नेकपा एमालेको आगामी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ-आफ्ना प्यानल अघि सारेका छन्। मंसिर २७ गतेदेखि काठमाडौँमा जारी एमालेको ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता र भोलि (मंगलबार) मतदान हुने कार्यतालिका छ।
आगामी कार्यकालको लागि विभिन्न पद हत्याउन एमालेका नेताहरूमा तँछाडमछाड चलिरहँदा उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाललगायतका नेताले अब पार्टीको नेतृत्वदायी वा कार्यकारी पदमा नरहने घोषणा गरेका छन्।
एकाएक एमालेका स्थापित नेताहरूले किन यस्तो निर्णय गरे? प्रस्तुत छ विगत ५६ वर्षदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय एमालेका उपाध्यक्ष युवराज ज्ञवालीसँग नेपालखबरले गरेको संक्षिप्त वार्ता:
तपाईं लामो इतिहास भएको नेता, एमाले उपाध्यक्ष। एकाएक पार्टीको सक्रिय राजनीतिबाट बिदा लिने निर्णयमा किन पुग्नु भयो?
पछिल्लो समय म दुई कार्यकाल पार्टीको उपाध्यक्ष भइसकेँ। आठौँ महाधिवेशनपछि एक कार्यकाल सचिव भएँ। राजनीतिक जीवन पनि लामो भयो। उमेर पनि ७२ भइसक्यो। हामीले आठौँ महाधिवेशनमा विधान बनाउँदा पार्टीमा उमेर हद पनि लागू गर्ने, निरन्तर दुई कार्यकालभन्दा बढी पदाधिकारीमा रहन नपाउने निर्णय गर्यौँ।
आठौँमा त्यो व्यवस्था लागू भयो। नवौँ र दसौँमा पनि त्यो लागू भयो। तर, पछि विधान महाधिवेशनमा त्यसलाई अनावश्यक रुपमा संशोधन गरियो। यसमा मेरो विमति हो। विधानको त्यो व्यवस्थालाई कायम राख्नुपर्छ भन्ने मेरो मान्यता हो। एउटै मान्छे निरन्तर पार्टीको नेतृत्वमा रहँदा पार्टीमा नयाँ नेतृत्व विकासमा अवरोध सिर्जना हुन्छ। त्यो लोकतान्त्रिक पनि हुँदैन। सत्ता वा पार्टीको सर्वोच्च निकायमा निरन्तर रुपमा लामो समयसम्म रहनु हुँदैन। त्यसले लोकतन्त्रलाई कमजोर बनाउँछ। एउटा सिस्टमको विकास होस् भनेर मैले यस्तो निर्णय गरेको हो। हेर्दा सामान्य लागे पनि यो व्यवहारिक रुपमा धेरै महत्वपूर्ण निर्णय हो। यसको दीर्घकालीन महत्व रहनेछ।
केपी ओली तेस्रो कार्यकालको लागि अध्यक्षमा भिड्दै गर्दा तपाईँ पनि उपाध्यक्ष बन्न मिलिहाल्थ्यो नि!
हाम्रो विधान अनुसार म रहेको भन्दा माथिल्लो पद भनेको अध्यक्ष हो। वरिष्ठ उपाध्यक्षको पद विधानबाट हटाइएको छ। यसले गर्दा म याे भन्दा माथिल्लो पदमा जाने ठाउँ पनि छैन। फेरि उपाध्यक्षमै तेस्रोपटक रहने कुरा उचित हुँदैन भन्ने लागेरै मैले अब पार्टीको कुनै पनि कार्यकारी पदमा नरहने निर्णय गरेको हो। यसको अर्थ म राजनीतिमा निस्क्रिय हुने, निरास हुने, वा अरु कुनै पार्टीमा जाने भन्ने चाहीँ विल्कुलै होइन।
तपाईँको यो निर्णय तेस्रो कार्यकालको लागि अध्यक्ष बन्न जोडजुलुम गरिरहेका केपी ओलीलाई दबाब दिनको लागि मात्रै हो?
उहाँलाई तपाईँ तेस्रो कार्यकालको लागि अध्यक्ष नबन्नुस् भनेर मैले पार्टी कमिटीका धेरै बैठकमा पटकपटक भनेको छु। महाधिवेशनकै मञ्चमा पनि मैले तपाईँ तेस्रो कार्यकालको लागि नउठ्नुस् भनेको हो। तपाईँ अब पार्टीको संरक्षक बनेर रहनुपर्छ भनेको हुँ। उहाँले नमाने पनि, विधानमा आफैँले स्थापित गरेको व्यवस्थालाई उल्ट्याए पनि म जुन मान्यतामा उभिएको छु, त्यो कुरामा म अडिनुपर्छ भन्ने लागेर मैले यस्तो निर्णय गरेको हुँ। म आफ्नै मान्यतामा अडिन सकिँन भने राजनीति गरेको के अर्थ भयो र? आफ्नो स्वार्थअनुसार मनलाग्दी गर्न त भएन नि। त्यसाे गरियाे भने हामी जुन उद्देश्यको लागि राजनीति गरेको भन्दैछौँ, त्यसको अर्थ हुँदैन।
तपाईँसँगै उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेता केशव बडाल लगायतले पनि सक्रिय राजनीति छाडेको घोषणा गर्नु भएको छ। यो तपाईँहरूले सल्लाहमै गर्नु भएको हो?
उहाँहरूले पनि आफ्नो दृष्टिकोणअनुसार नै त्यो निर्णय गर्नु भएको हो। हामीबीच त्यस्तो सल्लाह भएको होइन। संयोगबस हाम्रो घोषणा एकैपटक भएको मात्रै हो।
एमाले महाधिवेशन अन्तर्गत आज उम्मेदवारी दर्ता र भोलि मतदान हुने भन्ने छ। यी प्रक्रियामा तपाईँको भूमिका के हुन्छ अब?
म महाधिवेशनका सबै प्रक्रियामा सहभागी हुन्छ। म ईश्वर पोखरेलको टिमलाई जिताउन लागिरहेको छु। केपी ओली फेरि उठ्नु हुन्नथ्यो भन्दै म ईश्वरजीको टिमलाई जिताउन लागिपर्नेछु। केपी ओलीको तुलनामा ईश्वर पोखरेल धेरै लामो इतिहास भएको नेता हो। केपी ओलीकोविरुद्धमा तपाईँ उठ्नुस् भनेर पनि मैलै प्रयास पनि गरेको हो। उहाँ (ईश्वर) त्यसमा तयार हुनुभयो। त्यो खुसीको विषय हो। मेरो पहल ईश्वर पोखरेलको टिमलाई जिताउन हुनेछ। यद्यपी गुण र दोषको आधारमा छुटाउन नहुने अरु साथीहरू अर्को टिममा रहेका छन् भने उहाँहरूलाई पनि मतदान हुन्छ।
ईश्वर पोखरेलको पक्षमा माहोल कस्तो छ? उहाँ केपी ओलीसँग प्रतिस्पर्धामा आउनु होला?
एमालेमा धेरै साथीहरू खुलेर बोल्न सक्ने अवस्थामा हुनुहुन्न। किनकि लामो समयसम्म केपी कमरेड सत्तामा रहनुभयो। चारपटक त प्रधानमन्त्री नै हुनुभयो। ११ वर्ष भयो पार्टीको अध्यक्ष भएको। त्यसले गर्दा कतिपय साथीहरूमा उहाँको विपक्षमा बोल्न, गतिविधि गर्न हिचकिचाहट छ। डर छ। तर, आन्तरिक रुपमा निकै धेरै साथीहरू ईश्वर पोखरेलको पक्षमा लाग्नु भएको छ। मतदान गर्छौँ भन्नु भएको छ। अहिलेसम्म नखुलेका मतदाताले अन्तिममा ईश्वर पोखरेललाई मतदान गर्नुहुन्छ भन्ने मलाई विश्वास छ। ईश्वर पोखरेल धेरै लामो राजनीतिक पृष्ठभूमि भएको व्यक्ति हो।
एमालेमा केपी ओलीले जे भन्यो त्यही लागू हुँदै आएको छ। अध्यक्षमा फेरि पनि ओली नै आउनुहुन्छ भन्ने आम बुझाइ जस्तै छ। यदि फेरि पनि ओली नै एमालेको अध्यक्ष बन्नुभयो भने यो पार्टीको भविष्य कस्तो देख्नु हुन्छ तपाईँ?
बाहिरबाट हेर्दा त एमालेमा केपीको विपक्षमा कोही बोल्न सक्दैनन् भन्ने छ। तर, तपाईँहरूले देखिरहनु भएको छ, हामी बोलिरहेकै छौँ। कमरेड ईश्वर पोखरेलसहित हामी सबैले बकाइदा ओलीलाई तपाईँ अब पार्टीमा संरक्षक भएर बस्नुस् भन्यौँ। यस बीचमा तपाईँले राम्रा काम पनि गर्नु भयो, कतिपय कमिकमजोरी पनि भए।
अब तपाईँ हाम्रो गार्जेन भएर बस्नुस्। म सक्षम छु। ०३३ सालदेखि लगातार केन्द्रीय कमिटीमा छु भनेर ईश्वर कमरेडले उहाँलाई सम्झाउनु भएको छ। केपी कमरेड त २०४० सालमा जेलबाट छुटेपछि मात्रै केन्द्रीय सदस्य हुनु भएको हो। ईश्वर जी र म चौथो महाधिवेशनमा सँगै केन्द्रीय कमिटीमा निर्वाचित भएका साथी हौँ। यसरी हेर्दा त केपी जी भन्दा ईश्वर कमरेड त पार्टीमा धेरै सिनियर नेता हो। कोअर्डिनेशन कालदेखिकै नेता हो उहाँ।
उहाँ दुई कार्यकाल पार्टीको महासचिव, एक कार्यकाल बरिष्ठ उपाध्यक्ष बनिसक्नु भएको छ। यसकारणले पनि उहाँ सिनियर नेता हो। यसले पनि केपीको विकल्पमा हामीले उहाँलाई अघि सारेका हौँ। केपी कमरेडले पनि ईश्वर कमरेड अघि बढ्न खोज्दा छाडिदिनु पर्ने हो। तर, म सक्दासम्म अध्यक्ष भइरहन्छु भनेर उहाँ जे भन्दै हुनुहुन्छ, त्यो अत्यन्तै गलत कुरा हो। उहाँ त स्वास्थ्यले साथ दिए पार्टीको बाह्रौँ, तेह्रौँ, चौधौँ महाधिवेशनमा पनि अध्यक्ष बन्ने तयारीमा देखिनुहुन्छ। यस्तो चरित्र एकदम गलत हो। कसैले पनि राजनीतिमा यस्तो प्रवृति देखाउनु हुँदैन।
जित्न त यो महाधिवेशनबाट एमाले अध्यक्षमा ईश्वर कमरेडले नै जित्नुहुन्छ। यदि केपी कमरेडले नै जिते पनि उहाँले आत्म समीक्षा गरेर नयाँ ढंगले पार्टी अघि बढाउनु पर्छ।
उहाँले विपक्षका कुरा सुनेर नयाँ ढंगले पार्टी अघि बढाउने सम्भावना छ र? केपी ओलीकै कारणले एमालेबाट माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावल जस्ता नेता बाहिरिनुपर्ने अवस्था आएको हाेइन?
त्यही भएर हामीले केपी ओलीले नेतृत्व छाड्नुपर्छ भनेका हाैँ। त्यसमा अरु पनि कारणहरु छन्। ती सबै कारणको अहिले यहाँ चर्चा नगरौँ। अहिलेसम्मको अनुभवबाट के देखिन्छ भने उहाँ फेरि पनि अध्यक्ष बन्नु भयो भने त्यसले पार्टीमा विभिन्न ढंगले नकारात्मक असर पर्छ। त्यसो भएर हामीले उहाँलाई बिदा लिनुस् भनेका हौँ। तर उहाँले मानिरहनु भएको छैन। फेरि ओली जी नै अगाडि आउनु भयो भने पार्टी ठिक ढंगले चलाउन सक्ने सम्भावना म देख्दिनँ।
किन भने उहाँमा फरक विचारलाई ग्रहण गर्न सक्ने, सहन गर्न सक्ने चरित्र र स्वभाव दुवै छैन। केपी ओलीजी नेतृत्वमा रहेसम्म पार्टीको आन्तरिक लोकतन्त्र कमजोर हुन्छ। त्यसले समग्रमा पार्टी कमजोर बन्छ।
बाहिरबाट हेर्दा कांग्रेमा ढिलोचाँडो गगन थापा पार्टी नेतृत्वमा आउने सम्भावना बलियो देखिँदैछ। तर, यति लामो इतिहास भएको एमालेमा चाहिँ दोस्रो पुस्ताका नेता त्यसरी अगाडि आउने अवस्था नै बनेन। किन यस्तो भयो?
तपाईँले उठाएको यो एउटा गम्भीर सवाल हो। हामी पनि पार्टीमा यो प्रश्न गरिरहेका छौँ। तर, एमालेमा दोस्रो पुस्ताका नेता त धेरै छन्। तर, केपी केपी ओलीको विपक्षमा को लड्न सक्छ र? भन्ने खालको भाष्य बनेको छ। परिस्थिति पनि त्यस्तै छ। त्यो पार्टी जीवनको लागि सकारात्मक कुरा होइन। हाम्रो पार्टीमा पनि नेताको विकल्प त धेरै छ। अहिले ईश्वर पोखरेल देखिनु भएको छ। पार्टीमा आन्तरिक लोकतन्त्र राम्रो हुने हो भने नयाँ नयाँ नेतृत्व अगाडि आउँछन्। पुरानाहरूको छायाँको अगाडि नयाँ नेतृत्व विकास हुन सक्दैनन्।
तपाईँहरूले पनि आफ्नो खेमाबाट ओलीकै उमेरकै हाराहारीका ईश्वर पोखरेललाई नै त अध्यक्षको उम्मेदवार बनाउनु भयो नि...
हाम्रो पक्षबाट ईश्वर जीभन्दा योङ उमेरका नेताहरू धेरै हुनुहुन्थ्यो। तर, ईश्वर पोखरेल धेरै लामो योगदान भएको क्षमतावान नेता हो, उमेर समूह एउटै भए पनि।
यद्यपी ईश्वर पोखरेलको पनि दृष्टिकोण पदाधिकारीमा उमेर हद कायम गर्नुपर्छ, दुई कार्यकाल भन्दा धेरै पदाधिकारीको एउटै पदमा रहनु हुँदैन भन्ने नै हो। अबको पार्टी नेतृत्वमा युवा नेतालाई नै अघि बढाउनु पर्छ भन्नेमा उहाँ पनि हुनुहुन्छ। आउने महाधिवेशनबाट त्यो परिपाटी स्थापित हुन्छ। कांग्रेसमा गगन, विश्वप्रकाश शर्मालाई अबको नेतृत्वको रुपमा हेरिए जस्तै एमालेमा पनि त्यस्ता व्यक्तित्व हुनुहुन्छ। सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट जस्ता धेरै साथी यहाँ हुनुहुन्छ। उहाँहरूलाई अघि बढाउन अब हामीले ध्यान दिनुपर्छ।
अब पनि एमालेमा अध्यक्ष हुने भनेको केपी ओली नै हुन्। अहिले विपक्षी खेमाबाट चुनाव लड्दै गरेका नेताहरूलाई उहाँले भीम रावलकै हालतमा पुर्याउँनुहुन्छ भन्ने चर्चा पनि छ नि?
बाहिरबाट हेर्दा ओलीले जित्ने जस्तो देखिए पनि भित्रपट्टी भिन्न परिवेश तयार भएको छ। तपाईँले भनेको जस्तो हुँदैन।
केपी ओलीसँग चुनाव लड्ने साथीहरू अब एमालेभित्र कर्नरमा पर्ने सम्भावना रहँदैन?
हाम्रो खेमाको केपी ओलीसँग पराजित हुने अवस्था छैन। यदि कथंकदाचित पराजित नै हुनुपर्ने अवस्था आएछ भने पनि पार्टी छाड्ने भन्ने हुँदैन। फेरि पनि हामी एमालेमै सक्रिय रहने हो। कहिले तल, कहिले माथि रहेर काम गर्ने हो। पदाधिकारीमा रहन नसके पनि पार्टी सदस्यको हैसियतमा, सल्लाहकारमा बसेर सक्रिय रहने हो। विभिन्न ठाउँमा बसेर प्रशिक्षण दिएर, लेखेर, बोलेर बस्ने हो। पार्टीको हितमा क्रियाशील हुने हो। जनता र कार्यकर्ताको बीचमा आफ्ना विचार लिएर जाने हो।
ओलीले तपाईँहरूलाई अब पार्टीमा त्यसरी बिचार संप्रेषण गर्ने मञ्च दिनु होला र?
पार्टीको मञ्च उहाँहरूले दिनु भएनछ भने अरु सार्वजनिक मञ्च पनि हुन्छन् नि विचार प्रवाह गर्ने। त्यस्ता धेरै मञ्च हुन्छन् विचार प्रवाह गर्ने। हाम्रो विचार प्रवाह रोकिँदैन।
Shares

प्रतिक्रिया