको विवरणमा कूल खर्च २१ लाख ५९ हजार राखिएको छ। उनका प्रतिस्पर्धी एमालेका नरबहादुर धामीले १६ लाख ३५ हजार खर्चेको विवरण प्रस्तुत गरेका छन्।

खर्चबारे उजुरी परेमा सहजताका लागि उम्मेदवारको खाता नम्बर माग गरिएको सूचना अधिकारी महरा बताउँछन्। 

‘बिल, भर्पाइबारे आयोगले भनेको छैन, कसैको उजुरी परेमा सहजताका लागि बैंक खाता नम्बर राख्ने गरेका छौँ,’ उनले भने, ‘ठूला ठूला आमसभा, गोष्ठीहरुको खर्च पार्टीले छुट्टै बुझाउँछ ।’

कञ्चनपुरको प्रतिनिधि सभातर्फको उम्मेदवारको लागि अधिकतम खर्च २९ लाख तोकिएको थियो। क्षेत्र नं. ३ अन्तर्गतका प्रदेश सभातर्फका उम्मेदवारका लागि १५ लाख र अन्य क्षेत्रका प्रदेश सभा उम्मेदवारका लागि १७ लाख चुनावी खर्च तोकिएको थियो।

कुन शीर्षकमा कति?
कार्तिक १७ गतेदेखि स्थिर समय सुरु हुनु अगावै अर्थात् मंसिर १ सम्म दुई साताको अवधिमा एमालेकी निरुदेवी पालले सवारी साधन भाडामा २ लाख ५० हजार खच विवरण पेश गरेकी छन्।

यस्तै, झण्डामा ५ लाख, मतदाता शिक्षामा ४ लाख, प्रचारप्रसार सामाग्रीमा ४ लाख, छापा तथा विद्युतीय सामाग्रीमा २ लाख र कार्यालय सञ्चालन/प्रतिनिधि परिचालन, गोष्ठी अन्तक्रियामा ३ लाख खर्च गरेको उल्लेख छ।

कांग्रेसका लेखकले सवारी साधनमा ४ लाख ५० हजार, इन्धनमा २ लाख ५० हजार, प्रचारप्रसार सामाग्रीमा २ लाख ५० हजार र ढुवानीमा ५० हजार खर्च उल्लेख गरेका छन्। 

यस्तै, गोष्ठी, अन्तक्रियामा ६ लाख, अन्य प्रचारप्रसार, छापा, विद्युतीय सामाग्रीमा २ लाख २५ हजार, कार्यालय सञ्चालनमा ४ लाख ५० हजार, प्रतिनिधि परिचालनमा ३ लाख ३० हजार र विविधमा २ लाख ५० हजार खच विवरण बुझाएका छन्।

कांग्रेसकै एनपी साउदले सवारी साधनमा २ लाख, इन्धनमा ६ लाख ७८ हजार, प्रचार सामाग्रीमा १ लाख ५५ हजार २००, मतदाता शिक्षामा ३ लाख ५० हजार, स्टेशनरी खरीदमा ५४ हजार ४५० र ढुवानीमा ५५ हजार खर्चेका छन्।

उनका प्रतिस्पर्धी एमालेका नरबहादुर धामीले सवारी साधनमा २ लाख ५० हजार, प्रतिनिधि परिचालनमा २ लाख, मतदाता शिक्षामा २ लाख ५० हजार, प्रचार सामाग्रीमा २ लाख, झण्डामा २ लाख ७० हजार खर्च गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .