राजनीति


रास्वपाका यी ५ सांसद, जसको मुख्य एजेन्डा छ– नर्स पढेकालाई काम अनि तलव

रास्वपाका यी ५ सांसद, जसको मुख्य एजेन्डा छ– नर्स पढेकालाई काम अनि तलव

प्रज्ञा तिम्सिना
चैत ९, २०८२ सोमबार २१:१, काठमाडौँ

चिकित्सा क्षेत्रलाई प्रतिनिधित्व गर्ने ११ जना सांसद संसदमा पुगेका छन्। प्रत्यक्ष र समानुपातिकतर्फ गरी ६ जना चिकित्सक र ५ जना नर्स सांसद बनेका हुन्। ४ चिकित्सक प्रत्यक्षबाट, २ समानुपातिक र ५ नर्स समानुपातिकबाट सांसद बनेका छन्। 

यी पाँचै जना राष्ट्रिय स्वतन्त्र पार्टीका हुन्।

समानुपातिकबाट सांसद भएका ५ जना नर्स संसदमा नर्सिङ क्षेत्रका समस्याको पोको फुकाउने योजनामा छन्।

त्यसमध्ये एक हुन् दाङ घर भएकी २७ वर्षीया खिमा विक। पीसीएल नर्सिङ अध्ययनपश्चात खिमा भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा काम गर्थिन्। आफ्नै रुचि अनुसारको विषय पढेर नर्सिङ पेसामा आवद्ध भएकी थिइन्। तर, पारिश्रमिक समयमा नपाउने, कम पाउने, कामको अत्यधिक लोड हुनेजस्ता समस्याले उनलाई पिरोल्न थालेको थियो।

घरको आर्थिक अवस्था कमजोर भएकाले जागिर खानु उनको बाध्यता थियो। त्यसैले चित्त बुझाएर काम गर्दै थिइन्। तर, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले उनको गन्तव्य नै मोडिदियो।

आफ्नै उमेर समूहका साथीहरूले आन्दोलनमा ज्यान गुमाएको देख्दा उनमा राजनीतिक दलप्रति आक्रोश उत्पन्न हुन थाल्यो। खिमा त्यसको विरोध कसरी गर्ने भन्नेमा सोच्न थालिन्। र, त्यसै समयमा उनको भेट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सदस्यहरूसँग भयो। त्यसपश्चात उनले पनि राजनीतिमा आउने सोच बनाइन्। गत कार्तिकमा रास्वपाको सदस्यता लिइन्। र, अहिले सो पार्टीले उनलाई सांसद बनाएको छ।

‘श्रम शोषण विरुद्ध बोल्छौँ’
अस्पतालमा बिरामीको रेखदेखमा घण्टौँ बिताउने खिमा अब संसदमा पुगेपछि आफूजस्ता नर्सहरूको मुद्दा उठाउने बताउँछिन्।

खिमा भन्छिन्, ‘निजी अस्पतालमा नर्समाथि हुने श्रम शोषण, कम पारिश्रमिक, समयमा पारिश्रमिक नपाउने विषय मेरो मुख्य एजेन्डा हुनेछन्।’

सरकारले निजी अस्पतालमा कार्यरत नर्सहरूलाई पनि सरकारी सरह ५ औँ तह बराबरको पारिश्रमिक दिने भनेर सम्झौता गरे पनि सबै अस्पतालमा कार्यान्वयन हुन सकेको छैन।

‘सरकारले तोकेको पारिश्रमिक अनिवार्य कार्यान्वयन नगराउने हो भने अबको २–३ वर्षपछि नर्स पाउनै मुस्किल हुन्छ, नर्सिङ पेसा जोखिममा छ,’ उनी थप्छिन्, ‘नर्सलाई आफ्नै पढाइ अनुसार नेपालमै टिकाउन पनि बलियो कानुन चाहिन्छ, त्यसका लागि काम गर्ने छु।’

चितवनकी प्रभा ढकाल तीन वर्षयता कलेज अफ मेडिकल साइन्सेस (सीएमएस)मा कार्यरत थिइन्। स्थापनादेखि नै पार्टीमा जोडिएकी उनी रास्वपाको चितवन जिल्ला सभापति समेत हुन्। त्यहाँ तीन वर्ष काम गरिन्। सीएमएसअघि उनले करिब १० वर्ष निजी अस्पतालहरूमा काम गरिन्। जहाँ उनले श्रम शोषण भोगिन्। ५ हजार रूपैयाँमा काममा लगाउने, पैसा नदिईकन स्वयंसेवकको रूपमा काम गर्नुपर्ने बाध्यता पनि भोगिन्। अब उनले त्यसविरुद्ध आवाज उठाउने योजना बनाएकी छिन्।

‘निजी अस्पतालमा कार्यरत नर्सलाई ५ औँ तह बराबरको पारिश्रमिक दिने भनेर निर्णय भए पनि नर्सहरूले पारिश्रमिक पाएका छैनन्। अहिले पनि कति नर्सले ‘पारिश्रमिक पाएनौँ’ भनेर गुनासो गर्छन्,’ उनी थप्छिन्, ‘स्वास्थ्यकर्मीले उचित पारिश्रमिक नपाउने समस्या अन्त्य गराउन लाग्ने छु।’

सरकारी अस्पतालमा निःशुल्क उपचार पाउने बिरामीलाई निजी अस्पतालमा ठूलो पैसा खर्च गराउने प्रणालीबाट पनि उनी हैरान थिइन्। बिरामीको उपचार गर्दा पैसाको अभावमा उपचार नपाउने, उपचार गराउँदा–गराउँदै पैसा छैन भनेर घर फर्किने बिरामी देख्दा उनको मन कुँडिन्थ्यो। त्यस्ता बिरामीलाई चाहेर पनि सहयोग गर्न नपाउँदा उनलाई निकै नराम्रो लाग्यो। स्वास्थ्य सेवामा धनी र गरिबबीचको यो खाडल अन्त्य गर्न राजनीतिमा लागेको प्रभा बताउँछिन्।

२०७९ असारमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन भयो। उनले रास्वपामा जाने सोच बनाइन्। नयाँ पार्टीमा जोडिएर केही गर्न सकिन्छ कि भन्ने लाग्न थाल्यो। र, उनी रास्वपामा जोडिइन्। करिब तीन वर्ष जिल्ला सभापति भएर काम गरेकी प्रभालाई यस पटक रास्वपाले खस आर्य महिला क्लस्टरबाट सांसद बनायो।

‘अस्पतालको नियुक्तिमा कुनै पार्टीको सिफारिस लिएर जानु पर्ने, उसको क्षमता–दक्षताको आधारमा कहिल्यै पनि नियुक्त नहुने देखिन्छ। यो अन्त्य हुनु पर्छ। त्यसका लागि नीति–नियम बनाउने र कार्यान्वयन पनि गराउनुपर्छ भनेर आएको हुँ,’ उनले भनिन्।

उनी रवि लामिछानेबाट निकै प्रभावित छिन्। 

‘उहाँको सोच, विचार देखेर नै आएको हुँ। युवाहरूलाई अवसर दिने, जान्नेलाई छान्ने देखेर आफैँ सदस्यता लिएर रास्वपामा जोडिएको हुँ,’ प्रभा बताउँछिन्।

महोत्तरीकी कामिनी चौधरी मधेशी क्लस्टरबाट सांसद भएकी छिन्। स्थापनाकालदेखि नै  समयदेखि नै जोडिएकी कामिनी केन्द्रीय संगठन विभागकी सदस्य समेत हुन्।

बेथिति र भ्रष्टाचार देखेर उनलाई ‘अब त परिवर्तन चाहिन्छ’ भनेर राजनीतिप्रति रुचि जाग्न थालेको उनको भनाइ छ। बीएस्सी नर्सिङ सकेर उनले पब्लिक हेल्थ पढेकी थिइन्। नर्सिङ ‘प्राक्टिस’ भने गरिनन्। उनी एउटा गैरसरकारी संस्थामा काम गर्थिन्।

स्वास्थ्य क्षेत्रका समस्याले भने उनलाई सधैँ सताउँथ्यो। सरकारी अस्पतालमा काम गर्ने नर्स र निजी अस्पतालमा काम गर्ने नर्समा पारिश्रमिकमा विभेद देखेर उनी हैरान छिन्। त्यसका लागि नीति बनाउने उनको भनाइ छ।

सामाजिक अभियन्ता भएर काम गर्दा भ्रष्टाचार भइरहेको र नेपालमा अवसर नपाएर युवा विदेशिनुपर्ने अवस्था देखेर उनी राजनीतिमा प्रवेश गर्ने बाटो हेरिरहेकी थिइन्। तर पुराना पार्टीसँग काम गर्न मन थिएन। जब नयाँ पार्टी आयो, त्यसपछि ‘अब केही नयाँ गर्न सकिन्छ कि’ भनेर उनी रास्वपासँग जोडिन पुगिन्।

चितवनकी समिना मिया पनि पेसाले नर्स हुन्। समिना पनि रास्वपामा सुरुवातदेखि नै जोडिएकी थिइन्। उनी २०७९ सालको चुनावमा पनि समानुपातिक सांसद सूचीमा परेकी थिइन्। तर सांसद बन्न पाइनन्। यस पटक भने उनी संसद् प्रवेश गरेकी छन्। स्नातकोत्तर गरेकी समिना १ दशकयता स्वास्थ्य सेवामा खटिएकी थिइन्।

निजी अस्पतालले गर्ने श्रम शोषण देखेरै ‘यो पेसा सुधार गर्नुपर्छ’ भनेर रास्वपासँग जोडिएको बताउँछिन्।

‘वर्षेनी ठूलो संख्यामा नर्स उत्पादन हुन्छन्, नर्सिङ काउन्सिलमा लाइसेन्स लिने नर्सको संख्या बढ्दो छ, तर उनीहरू काम पाउँदैनन्। सरकारले दरबन्दी खोल्दैन, निजीले श्रम शोषण गर्छ, काम गरे अनुसारको पारिश्रमिक दिँदैन,’ उनी थप्छिन्, ‘यो सबै विकृतिले अन्त्य हुनै पर्छ, पढे अनुसार काम गर्ने वातावरण पाउनुपर्छ।’

पारिश्रमिकका लागि पनि नर्सले आन्दोलन गर्नुपर्ने र सरकारले दिएको पारिश्रमिक पनि नदिने प्रणालीविरुद्ध उनी आवाज उठाउने तयारीमा छिन्।

‘दाइजो प्रथा विरुद्ध बोल्ने’
मधेसी समुदायबाट समानुपातिक सांसद बनेकी सुनसरीकी निशा मेहताले एमएस्सी नर्सिङ गरेकी छिन्। १५ वर्षदेखि नर्सिङ पेसामा आबद्ध निशा विराट मेडिकल कलेजमा नर्सिङ विषय अध्यापन गराउँदै थिइन्। निशा पनि रास्वपासँग सुरुवाती समयदेखि नै जोडिएकी हुन्।

‘परिवर्तन गर्ने चाहनासहित आएकाले रास्वपा स्थापना भएको समयदेखि नै जोडिएको हुँ, यो पटक सांसद बन्ने अवसर पाएको छु,’ निशा थप्छिन्, ‘आफ्नो क्षमता र दक्षता अनुसार काम गर्ने छु।’

उनको प्राथमिकता पनि नर्सहरूले भोग्ने समस्या नै हो। यद्यपि, उनी मधेसका महिलाहरूले भोग्नु परेको विभेद, दाइजो प्रथाविरुद्ध पनि आवाज उठाउने बताउँछिन्।

‘मधेसकै छोरी–बुहारी भएकाले मलाई मधेसमा महिलालाई गरिने व्यवहार, उनीहरूमाथि हुने विभेद र दाइजो प्रथाबारे राम्रोसँग थाहा छ,’ उनी भन्छिन्, ‘रास्वपाबाट मधेसी महिलालाई प्रतिनिधित्व गरेर नै सांसद भएकी छु, यी विषय मेरा प्राथमिकतामा पर्नेछन्।’

निशा नर्सिङ पेसामा पढाइ अनुसारको काम नपाउने समस्यालाई अन्त्य गरिनुपर्ने बताउँछिन्।

‘नर्सिङ विषयमा स्नातकोत्तर गरेकालाई स्नातक पढेको सरह नै काममा लगाउने, बढुवा पनि नहुने अवस्था छ। त्यसले नर्सको आत्मसम्मान घट्दैछ, काम प्रतिको सम्मान पनि घट्दैछ। यो अन्त्य गरिनुपर्छ,’ उनी भन्छिन्, ‘त्यसका लागि कडा कानुन चाहिन्छ, म त्यसका लागि काम गर्ने छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad